उमेशले अवार्ड पाउँदा आफूले जितेभन्दा बढी खुसी छु : कविता गुरुङ



गत वर्षको हिट फिल्म बोबीको रियल कथाको रियल पात्र हुन् कविता गुरुङ। इन्जिनिएर पति उमेश थापा तथा छोराका साथ नर्वेमा बस्दै आएकी कवितालाई बोबीमार्फत धेरैले चिने। बोबी उमेश र कविताको रियल कथामा उनीहरू नै पात्र बनेर खेलेको पहिलो फिल्म थियो। उमेश र कवितालाई दर्शकको माया पाउन आफ्नो वास्तविक कथामा बनेको एउटै फिल्म बोबी काफी रह्यो। यी रियल कथाका रियल जोडीलाई रिलमा उतारेका थिए निर्देशक मिलन चाम्सले। फिल्ममा उमेश र कविताको प्रेम जीवन र अन्तरजातीय विवाहका कारण उनीहरूले सहनुपरेको विभिन्न परिस्थिति देखाइएको छ। फरक क्षेत्रमा करिअर बनाएका यी दुईको अभिनयलाई हेर्दा लाग्दैन कि यो उनीहरूको पहिलो फिल्म हो र उनीहरू अभिनयभन्दा परको क्षेत्रका हुन्। यही फिल्मबाट अघिल्लो शनिबार सम्पन्न गोदरेज नम्बर वान कामना फिल्म अवार्डस् २०७६ मा उमेश र कविता नवनायक तथा नवनायिकातर्फ मनोनयनमा परेका थिए। जहाँ उमेशले नवनायकको अवार्ड जितेका थिए भने उमेशको प्रतिनिधत्व गर्दैै कविताले अवार्ड ग्रहण गरेकी थिइन्। उनै कविता गुरुङसँग नेपाल समाचारपत्रका लागि रश्मी थापाले गरेको कुराकानी यहाँ प्रस्तुत छ ः

हाल के गर्दै हुनुहुन्छ ?

हुन त म नर्वेमा काम गर्छु। अहिले नेपाल आएका बेलामा चाहिँ निर्देशक मिलन चाम्स दाइसँग एउटा प्रोजेक्टमा काम गरिहेको छु। त्योचाहिँ केही समियपछि अनाउन्स गर्नेेछौं।

भर्खरै कामना फिल्म अवार्डमा उमेशजीले डेब्यु अभिनेताको अवार्ड जित्दा कस्तो महसुस गर्नुभयो ?

एकदम खुसी लाग्यो। छोराको स्कुल भएका कारण उमेश या ममध्ये एक जना नर्वेमै बस्नुपर्ने कारणले गर्दा उमेश आउन पाउनुभएन। यस कारण नोमिनेसनमा परेको हामी दुवैको प्रतिनिधित्व गर्दै म नेपाल आएकी थिएँ।

बेस्ट डेब्यु एक्टरका लागि उमेशको नाम उद्घोष भइरहँदा फिल्म बोबीका लागि उमेशले गरेको मेहनत सम्झिएँ। उमेशलाई मैले बनाएको खानेकुरा निकै मन पथ्र्यो। स्पेसल्ली मैले बनाएको मासुभात उसले निकै मन पराउँथ्यो।

तर, फिल्ममा अभिनय गर्नका लागि वेट घटाउनुपर्ने भयो र उसले मैले बनाएका खानेकुरा पनि छोड्नुपर्योे। फिल्मका लागि उसले जिममा निकै मेहनत गरेको थियो। ती सब दुःख सम्झिएँ।

उसले गरेको मेहनतकै कारण दर्शकबाट धेरै माया पाउन सफल भएको छ भने कामना फिल्म अवार्डमा सर्वोत्कृष्ट नवनायकको अवार्डसमेत चुमेको छ। म उसले अवार्ड जित्दा यति धेरै खुसी छु, जति खुसी म आफूले अवार्ड जितेको भए पनि हुँदिनथें होला।

तपाईं पनि नोमिनेसनमा हुनुहुथ्यो। आफूले अवार्ड नपाउँदा कस्तो महसुस गर्नुभयो ?

