मास्टर रत्नदास प्रकाशको स्मृति दिवस मनाइयो १ करोडको अक्षय कोष स्थापना गरिने



स्वर शिरोमणि स्व. मास्टर रत्नदास प्रकाशको १०७औं स्मृति दिवस मनाइएको छ।बाल्यकालदेखि नै अभिनयको माध्यमबाट रंगमञ्चलाई उर्वर बनाउँदै नेपाली संगीत क्षेत्रलाई नयाँ दिशा दिएका स्व. मास्टर रत्नदास प्रकाशको स्मृति दिवस शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशीको प्रमुख आतिथ्यमा पाटनढोकास्थित यलमाया केन्द्रमा सम्पन्न भएको हो।

कार्यक्रममा नेपाली स्रष्टाहरूको हुलाक टिकट प्रकाशन गर्न सहयोग पुर्याएबापत नेपाल फिलाटेलिक सोसाइटीलाई नगद १ लाख ११ हजार १ सय ११ रुपियाँसहित ताम्रपत्रद्वारा सम्मान गरिएको थियो। सम्मान नेपाल फिलाटेलिक सोसाइटीका अध्यक्ष शंकर श्रेष्ठले ग्रहण गरेका थिए।

लोकप्रिय गायक प्रेमध्वज प्रधान तथा संगीत प्रवीण मोहनप्रसाद जोशीको सहभागितामा सम्पन्न कार्यक्रममा शताब्दी पुरुष जोशीले रत्नदास प्रकाशजस्ता संगीतका धरोहरलाई राज्यले संरक्षण गर्नुपर्ने विचार व्यक्त गरे। उनले नेपाल भ्रमण वर्ष २०२० मा नेपाली शास्त्रीय संगीत र वाद्यवादनका कार्यक्रमलाई पनि उत्तिकै महत्व दिए भ्रमण वर्ष सफल हुने सुझावसमेत दिए।

स्व. मास्टर रत्नदास प्रकाशका पुत्र निर्मलरत्न प्रकाशको सभापतित्वमा सम्पन्न कार्यक्रममा उनले आगामी वर्ष बुबाको नाममा प्रतिष्ठान स्थापना गरी कलाकारको सम्मान गर्दै लैजान १ करोड ११ हजार रुपियाँ राशीको अक्षयकोष स्थापना गर्ने घोषणासमेत गरे।

त्यसअघि कार्यक्रमका संयोजक नरेशभक्त माथेमाले स्वागत मन्तव्यमा यस्ता कार्यक्रमले संगीतमा रुचि भएका नयँँ पिँढीलाई प्रोत्साहन मिल्ने चर्चा गरेका थिए। कार्यक्रममा विभिन्न कलाकारले केही लोकप्रिय गीत तथा शास्त्रीय संगीत प्रस्तुत गरेका थिए।

प्रतिक्रिया दिनुहोस्