मकवानपुरमा तोकिए ३० पर्यटकीय गन्तव्य



नेपाल समाचारपत्र, हेटौंडा।

मकवानपुरका ३० पर्यटकीय गन्तव्य पहिचान गरिएका छन्। जिल्लाका १० पालिकाका तीन÷तीन पर्यटकीयस्थल पहिचान गरी पर्यटकीय गन्तव्य निर्धारण गरिएको हो।

भ्रमण वर्षलाई लक्षित गरी हरेक पालिकाबाट तीन/तीनवटा पर्यटकीयस्थल छनोट गरिएको जिल्ला समन्वय समिति मकवानपुर प्रमख रघुनाथ खुलालले जानकारी दिनुभयो। उहाँका अनुसार जिल्लाका १० वटै स्थानीय तहले आ–आफ्नो स्थानीय तहमा भएका पर्यटकीय स्थलमध्ये महत्वपूर्ण स्थल पहिचान गरेका हुन्।

भ्रमर्ण वर्ष लक्षित गरेर छनोट गरिएका पर्यटकीय गन्तव्यस्थलसम्म पुग्ने सडक सञ्जाल र गन्तव्यबारे जिससलाई स्थानीय तहले पठाएका थिए। प्रदेश सरकारले माग गरेअनुसार पर्यटकीय गन्तव्य छनोट गरेर पठाइएको बताउँदै जिसस प्रमुख खुलालले निर्धारण भएका पर्यटकीय गन्तव्यस्थलमा स्थानीय तहले विस्तृत परियोजना बनाएर थप आवश्यक संरचना निर्माण, प्रचारप्रसारलगायत पर्यटन प्रवद्र्धनका काम गर्नुपर्ने बताउनुभयो।

हेटौंडा उपमहानगरपालिकामा शहीद स्मारक, चुरियास्थित सुरुङमार्ग र चुरियामाई मन्दिर तथा गुम्बाडाँडामा रहेको मूर्तिकला बगैंचालाई पर्यटकीय गन्तव्यका रुपमा छनोट गरिँदा थाहानगरमा रहेका दामन, सीमभञ्ज्याङ्ग, चित्लाङ र राष्ट्रिय विभूति पार्कलाई पर्यटकीय गन्तव्य छनोट गरिएको छ।

मनहरी गाउँपालिकामा रहेका पिस पार्क, रमौली जंगल सफारी र बनकरिया होमस्टे, मकवानपुरगढी गाउँपालिकाका ऐतिहासिक महत्व बोकेको मकवानपुरगढी दरबार क्षेत्र, मनकामना मन्दिर र शहीद रुद्रबाटिका पार्क, भीमफेदी गाउँपालिकाका ऐतिहासिक चिसापानी गढी, हात्तीसार र त्रिखण्डी मन्दिर क्षेत्र, राक्सिराङ गाउँपालिकाका पाइराङ भीम्बुङ, जलपरि झरना, चमेरे गुफा र चैनपुरस्थित चेपाङ संग्रहालयलाई पर्यटकीय गन्तव्य छनोट गरिएको छ।

इन्द्रसरोवर गाउँपालिकास्थित इन्द्रसरोवर ताल, भालेश्वर मन्दिर र मदन भण्डारी फाखेल मैत्रीपार्क, चौकोट देवी मन्दिर, कैलाश गाउँपालिकामा कैलाश बैकुण्ठ, देखारी र घैराङ पर्यटक पार्कलाई पर्यटकीय गन्तव्य छनोट गरिएको छ।

बकैया गाउँपालिकाको गौतमबुद्ध पर्यटन पार्क, धानेश्वर पार्क र बकैया ठाकुर पर्यटन पार्क तथा बागमती गाउँपालिकामा रहेका झुरझुरेस्थित शहीद स्मारक पार्क, गोल्मे दरबार क्षेत्र र बेतिनीस्थित बनभोज स्थललाई पर्यटकीय गन्तव्य छनोट गरिएको उहाँले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्