च्यासलले पुलिसलाई रोक्यो



कप्तान सन्तोष साहुखलले दुबै गोल गर्दा जारी सहिद स्मारक ए डिभिजन लिगमा उनको टोली च्यासल युथ क्लबले नेपाल पुलिस क्लबलाई २–२ गोलमा रोकेको छ।

बुधबार दशरथ रंगशालामा लिगको करियरमा १ सयौं गोल गरेका सन्तोषले च्यासललाई दुबै पटक पछि परेको अवस्थामा उद्दार गरेका हुन्। सो बराबरी नतिजा अन्तसम्म रहँदा दुबै टोलीले १/१ अंक जोडेका छन्।

अंकतालिकामा पुलिस ८ अंकको साथमा छैठो स्थानमा र च्यासल ५ खेलमा पाँचैं अंक लिएर नवौं स्थानमा रहेका छन्। सन्तोषले खेलको १८औं मिनेटमा हेमन्त थापामगरको फ्रिकिक प्रहारलाई पुलिसका गोलकिपर शत्रुघन चौधरीले राम्ररी नियन्त्रणमा लिन सकेनन्।

अनियन्त्रित भएको बललाई नजिकै रहेका सन्तोषले वान टचमै गोलमा गरेर खेल १–१ बराबरीमा ल्याएका थिए। यसअघि नीरकुमार राईले पाँचौं मिनेटमै गोल गरेर पुलिसलाई १–० को अग्रतामा राखेका थिए।

यसपछि ४१औं मिनेटमा सुमन लामाले गोल गर्दै पुलिसलाई पुन २–१ को अग्रतामा पुर्याएका थिए। तर यो अग्रता धेरै बेर टिक्न सकेन। सन्तोषले ४९औं मिनेटमा हेमन्त थापामगरको पासमा बक्सभित्रबाट गोल गरेका थिए। यो गोलसँगै च्यासलले पुलिसलाई २–२ मा रोक्न सफल भयो भने यो सन्तोषको जारी लिगमा पाँचौं गोल पनि हो।

थ्रीस्टारको जित

जारी लिगअन्तर्गत् बुधबार भएको पहिलो खेलमा थ्रीस्टार क्लबले ब्रिगेड ब्वाइज क्लब (बीबीसी) लाई ३–१ गोलअन्तरले पराजित गर्यो। टोलीको जितमा शुशान्त श्रेष्ठ, अनन्त तामाङले पहिलो हाफमा १/१ गोल गरे भने दोस्रो हाफमा वासिउ हज्मतले एक गोल गरेका थिए।

अन्तिम मिनेटमा बीबीसीका रोशन रानामगरले सान्त्वना गोल गरेका थिए। यो तेस्रो जितसँगैं थ्रीस्टार १० अंकसहित तेस्रो स्थानमा उक्लिएको छ। बीबीसी ६ अंक जोडेर सातौं स्थानमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्