नक्कली नोटसम्बन्धी कसुरको सवाल



दामोदर पौडेल

केही दिनपहिले बस व्यवसायीले प्रहरीसँग सम्बन्धित पेट्रोल पम्पमा रु. १० हजारको डिजेल किन्न रुपियाँ दिएछन्। त्यसमा ५ सय रुपियाँको एउटा जाली नोट पाइएछ। उनी थुनिए। केही समयपछि ठूलै रकम धरौटी राखेर उनी अदालतबाट तारिखमा छुटे। उनले जानेर वा चाहेर त्यो रुपियाँ कसैबाट लिएका र दिएका थिएनन्।

उनले सामान ल्याएकोमा ग्राहकले त्यो रुपियाँ दिएको थियो र त्यो ग्राहकको पनि त्यस्तो नियत थिएन। यसको कारण जाली नोटको सम्बन्धमा भएको अज्ञान नै हो। मुख्यतः ५ सय रुपियाँको लागि मानिसले मुद्रासम्बन्धी ठूलो सजाय हुने कसुर गर्दैन।

नक्कली नोट प्रयोगमा प्रायः सामान्य मानिसले सजाय भोगेका छन्। सामान्य मानिसलाई न जाली नोटको आकारप्रकार थाहा हुन्छ, न त्यस्तोमा सजायको बारेमा नै जानकारी हुन्छ। मुद्रासम्बन्धी अपराधमा जाली मुद्रा वा नोट बनाउने र बनाएको नोटलाई बजारमा ल्याउने कार्य नै प्रमुख अपराध हुन्।

अर्को उदाहरण छ, एकजना महिलाले पसलमा सामान किनेर ५ सय रुपियाँ दिइछन्। पसलेले यो नक्कली रुपियाँ हो भन्दा कसरी नक्कली रुपियाँ हुन्छ भनेर विवाद गर्दा ‘प्रहरी लगाइदिऊँ ?’ भनेपछि किन विवाद गर्ने भनेर उनी त्यहाँबाट हिँडिछन्।

तर प्रहरी लगाउने भनेको तात्पर्य नबुझी ती महिला अर्को पसलमा गइछन्। त्यो रुपियाँट सामान किनिछन्। उनी ठगिने ठाउँमा अर्को मानिस ठगियो होला। पछि ती महिलासँग कुरा चल्यो र उनलाई त्यस्तो जाली नोटको केसमा त सजाय हुन्छ र जेल हुन्छ, त्यस्तो रुपियाँ लिएर हिँड्न हुँदैन भन्दा उनी पहिला गल्ती नगरी कसरी सजाय हुन्छ भन्दै थिइन्।

पछि कुरा बुझ्न्।ि थुनिन नपरेकोमा खुशी पनि भइन्। उनले भनिन्, ‘नोट थोत्रो र नरम थियो।’ अर्को दिन एकजना थुनाबाट आएको मानिसले भन्यो, ‘थुनामा १० दिन जति बस्दा ५ जना त जाली नोट लिएर हिँडेको भनेर थुनिएका थिए, कसैबाट ५ सयका र कसैबाट १ हजारका एक–एकवटा नोट अलग–अलग ठाउँ र समयमा समातेको रहेछ।’

राज्यले जहिले पनि अपराधको स्रोतलाई नै खोतल्न सक्नुपर्दछ। स्रोतलाई नै निरुत्साहित गरेर सजायको दायरामा ल्याउन नचाहेसम्म वा ल्याउन नसकेसम्म बाहिरका परिणामहरू रोक्न सकिँदैन। परिणामको रूपमा आएका अपराधहरू पानी पर्दा आउने गड्यौलाजस्ता मात्र हुन्।

मुद्रासम्बन्धी अपराधमा ठूला अपराधीहरू कम थुनिन्छन्। उनीहरूले संगठित रूपमा बचेर जाली नोटहरू बनाउँछन्, व्यापार गर्दछन् र बजारमा ल्याउँछन्। नक्कली नोट प्रयोगमा प्रायः सामान्य मानिसले सजाय भोगेका छन्।

सामान्य मानिसलाई न जाली नोटको आकारप्रकार थाहा हुन्छ, न त्यस्तोमा सजायको बारेमा नै जानकारी हुन्छ। मुद्रासम्बन्धी अपराधमा जाली मुद्रा वा नोट बनाउने र बनाएको नोटलाई बजारमा ल्याउने कार्य नै प्रमुख अपराध हुन्।

