हेटौंडामा प्रदेशस्तरीय सुमार्गी कप टी–२०



न्युज अफ नेपाल, हेटौंडा ।

हेटौंडामा छैटौं माधवराज सुमार्गी टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । प्रदेश–३ स्तरीय प्रतियोगितामा आठ टिमले सहभागिता जनाउने भएका छन् ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा आयोजक मकवानपुर क्रिकेट संघले छैटौं र सातौं प्रतियोगिताका लागि प्रायोजक हेटांैडा एकेडेमीसँग सम्झौता गरेको छ । सम्झौतापत्रमा हेटौंडा एकेडेमीका तर्फबाट विद्यालय व्यबस्थापन समिति अध्यक्ष अरुणराज सुमार्गी र मकवानपुर क्रिकेट संघका अध्यक्ष वासुलाल श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सम्झौतामा हस्ताक्षर तथा प्रतियोगिताबारे जानकारी दिँदै आयोजक अध्यक्ष श्रेष्ठले आगामी वर्ष प्रतियोगिता निरन्तर सञ्चालन गरिने बताए । उनले यस वर्षको खेलका लागि ५ लाख खर्च लाग्ने बताए ।

बाहिरी जिल्लामा क्रिकेट प्रतियोगिता भइरहेका कारण यस वर्षको फाइनल माघ ४ वा ५ गते खेलाडीको अनुकूल समय हुने गरी सम्पन्न गर्ने उनले बताए । आगामी दुई वर्षका लागि प्रतियोगिता प्रायोजन गर्ने सहमति गर्दै क्यान मकवानपुर संस्थापक अध्यक्ष एवम् हेटौंडा एकेडेमी विद्यालय व्यबस्थापन समिति अध्यक्ष सुमार्गीले आफ्ना बुबा माधबराज सुमार्गीको स्मृतिमा प्रतियोगिता आयोजना गर्ने अवसर प्रदान गरेकोमा आयोजकलाई धन्यबाद दिँदै २ वर्षका लागि सम्झौता भए पनि दुई वर्षपछि पनि यसलाई निरन्तरता दिन आफू तयार रहेको बताए ।

मकवानपुरमा क्रिकेट खेललाई अगाडि बढाउन प्रतियोगिताले भूमिका खेल्ने उनले बताए । प्रतियोगितामा पहिलो पाइला शिशु स्याहार केन्द्रकी सञ्चालिका अंकिता सुमार्गीले खेलाडीलाई ग्राउण्डमा पहिलो पाइलाको तर्फबाट खाना खुवाउने व्यबस्था गरिएको बताइन् ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद ४० हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीय हुने टिमले २० हजार नगद, शिल्ड र प्रमाणपत्र प्राप्त गर्ने जिल्ला अध्यक्ष श्रेष्ठले बताए ।

प्रतियोगिताको पहिलो खेल २६ गते विहान ८ः३० बजे महावीर क्लब मकवानपुर र मकवानपुर क्रिकेट एकेडेमीबीच हुने आयोजकले बताएको छ । प्रतियोगिताको ‘ए’ समूहमा महावीर हेटाैंडा, मकवानपुर क्रिकेट एकेडेमी, मकवानपुर क्रिकेट कलब र कलैया क्रिकेट छन् भने ‘बी’ समूहमा युनाइटेड क्रिकेट क्लब पर्सा, नुवाकोट क्रिकेट क्लब नुवाकोट, चितवन क्रिकेट क्लब चितवन र नेक्सस क्रिकेट एकेडेमी छन् । यस वर्षको खेल हेटौंडाको हुप्रचौरमा हुनेछ भने दोस्रो वर्षदेखि प्रायोजक हेटौंडा एकेडेमी मैदानमा आयोजना हुने सम्झौतापत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्