सबस्टेसन निर्माण कार्य अन्तिम चरणमा



नेपाल समाचारपत्र, पर्वत।

देउपुरदेखि कास्कीको लेखनाथसम्मको नयाँ मोदी लेखनाथ प्रसारण लाइनमा पर्ने न्यु मोदी र लाहाचोक सबस्टेसनको निर्माण अन्तिम चरणमा पुगेको छ।

मोदीगाउँपालिका–२ देउपुरस्थित न्यु मोदी सबस्टेसन र माछापुच्छ«े गाउँपालिका–१ लाहाचोकस्थित सबस्टेसनको निर्माण कार्य ८० प्रतिशतभन्दा बढी सकिएको हो।

न्यु मोदी–लेखनाथ प्रसारण लाइन आयोजनाले दिएको जानकारीअनुसार न्यु मोदी सबस्टेसनको निर्माण कार्य ८० प्रतिशतभन्दा बढी पुरा भएको छ भने लाहाचोक बसस्टेसनको निर्माण कार्य ८५ प्रतिशतभन्दा बढी पूरा भएको छ। मोदी गाउँपालिकाको देउपुरमा निर्माण भएको १३२ केभी क्षमताको न्यु मोदी सबस्टेसनमा सिभिलतर्फको निर्माण कार्य भने ९५ प्रतिशत पूरा भएको छ।

देउपुरमा ६३ रोपनी क्षेत्रफलमा सबस्टेसन निर्माण भएको छ। कन्ट्रोल भवन, आवासगृह, पर्खाल, पहुँच मार्गको काम अन्तिम चरणमा छन्। इलेक्ट्रिकतर्फको निर्माण कार्य पनि ७५ प्रतिशतभन्दा बढी सम्पन्न भएको छ। ‘सिभिलतर्फको फिनिसिङ मात्रै बाँकी छ, आयोजना प्रमुख रोशन अग्रवालले भन्नुभयो– ‘इलेक्ट्रिक्सतर्फ मेसिन जडानको काम भइरहेको छ।’

अब तीन महिनाभित्र सबस्टेसनको काम सबै सम्पन्न हुने उहाँको भनाइ छ। पातीखोलाको कटान रोक्न समुदायको मागअनुसार आयोजनाले पातीखोला नियन्त्रणको काम सम्पन्न गरेको छ। ३ करोड ७५ लाख रुपियाँको लागतमा ८ हजार ५ सय घनमिटर तारजाली बुनिएको छ। यसले पातीचौर हुँदै देउपुर जाने सडक र पातीचौर बजारलाई सुरक्षा दिने काम गरेको छ।

यसैगरी कास्कीको माछापुच्छ«े गाउँपालिकामा निर्माण हुँदै गरेको लाहाचोक सबस्टेसनमा आवासगृह प्रयोगमा आइसकेको छ भने कन्ट्रोल भवन, स्विचयार्डको निर्माण कार्य सकिएको छ।

ट्रान्सफर्मर जडान र केही सामान्य काम मात्रै बाँकी रहेको आयोजनाले जनाइएको छ। कास्कीको विजयपुर खोलामा पुलको समस्याका कारण ट्रान्सफर्मर लेखनाथ मै रोकिएको आयोजना प्रमुख अग्रवालले जानकारी दिनुभयो।

पर्वत कास्कीको सीमा भएर बग्ने मोदीखोला र कास्कीमा बग्ने सेती नदी र मर्दीखोलामा बन्ने विद्युत् आयोजनाबाट उत्पादित विद्युत्लाई पोखरास्थित सबस्टेसनबाट राष्ट्रिय प्रसारण लाइनमा जोड्न नयाँ प्रसारण लाइन निर्माण भएको हो।

मोदीगाउँपालिका–२ देउपुरदेखि पोखरा महानगरपालिका लेखनाथसम्म निर्माण हुने प्रसारण लाइन ४२ किलोमिटर लामो हुनेछ। प्रसारण लाइनमा १ सय ३८ वटा टावर रहनेछन्।

२ अर्ब २५ करोडको लागतमा निर्माण हुने प्रसारण लाइन डेढ वर्षभित्र सक्ने लक्ष्य राखिएको थियो। प्रसारण लाइन निर्माणका लागि नेपाल सरकार र भारतको एक्जिम बैंकले लगानी गरेका छन्। प्रसारण लाइन निर्माणपछि २ सय मेघावट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जडान गर्न सकिनेछ।

प्रतिक्रिया दिनुहोस्