मुलुकी देवानी संहिता २०७४ को मुद्रासम्बन्धी कसुरअन्तर्गत दफा २५६ मा कसैले मुद्रा बनाउन वा बनाउने उद्योग गर्न हुँदैन भन्ने उल्लेख छ। मुद्रा राज्यले मात्र बनाउन पाउँछ। त्यस्तो काम गर्ने व्यक्तिलाई १० वर्षसम्म कैद र १ लाख रुपियाँसम्म कैद हुने व्यवस्था छ।

त्यस्तै त्यही ऐनको दफा २५७ मा कसैले खोटो मुद्रा हो भन्ने जानी–जानी सद्देसरह चलन गर्ने नियतले त्यस्तो मुद्रा खरिद वा बिक्री गर्न, निकासी वा पैठारी गर्न, लेनदेन गर्न, सद्देसरह चलनमा ल्याउन वा त्यसको उद्योग गर्न वा आफूसँग राख्न हुँदैन भन्ने उल्लेख छ। त्यस्तो अपराधमा ७ वर्षसम्म कैद र ७० हजारसम्म जरिबाना हुन सक्ने व्यवस्था छ।

उक्त ऐनमा भनिएको छ– नोट जलाउन, नोटमा केर्न, लेख्न, च्यात्नसमेत हुँदैन। रोक लगाएको नोट चलनमा ल्याउन पनि हुँदैन। मुद्राको तौल घटाउन तथा रूप बदल्न हुँदैन। ती कार्य दण्डनीय छन्। जानी–जानी त्यस्तो कार्य गर्नु अपराध हो।

त्यस्ता अपराधी सजायको दायरामा आउनुपर्दछ तर अज्ञानताको कारणले र नोटको अवस्था नचिनेर पनि जाली नोट प्रयोग गरेको आरोपमा थुनिने र सजाय पाउने अवस्था आएको छ। यसम्बन्धमा राज्यले ध्यान दिनुपर्छ कि एउटा नोटमात्र लिएर प्रयोग गर्ने मानिसले उक्त अपराध गर्ने सम्भावना अन्यन्त न्यून हुन्छ।

प्रहरी, सरकारी वकिल र न्यायाधीशहरूले यसबारे सचेतना अपनाएमा अज्ञानताको कारणले जाली नोट लिएकाहरूलाई राहत हुन्छ। एकातिर कानुनको अज्ञानता क्षम्य हुँदैन र अर्कोतर्फ दशजना अपराधी छुटे छुटून् तर एकजना निर्दोष मानिसले सजाय नपाओस् भन्ने मान्यतालाई ध्यान दिन आवश्यक छ।

ऐनले जानी–जानी सद्देसरह प्रयोग गर्न नुहने उल्लेख गरेकोले जाली नोटको सम्बन्धमा जानकारी नहुनेहरू पनि हुन्छन् भन्ने संकेत गरेको हो भन्ने सम्बन्धमा ध्यान दिएर नै अनुसन्धान र परिणामलाई व्यवस्थित गर्नुपर्ने हुन्छ। सरकारले जनतालाई अपराधको आरोपमा पक्रने मात्र हैन, बरु अज्ञानताको कारणले अपराध नहोस् भनेर सचेतना दिनेतर्फ पनि ध्यान दिन आवश्यक छ।

ज्यान मार्ने, चोर्ने, रेप गर्ने आदि अपराधहरू स्वाभाविकरूपमा नै जानिने अपराध हुन्। तर जाली नोट, सुनको सट्टामा अर्को पदार्थलाई बेचेका आदि अपराधमा सम्लग्न देखिनेहरू सबै अपराधी हुँदैनन्। नेपालमा सुन ओसारपसारको अपराधमा सम्भवत ९० प्रतिशत ज्यालामा काम गर्ने र कानुनको बारेमा जानकारी नभएका भरियाहरू प्रक्रिएका हुन्छन्।

वास्तविक अपराधीहरूले नयाँ भरिया खोजेर काम गरिरहेका हुन्छन्। सुन, लागूपदार्थ तथा जाली नोटका अपराधीहरू नपक्रने र भरियाहरू पक्रने अवस्था देखिएको छ।विशेषतः जाली नोटको सम्बन्धमा राज्यले जनतालाई सूचना र जानकारी दिनु उपयुक्त हुन्छ।

राज्यले यससम्बन्धमा मात्र नभई नागरिक त्यति जानकार हुन नसक्ने अपराधका विषयमा जानकारी दिने सयम नै तोकेर रेडियो, टिभी आदिबाट प्रचार गर्न र वेबसाइटमा समेत राख्न आवश्यक छ।

