म्याग्दीमा माघेसङ्क्रान्ति मेला आयोजना



नेपाल समाचारपत्र, म्याग्दी।

नेपाल भ्रमण वर्ष–२०२० को प्रचारप्रसार गर्ने उद्देश्यसहित म्याग्दीमा माघेसङ्क्रान्ति मेला आयोजना गरिने भएको छ। परम्परागत माघेसङ्क्रान्ति मेलाको जगेर्ना, स्थानीय उत्पादनको बजारीकरण तथा आन्तरिक पर्यटन प्रवद्र्धन गर्नका लागि मेलाको आयोजना गरिएको हो।

नेपाल भ्रमण वर्षलाई म्याग्दीमा शुभारम्भ गर्नेगरी आगामी पुस २९ देखि माघ १ गतेसम्म माघेसङ्क्रान्ति मेला आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। म्याग्दी उद्योग वाणिज्य संघ अन्तरगतको महिला उद्यम विकास समितिको मूल आयोजनामा यसवर्ष पनि माघेसङ्क्रान्ति मेला आयोजना गरिएको छ।

माघी मेलालाई निरन्तरता दिनका लागि मेला लगाइने बताइएको छ।मेलाका बारेमा जानकारी गराउन बुधबार आयोजित पत्रकार सम्मेलनमा जिल्लाका सबै स्थानीय तहको कृषि उपजको प्रर्दशनी, विभिन्न जातजातिको झाँकी प्रर्दशन, पर्यटकीय क्षेत्रको फोटो प्रर्दशनीसहित मेला आयोजना गरिएको महिला उद्यम विकास समितिका सभापति सुनिता केसीले बताउनुभयो।

मेलाको मूल संयोजक समेत रहेकी सभापति केसीले माघेसङ्क्रान्ति मेलाको तयारी सुरु गरिएको बताउँदै सबै क्षेत्रबाट सहयोगको अपेक्षा गरिएको बताउनुभयो। उहाँका अनुसार मेलामा खुल्ला एकल लोकनृत्य तथा नेपाल भ्रमण वर्ष लक्षित खुल्ला लोकगीत प्रतियोगिता गरिने छ।

यसैगरी खुल्ला अन्धनिसान, महिला/पुरुष छेलो फ्याँक्ने, महिला/पुरुष लठो तान्ने प्रतियोगिता पनि आयोजना गरिने सभापति केसीले जानकारी दिनुभयो। मेलामा स्थानीय जातजातिको कला र संस्कृतिको संरक्षणसहितका कार्यक्रमहरू प्रमुख आकर्षणका रुपमा रहेने छन्। लोकगीतमा जिल्लाका सबै स्थानीय तहलाई समेट्ने गरी सहयोगको प्रतिबद्धता प्राप्त भएको बताइएको छ।

मेलाको अवसरमा सदरमुकाम बेनीमा जातीय भेषभूषासहित बजार परिक्रमा गरिने भएको छ। मेलामा आर्कषक नृत्य मयुर नाचलाई समेत ल्याउने पहल भैरहेको छ भने मेला अवधिभर महिला उद्यमीको उत्पादनलाई बिक्री वितरणको विशेष व्यवस्था गरिने पत्रकार सम्मेलनमा बताइएको छ।

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित आयोजना गरिने मेलामा जिल्लाभित्रका पर्यटकीय, धार्मिक र ऐतिहासिक क्षेत्रलाई समेटेर फोटो प्रर्दशनी गरिनेछ।

कुल ९ लाख ३५ हजारको आयव्यय प्रस्तुत गरिएको कार्यक्रममा करिब ४० हजार बचत गर्ने लक्ष्य रहेको आयोजक संस्थाका कोषाध्यक्ष सिर्जना भट्टचनले बताउनुभयो।

पत्रकार सम्मेलनमा म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्यले माघेसङ्क्रान्ति मेलाको अवसर पारेर नेपाल भ्रमण वर्ष–२०२० को म्याग्दीमा शुभारम्भ गरिने जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्