आर्मी शीर्ष स्थानमा उक्लियो



नेपाल समाचारपत्र, काठमाडौं।

जारी सहिद स्मारक ए डिभिजन लिगको पाँचौं चरणको खेल समाप्ति हुँदा त्रिभुवन आर्मी क्लबले शीर्ष स्थान हात पारेको छ।बिहीबार दशरथ रंगशालामा भएको खेलमा आर्मीले पुछारमा रहेको सरस्वती युवा क्लबलाई १–० गोलअन्तरले हराएको हो।

एक खेल हारेको आर्मीको यो लिगमा लगातार तेस्रोे जित थियो। विभागिय टोलीको जितमा जर्ज प्रिन्स कार्कीले निर्णायक गोल गरेका थिए। खेलको ३०औं मिनेटमा सेसेहाङ आङदेम्बेको पासमा जर्जले गोल गरेका थिए।

योसँगै आर्मीले डिफेन्डिङ च्याम्पियन मनाङ मस्र्याङदी क्लबलाई अंकतालिकामा दोस्रो स्थानमा धकेलेको छ। आर्मी १२ अंकसहित शीर्ष स्थानमा उक्लिँदा मनाङ ११ अंकसहित दोस्रो स्थानमा झरेको छ।

त्यस्तै ड्रिम टिम मछिन्द्र क्लब १० अंकसहित तेस्रो स्थानमा रहेको छ। थ्रीस्टारको १० अंक भएपनि गोलभिन्नतामा चौथो स्थानमा रहेको छ।
यस्तै सरस्वतीको लागि भने जारी लिग निकै कठिन हुँदै गएको छ। टोलीले पाँच खेल खेलिसकेको छ भने सबै खेलमा हार बेहोरेको छ। टोली रेलिगेशनमा पर्ने संभावना पनि बढ्दै गएको छ। अंकविहीन सरस्वती पुछारमा रहँदा १३औं र १२औं स्थानमा क्रमशः फ्रेन्डस् क्लब र हिमालयन शेर्पा क्लब रहेका छन्।

संकटाको शानदार जित

जारी लिगमा संकटा क्लबले दोस्रो जित निकालेको छ। संकटाले विभागिय टोली नेपाल एपीएफ क्लबलाई ४–२ गोलअन्तरले हराएको हो। योसँगै संकटा ७ अंकसहित सातौं स्थानमा उक्लियो भने एपीएफ तेस्रो हारसँगै ४ अंक लिएर ११औं स्थानमा यथावत रहेको छ।

संकटालाई जित दिलाउन विदेशी खेलाडी अजाया मार्टिन्स् कायोडेले दुई तथा कर्णबहादुर सुब्बा र लक्ष्मण रुचालले १/१ गोल गरेका थिए। एपीएफको तर्फबाट नविन लामा र आशीष लामाले १/१ गोल फर्काएका थिए।

खेलको १९औं मिनेटमा लक्ष्मणले गोल गर्दै संकटालाई अग्रता दिलाएका थिए। त्यस्तै ४४औं मिनेटमा कर्णले गोल गरेपछि संकटाले पहिलो हाफमा २–० को अग्रता लिएको थियो।त्यस्तै ५३औं मिनेटमा मार्टिन्सले गोल गरेर ३–० को अग्रता दिलाए।

तर एपीएफका नवीनले तीन मिनेटपछि गोल गर्दै गोलअन्तर खुम्च्याएका थिए। यसपछि आशीषले ७२औं मिनेटमा गोल थप्दै खेल ३–२ मा पुर्याएर एपीएफलाई खेलमा फर्कने आशा जगाए। तर मार्टिन्सले खेल सकिन २ मिनेटको समयमा अर्को गोल गरेपछि संकटाको जित सुनिश्चित भएको थियो।

जगजित र अशोकलाई ५ खेल प्रतिबन्ध

अखिल नेपाल फुटबल संघ (एन्फा) ले मनाङका जगजित श्रेष्ठ र अशोक बराललाई ५ खेलमा प्रतिबन्ध लगाएको छ।ए डिभिजन लिगअन्तर्गत् मछिन्द्र र मनाङबीचको खेल समाप्त भएपछि झगडा भएको थियो। सो विषयमा एन्फाले छानबीन जारी गरेको थियो, जसमा दोषी पाएका खेलाडीविरुद्ध निर्णय बिहीबार सार्वजनिक गरेको थियो।

यसैगरी एन्फाले घटनामा संलग्न मनाङका रन्जन विष्ट तथा मछिन्द्रका दीपक राई, देवेन्द्र तामाङ र बिजय धिमाललाई २/२ खेलमा प्रतिबन्ध लगाउको छ। यी ६ जना खेलाडीलाई जनही १० हजार रुपियाँ जरिवाना गराउने निर्णय पनि भएको छ।

एन्फा अनुशासन कमिटीले छानबीन गरेको अनुसार मनाङका किट मेनेजर शिव लामालाई लिगका पुरै खेलमा प्रतिबन्ध लगाएको छ। उनलाई पनि १० हजार रुपियाँ जरिवाना तिराउने भएको छ।

तस्वीर : उजोल डंगोल

प्रतिक्रिया दिनुहोस्