सकेसम्म सरकारले विभिन्न ठाउँमा जनताको हितको लागि आफूसँग आएका नोटहरू जाँच्नको लागि मेसिनहरू नै राखेर नोटलाई व्यवस्थित गर्न सक्छ। स्थानीय सरकारबाट पनि यो कार्य हुन सक्छ।

जनताले आफूसँग आएका नोटहरू जाँच्ने सजिलो उपाय भयो र त्यो उपायको बारेमा जानकारी भयो भने उनीहरू सचेत हुन्छन् अनि जाली नोटको स्रोत पनि थाहा हुने सम्भावना बढेर जान्छ।

राज्यले जहिले पनि अपराधको स्रोतलाई नै खोतल्न सक्नुपर्दछ। स्रोतलाई नै निरुत्साहित गरेर सजायको दायरामा ल्याउन नचाहेसम्म वा ल्याउन नसकेसम्म बाहिरका परिणामहरू रोक्न सकिँदैन। परिणामको रूपमा आएका अपराधहरू पानी पर्दा आउने गड्यौलाजस्ता मात्र हुन्। यिनलाई सजाय गर्नु भनेको प्रहरी, प्रशासन र न्यायालयलाई काम दिनुजस्तो मात्र हो।

अर्कोतर्फ ठूला माछा भन्नेहरूले ठूलो तहमा ठूलो रकम खुवाएकोले त्यो प्रक्रिया रहेसम्म अपराधको चक्र चलिरहन्छ। अदालत, प्रहरी, नेता, अख्तियारहरू त केवल जनतालाई व्यवस्थाभित्र भएको अव्यवस्थाको विरोध नहोस् भनेर देखाउने दाँतजस्ता मात्र हुन् भन्ने पनि गरिन्छ। नत्र त पानी र गड्यौलाको अन्तरसम्बन्ध छ। पानी नभएको ठाउँमा गड्यौला हुँदैन।

अर्कोतर्फ जाली नोटमात्र हैन, धेरै अपराधको कारण विज्ञानको प्रगति र प्रविधिको विकास नै हो। प्रविधिको कारणले बढेको अपराधलाई राज्यका यन्त्र इमानदार भए प्रविधिबाटै कम गर्दै अन्त्य गर्न सकिन्छ। नोटको प्रचलनलाई पेपरलेस प्रणालीबाटै अन्त्य गर्न सकिन्छ। मानिसले मोबाइलबाटै आफ्नो रुपियाँबाट सामान किन्न सक्ने, कसैलाई सापट दिन सक्ने आदि व्यवस्था हुने र त्यही आधारमा उसको खाताबाट रकम घट्ने भएमा समस्याको समाधान हुन्छ।

अहिले विद्युत्, टेलिफोन आदिमा त्यो प्रक्रियाबाट काम हुने पनि गरेको छ। नक्कली नोट छुट्याउने केही सार्वभौम तरिकाहरू पनि छन्। प्रायः ती तरिकाबाट धेरै हदसम्म नक्कली नोट पत्ता लाग्न सक्छ। नक्कली नोट अपेक्षाकृत चिल्लो र सक्कली नोट खस्रो हुन्छ। यो तुलनाबाट सजिलै थाहा हुन्छ। सक्कली नोटमा अंकहरू उठेका हुन्छन् र नक्कली नोटमा बराबर हुन्छन्। नक्कली नोट चिप्लो बढी हुन्छ।

नक्कली नोटमा कतिपयमा सुरक्षा धागो हुँदैन र कतिपयमा नेपाल राष्ट्र बैंक लेखेको हुँदैन वा देखिँदैन तर सक्कली नोटमा त घामतिर नोट राख्दा देखिन्छ। नक्कली नोटमा प्रायः पानी पर्दा रंग जान्छ र हातमा रंग लाग्छ तर सक्कलीमा त्यस्तो हुँदैन।

यसप्रकार खोटा टकको सम्बन्धमा राज्यले स्रोत पत्ता लगाएर नै अपराधलाई रोक्नुपर्दछ। पेपरलेसको व्यवस्था क्रमशः गर्दै लग्नुपर्दछ। एक–दुईवटा नोट लिनेहरूलाई प्रस्ट प्रमाण नभएसम्म शंकाको सुविधा दिनुपर्ने हुन्छ।

लाग्दैन कि अर्थमन्त्री र राष्ट्र बैंकका गभर्नरहरूले पनि हरेक नोटको आधिकारिकताको सम्बन्धमा जानकारी लिएर वा जाँचेर मात्र त्यो नोट स्वीकार गर्छन्।
(लेखक पौडेल अधिवक्ता हुनुहुन्छ।)

 

 

प्रतिक्रिया दिनुहोस्