मलाई शुरूमा त रिस उठेको थियो नि। (हास्दै) आफू पनि नोमिनेसन भएको कारणले अवार्ड जित्छु कि भन्ने आशा थियो। नोमिनेसनको भिडियो बजिरहँदा मुटु ढुकढुक भइरहेको थियो, नर्भस फिल गरिरहेकी थिएँ।

नोमिनेसनमा भएका कारण मैले जित्ने सम्भावना पनि थियो। तर, सुहाना थापाको नाम अनाउन्स भयो। त्यसपछि खासै केही लागेन। मेरो कम्पिटिटरहरू नै खतरा थिए। अवार्ड हो, त्यसमा जसले जिते पनि एक जनाले जित्ने हो।

फिल्म बोबीमार्फत सबैको मनमा बस्न सफल हुनुभएको छ। यो माया देख्दा फेरि फिल्म खेलौं भन्ने सोच आएको छ कि ?

हामीले पहिले पनि भनेका थियौं। हामी अन्य फिल्म खेल्दैनौं। दर्शकले जुन माया दिनुभयो, त्यो माया कायम राख्नका लागि अन्य काम पनि गर्न सकिन्छ र गरिरहेका छौं।

आफ्नै रियल कथामा रियल जोडी बनेर फिल्म खेल्ने सोच कसरी बन्यो ?

मिलन दाइले हाम्रो कथा सुन्नु भएपछि यो कथामा फिल्म बनाउने कुरा गर्नुभयो। उहाँको कुरा सुुन्दा फिल्म बने पनि अरू प्रोफेसनल आर्टिस्टलाई लिएर बनाउने होला भन्ने सोचेका थियौं।

तर, दाइले तिमीहरूको रियल कथामा रियल जोडी नै खेल्नुपर्छ अनि पो मजा आउँछ भन्नुभएपछि हामी आफैं खेलेका हौं।

हामीले त कहिल्यै पनि हाम्रो कथामा फिल्म बन्ला र हामीले कुनै दिन फिल्म खेलौंला भन्ने सोचेका थिएनौं। तर, फिल्म बन्यो, रियल कथामा रियल जोडीले खेलेको फिल्म भनेर धेरै दर्शकबाट माया पायौं।

तपाईंहरू कलाकारिताभन्दा फरक क्षेत्रको मान्छेले फिल्ममा अभिनय गर्न कसरी सम्भव भयो ?

सबैभन्दा पहिलो कुरा त हाम्रो आफ्नै कथामा बनेको फिल्म भएकाले पनि सजिलो भयो। अरूको कथामा फिल्म बनेको भए गाह्रो हुन्थ्यो। त्यसमाथि फिल्म पनि खेलिँदैनथ्यो।

त्यसमाथि मिलन चाम्सजस्तो निर्देशकको हातमा परेका कारण नै हामीले फिल्ममा त्यो हदसम्मको काम दिन सफल भएका हौं।

अहिले प्रायः फिल्मको सिरिज बनिरहेका छन्। तपाईंहरूको पनि रियल कथामा आधारित बोबीको सिरिज बन्ने सम्भावना कत्तिको छ ?

हामी बोबी–२ निर्माणका बारेमा सोचिरहेका छौं। बोबीमा मेरो पार्टको कुरा बढी थियो भने बोबी–२ मा उमेशको पार्टको कुराका साथै उसको चाइल्डहुडको कुरा आउनेछ। हामी यसका लागि काम गर्ने सोचमा छौं।

छोरालाई पनि फिल्म क्षेत्रमा ल्याउने सोच छ कि ?

मेरो त फिल्म क्षेत्रमा ल्याउने सोच छ। तर, बाजु (बाबु) को इन्टे«स्टमा भर पर्छ। ऊ फुटबलमा राम्रो गरिरहेको छ। अहिले स्कुल पढिरहेको छ। बाजुलाई नेपाली बोल्न पनि आउँदैन। मेरो सोच भए पनि उसले फिल्म गर्न भने गाह्रै छ।

अरू फिल्म निर्माण गर्ने सोच पनि छ कि ?

फिल्म निर्माण गर्ने सोच पनि आएको छ। एउटा राम्रो र फरक कथामा प्रोफेसनल आर्टिस्टलाई लिएर फिल्म बनाउनुपर्छ भन्ने लागिरहेको छ। तर, यो तुरुन्तै गरिहाल्ने भन्नेचाहिँ होइन। ५/६ वर्षपछि बनाउन पनि सकिन्छ। फेरि त्यो बेला के मुड चल्छ त्यसमा भर पर्छ।

नर्वेमा बस्दा नेपाललाई कत्तिको सम्झनुहुन्छ ?

नेपाललाई धेरै नै मिस गर्छु। यही कारण बेला–बेला नेपाल आइरहेका हुन्छौं।

प्रतिक्रिया दिनुहोस्