नक्कली सन्तान बनेर जग्गा हड्प्ने योजना विफल



सञ्जय कार्की, रौतहट।

किर्ते नागरिकताबाट छोरा बनेका दुई जनाले निसन्तान दम्पतिको जमिन हडप्न जिल्ला अदालत गौरलाई नै भ्रममा पारेको खुल्न आएको छ। ०३९ सालमा मृत्यु भएका चन्द्रपुर नगरपालिका–५ निवासी दिनकर धामीको ३ कट्ठा १५ धुर जमिन हडप्न जयवीर धामी र दिनेश धामी नक्कली छोरा बनेको पाइएको छ।

दुबैले किर्ते नागरिकता प्रमाणपत्र जारी गरेर दिनकर धामीलाई बुवा बनाएको खुल्न आएको छ। दिनकर धामीको नक्कली दुई छोरा बन्दै दिनेश धामीले ०४५ माघ १९ गते नागरिकता प्रमाणपत्र ४१२ र जयवीर धामीले ०४५ वैशाख ५ गते नागरिकता प्रमाणपत्र २०४० लिएको प्रमाण जिल्ला अदालत गौरमा पेश गरेर जमिन हडपेको भए तापनि ती दुवै नागरिकता प्रमाणपत्रको अभिलेख जिल्ला प्रशासन कार्यालयमा रहेको छैन।

अपरिचित दुबैले किर्ते नागरिकता प्रमाणपत्र बनाएको उजुरी इलाका प्रशासन कार्यालयमा दर्ता गरेको भए पनि अझै त्यसको सुनवाइ नभएको हरिकृष्ण धामीले बताउनुभयो।

नक्कली दुई छोरा बनेका एक अर्काले बादी र प्रतिबादी बन्दै दिनकर धामीको जमिन जिल्ला अदालत गौरबाट आदेश गराएर चन्द्रपुर–५ को कित्ता नम्बर १४५ बाट जयवीर धामीले कित्ताकाट गर्दै ५४९९को कित्ताबाट १ कट्ठा १५ धुर र दिनेश धामीले कित्ता काट गर्दै ५४९८ बाट २ कट्ठा जमिन आफ्नो नाममा दर्ता गराएको खुल्न आएको छ।

जिल्ला अदालत गौरका जिल्ला न्यायाधीश दीपककुमार दाहालको बेन्चले अशंबन्डाको मिलापत्र गराएको हो। ०४५ सालमा नागरिकता लिएका भनिएका जयवीर धामीको जन्म मिति ०३५ सालमा १७ वर्ष देखाइएको छ तर जन्म र नागरिकता प्रमाणपत्र लिएको उमेर हेर्दा १० वर्षको मात्र देखिन्छ।

ती दुवै धामीले ०७५ वैशाख १२ गते आफ्नो नाममा जग्गा दर्ता गराएर काठमाडांैं महानगरपालिका–३ निवासी ६३ वर्षीय नरबहादुर श्रेष्ठलाई बिक्री गरेपछि यसको रहस्य खुलेको हो। नक्कली छोरा बनेका दुवै धामीलाई स्थानीयले भने नचिनेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्