कृषि फार्ममा आगलागी



नेपाल समाचारपत्र, लमजुङ।

मध्यनेपाल नगरपालिका–१ को चिनारी कृषि फार्ममा विद्युत् सर्ट भई आगलागी हुँदा डेढ करोडभन्दा बढीको क्षति भएको छ। जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डीएसपी रवीन्द्रमान गुरुङका अनुसार मंगलबार साँझ विद्युत् सर्ट भएपछि फार्ममा आगलागी भएको हो।

फार्ममा १ सय ७० बाख्रा र ३ सय लोकल कुखुरा रहेको जनाइएको छ। बाख्राका दुईवटा आधुनिक खोर र गोदाम घर जलेर नष्ट भएको फार्मका सञ्चालक रमेश पौडेलले बताउनुभयो।

उहाँका अनुसार २०७२ सालबाट ६० वटा बाख्रा र ५० वटा लोकल कुखुराबाट डेढ सय रोपनी जग्गामा चिनारी कृषि फार्म सञ्चालन गरिएको हो। चार करोड लगानीबाट शुरू गरिएको फार्ममा हाल ५ करोड लगानी पुगेको पौडेलले बताउनुभयो।

आगलागी हुँदा पशु चौपाया तथा अन्य भौतिक संरचना जलेको जानकारी दिनुभयो। स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो। आगलागीको कारण बारे यकिन जानकारी प्राप्त नभएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्