सन्तोष १ सयौं गोलमा पुगे



फिरोज राजोपाध्याय, काठमाडौं।

सन्तोष साहुखल नेपाली फुटबलको इतिहासमा १ सयौं गोल गर्ने एक मात्र खेलाडी बनेका छन्। बुधबार दशरथ रंगशालामा नेपाल पुलिस क्लबविरुद्ध पहिलो गोल गरेपछि उनले लिग करियरमा आफ्नो १ सयौं गोल गरेका हुन्। यद्दपि उनले राष्ट्रिय टोलीबाट ३४ खेल खेलेर ३ गोल गरेका छन्।

सन्तोषले १ सय गोल गरेपछि फोटोग्राफर तर्फ आएर फोटोका लागि पोज दिएर खुशी मनाएका थिए। जाडो र झरीले समेत उनलाई गोल गर्नबाट रोक्न सकिएन। उनले १ सयौं गोलको लागि कुनै योजना नबनाएको बताएका थिए। उनको लक्ष्य भनेको यस लिगमा आफ्नो टोलीलाई जित दिलाउने रहेको छ।

सन्तोषले पुलिसविरुद्ध गरेको २ गोलसहित कूल १ सय १ लिग गोल गरेका छन्। नेपालका अन्य खेलाडीमा जेविश पाण्डे, वसन्त थापा, रमेश बुढाथोकी, सुरेन्द्र तामाङले लिगमा ५० गोल पुरा गरेका थिए। यी खेलाडी सबै रिटायर्ड भइसकेका छन्। तर सन्तोष भने आफुलाई फिट राख्दै डेढ दशकसम्म फुटबल खेलिरहने एक्लो नेपाल खेलाडी समेत बनेका छन्।

केही वर्ष यता जापानमा खेलाडी र प्रशिक्षकमा रहेका सन्तोषले बताए—मैले जापानमा गएपछि आफुलाई परिपक्व भएको पाएको छु। साथै मलाई फिट रहन पनि जापानी हावापानीले सहयोग गरेको छ। अहिले म फिट मात्रै होइनन् फास्ट पनि छु। यसो भन्दैमा म पहिले अल्छी थिए भन्न खोजेको होइन।

सन्तोषले वि.सं. २०६० सालमा भएको सहिद स्मारक ए डिभिजन लिगमा डेब्यु गरेका थिए। थिमीको बोडेमा जन्मेका सन्तोषले १५ वर्षको उमेरमै ए डिभिजन लिग खेल्न शुरु गरेका थिए। उनलाई त्यतिबेला ललितपुरको थ्रीस्टार क्लबले आबद्ध गरेको थियो। थ्रीस्टारबाट खेलेपछि उनको क्लबसँग सम्बन्ध गाढा भएको थियो।

यसै कारण उनले थ्रीस्टारबाट सबैभन्दा बढी ६ सिजन लिग खेले। साथै उनले सबैभन्दा बढी सोही क्लबका लागि ७१ लिग गोल पनि गरेका थिए। सन्तोष हाल च्यासलसँग आबद्ध भए पनि थ्रीस्टारसँगको पारिवारिक सम्बन्ध बिर्सन नसक्ने बताएका थिए। उनले भने—अहिले म थ्रीस्टारमा नभएपनि मलाई त्यहाँको बसाई पारिवारिक जस्तै लागेको छ।

सन्तोषले लिगको पहिलो खेल संकटाविरुद्ध खेलेका थिए। सो खेलमा उनले १०औं मिनेटमा गोल गरेर डेब्युमै आफु एक उत्कृष्ट फुटबलर भएको साबित गरेका थिए। तर यो खेल थ्रीस्टारले ३–२ गोलअन्तरले हारेको थियो।

यसको बावजुद थ्रीस्टारले उनीमाथि संभावना देखेर क्लबमा आबद्ध गरेको थियो। उनले थ्रीस्टारलाई ३ सिजनमा लिग उपाधि दिलाउन पनि महत्वपूर्ण भुमिका खेलेका थिए।

सन्तोषले जारी लिगमा ५ गोल गरिसकेका छन्। गत सिजनमा पनि उनले च्यासलबाटै खेलेका थिए। तर उनले ५ खेलमा मात्र ३ गोल गरेका थिए। यसपटक उनले संकटाविरुद्ध २ गोल, मछिन्द्रविरुद्ध एक गोल र पुलिसविरुद्ध २ गोल गरेका छन्। तर उनले अघिल्ला दुई खेल एनआरटी र जावलाखेलविरुद्ध गोल गर्न सकेका थिएनन्।

प्रतिक्रिया दिनुहोस्