पृथ्वीनारायणको सम्झना



आज पुस २७ अर्थात् २९८औं पृथ्वीजयन्ती, स–साना राज्य–रजौटामा विभाजित आजको नेपालको भू–भागलाई सिंगो मुलुक बनाउने महान् कार्यका अभियन्ता पृथ्वीनारायण शाहलाई स्मरण गर्ने दिन। नेपाललाई भौगोलिकरूपमा एकीकरण गर्ने अगुवाका रूपमा पृथ्वीनारायणलाई कसैले अस्वीकार गर्न सक्तैन, जतिसुकै कठोर आलोचकले पनि यस सत्यलाई स्वीकार गर्नैपर्छ।
उनले भाषिक, धार्मिक, सांस्कृतिक र सामाजिकरूपमा नेपाललाई एकीकरण गर्न नभ्याएकै हुन् भने पनि भौगोलिक एकीकरणका लागि मात्र पनि उनलाई स्मरण गर्नुपर्ने होइन र ? पृथ्वीनारायण शाहले जीवनभर सैनिक गतिविधिमै आफूलाई व्यस्त राख्न बाध्य हुनुपर्यो, सामाजिक तथा सांस्कृतिक पक्षमा एकीकरण गर्नै भ्याएनन्।
तर पनि गोरखाबाट राजधानी काठमाडौं सारे र यहाँका संस्कार तथा संस्कृतिलाई आत्मसात् गरे, त्यसलाई राष्ट्रिय गौरवका रूपमा स्थापित गराए। के यसबाट उनले अवसर पाएका भए भूगोलजस्तै अन्य पक्षमा पनि एकीकरण गर्ने प्रयास गर्थे भनेर अनुमान गर्न सकिन्न र ?
पछिल्ला दिनमा नेपालमा जब राजतन्त्रविरोधी आन्दोलन हुन थाल्यो, तब छोरा–नातिका कमजोरीको सजाय पनि पृथ्वीनारायणलाई दिइयो। माओवादी सशस्त्र विद्रोहताका राजतन्त्रको विरोधले उचाइ छोयो, बाहुन–क्षेत्रीलगायत खस समुदायले जनजाति र दलितलाई शोषण गरेको अनि राजधानीलगायत शहरले गाउँलाई दबाएको भन्दै विद्रोहको आगोमा ऊर्जा थप्ने काम भयो।
राजनीतिक सफलताका लागि पृथ्वीनारायण शाहलाई पनि बहिष्करणमा पारियो। यहींनिर गम्भीर गल्ती भयो। जसको अगुवाइमा एकीकृत भएको मुलुकमा बसेर नेपाली नागरिक भएकोमा गौरव गरिँदै छ उनैलाई कित्ताकाट गर्ने कत्रो कृतघ्नता !
तर, सरकारका तर्फबाट पृथ्वीनारायणलाई बिर्सन खोजे पनि आम नागरिकले बिर्सन दिएनन्। अन्ततः बिदा दिएरै पृथ्वीजयन्ती तथा एकता दिवस मनाउने पहिलाको अभ्यासले निरन्तरता नपाए पनि उनीप्रति सम्मानभाव प्रकट गर्ने कार्यले निरन्तरता पायो। त्यसैको परिणामस्वरूप तीन दिनसम्म उनलाई राज्यकै तर्फबाट स्मरण गर्ने काम भएको छ।
नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र सांस्कृतिक संस्थानको संयुक्त आयोजनामा २९८औं पृथ्वीजयन्ती त्रिदिवसीय कार्यक्रमसाथ मनाइँदै छ, यसलाई सबैले स्वागत गरेका छन्। हिजो पृथ्वीनाराणलाई आलोचना गरेर राजनीतिक दुनो सोझ्याउने समूहलाई पनि आम जनताको चाहनाविरुद्ध लामो समयसम्म उभिन सम्भव भएको छैन।
कम्तीमा वर्षमा तीन दिन मात्र भए पनि पृथ्वीनारायण शाहले सानो राज्यबाट अथक प्रयास गरेर हामीलाई एकताको सूत्रमा बाँध्ने काम गरेको र जातजातिलाई एक सूत्रमा बाँध्ने र सांस्कृतिक वातावरण बनाउने क्षेत्रमा गरेका प्रयासलाई स्मरण गरियो भने मात्र पनि मुलुकको हित हुनेछ। वस्तुतः उनले थालेको अभियानलाई निरन्तरता दिन आज पनि हामी लागिरहनुपर्ने अवस्था छ।
आफ्नो अन्तिम समयमा पृथ्वीनारायण शाहले ‘यो राज्य दुई ढुंगाबीचको तरुल हो’ भनेर छिमेकी दुवै देशसँगको सम्बन्ध राम्रो बनाउन खोजेको र आफ्नो भू–राजनीतिको अवस्थाबारे स्पष्ट बोलेको तथ्यबाट उनमा निहित राजनीतिक सुझबुझ प्रस्ट हुन्छ। तमाम दूरदृष्टिका लागि पृथ्वीनाराणप्रति हार्दिक श्रद्धा–सुमन !

प्रतिक्रिया दिनुहोस्