टोखामा जेसुम यात्रा



कला, साहित्य र रंगमञ्चमार्फत स्थानीयता र मौलिकता प्रवद्र्धन गर्ने ध्येयसहितको जेसुम यात्राको एघारौं शृंखला काठमाडौंको सांस्कृतिक शहर टोखामा सम्पन्न भएको छ।

शनिबार जेसुम अभियानका साथ चित्रकार र कविहरू पुरानो समय, सम्पदा र संस्कृति खोज्न निस्किएका हुन्। बिहानको हुस्सु र चिसोलाई छिचोल्दै आइपुगेका स्रष्टाहरूले न्हुज पुस्तकालयबाट टोखाको सांस्कृतिक यात्रा थालेका थिए। पुस्तकालयका अध्यक्ष दीपेन्द्र श्रेष्ठले पञ्चायतकालमै खुलेको पुस्तकालय कुनै समय नेताहरूको भूमिगत थलो रहेको जनाउँदै परिवर्तनप्रतिको ध्येय झल्काउन उतिबेला न्हुज (नयाँ किरण) राखिएको बताए।

टोखा नगरपालिकाको सहकार्य रहेको यात्रामा स्थानीय संस्कृतिविद् सत्यनारायण डंगोल र गणेशमान श्रेष्ठ तथा स्थानीय सुविन्द्र श्रेष्ठले विभिन्न ऐतिहासिक तथ्यबारे जानकारी गराएका थिए। टोलीले लिच्छविकालमै निर्मित तलेजु भवानी, चण्डेश्वरी, सपन तीर्थ मन्दिर, विस्केट जात्राको लिंगो ठड्याउने थलो, नाशा द्यौलगायतका सम्पदा क्षेत्र भ्रमण गरेर चित्र र कविता कोरे।

मतिना भ्वाय छें (भोजघर) मा नेवारी परम्परागत भोजनपछि न्हुज पुस्तकालयकै सभाहलमा प्राज्ञ लक्ष्मी माली, सुलोचना मानन्धर, स्नेह सायमी, अनिता लामा, अजितमान तामाङ, फूलमान बल, विना थिङ, रामगोपाल आशुतोष, रोजिता बुद्धाचार्य, रमेश कँडेल, लक्ष्मी रुम्बा, ममता थापा, श्याम संकल्प, गणेश बुढा, प्रभात सापकोटा, भरत गौतम, दीपेन्द्र श्रेष्ठलगायतले टोखाको सांस्कृतिक र ऐतिहासिक सौन्दर्य र सन्दर्भ समेटिएको कविता सुनाएका थिए।

कविता गोष्ठीसँगै चित्रकार दीपेन्द्र बनेपाली, डिबी किराँत, भीम सुब्बा तामाङ (बाबु साइँला), विनिता बुद्धाचार्य, कान्छाकाजी भासिमा, विक्रम प्रजापति, प्रकाश मानन्धर, विनोद गुप्तालगायतका चित्रकारले टोखामाथि सिर्जिएका चित्रकला प्रदर्शनी गरे।

प्रतिक्रिया दिनुहोस्