दोस्रो रिस्ती महोत्सव



लमजुङ, (नेस)।

मध्यनेपाल नगरपालिकामा माघको तेस्रो साता दोस्रो रिस्ती उपत्यका महोत्सव हुने भएको छ। बुधबार मध्यनेपाल–२ मा पत्रकार सम्मेलन गरी महोत्सव बारे जानकारी गराएको हो।

पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै रिस्ती उपत्यकाको कलासंस्कृति, पर्यटन, व्यापारलगायतको प्रवद्र्धनका लागि माघको १७ देखि २६ सम्म दोस्रो रिस्ती उपत्यका महोत्सव आयोजना गरिएको महोत्सव मूल आयोजक समिति संयोजक सीता शाहीले बताउनुभयो।

पर्यटन प्रवद्र्धन, स्थानीय कलासंस्कृतिको संरक्षण र संबद्र्धन तथा स्थानीयस्तरमा उत्पादित घरेलु उत्पादनहरूको प्रबद्र्धनका लागि महोत्सव सार्थक हुने संयोजक शाहीको भनाइ छ।

महोत्सवमा स्थानीय कला संस्कृति झल्कने झाँकीहरूका साथै स्थानीय हस्तकलाका सामग्रीहरूको प्रदर्शन, नव प्रतिभा प्रोत्साहन, पर्यटन प्याकेज, विविध विधामा प्रतियोगिता गरिने मूल आयोजक समितिले जनाएको छ।

महोत्सवमा ख्यातिप्राप्त लोकदोहोरी गायक–गायिकाको सांगीतिक प्रस्तुति, चर्चित हाँस्य कलाकारहरूको हाँस्य–व्यंग्यात्मक प्रहसन, लोकदोहोरी गीत तथा नृत्य प्रतियोगिता, विद्यालयस्तरीय विविध प्रतियोगिता गरिने आयोजकले जनाएको छ।

महोत्सवकै सन्दर्भमा ऐतिहासिक एवं दर्शनीयस्थल तान्द्राङकोटगढी, सप्तधारा, तामाखानी, जाल्पादेवी मन्दिर, देवीस्थान, शिव पाञ्चायन मन्दिर, गोर्खालीस्थान ठाना सूर्यपाल, समिभञ्ज्याङ, रम्घास्थित नेपालकै मध्यविन्दु र माहिन्द्री गंगाक्षेत्रको अवलोकन भ्रमणको गराइने, तनहुँतर्फका ऐतिहासिक स्थल सोतीबेँसी, मिर्लुङकोट, शहीदहरूको गाउँ पुलीमर्याङ, क्यामिनकोटजस्ता रमणीयस्थलको अवलोकन तथा भ्रमण पनि गराइने आयोजकले जनाएको छ।

यस्तै स्थानीय कृषि उत्पादनको प्रर्दशनीका साथै सुपथ मूल्यमा बिक्री वितरण, विभिन्न जातजातिको परम्परागत झाँकी तथा विभिन्न जातजातिको भजन, बालुन, कृष्ण चरित्र, चुड्का, सोरठी, घाँटुनाँच, लाखेनाँच, ट्याकटुके नाँच लगायतको साँस्कृतिक प्रर्दशनी मुख्य आकर्षण रहेको आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्