कालिञ्चोकको हिमपातमा नेपाल सुन्दरीको लुकामारी



चिरञ्जीवी मास्के
कालिञ्चोक, दोलखा

बुधबार बिहानैदेखि कालिञ्चोकमा हिमपात भइरहेको छ। भुवावाल टोपी भएको खैरो ज्याकेटमा फुसफुसाउँदो हिउँसँग लुकामारी गर्दै रमाइरहेकी छिन् नेपाल सुन्दरी शृंखला खतिवडा।

‘यस्तो चिसो मौसममा नेपालमा पहिलोपटक यति उचाइको हिमपात हुने ठाउँमा आएको छु’, नेपाल सुन्दरी शृंखलाले भनिन्– ‘यो मेरो जीवनको अलौकिक आनन्दको क्षण हो। कालिञ्चोकमा जति मानिस रमाइरहेका छन्, यहाँको प्राकृतिक सुन्दरता, हिमपात र धार्मिक महत्वका कारण अझै धेरै मानिस आउनुपर्ने ठाउँ रहेछ।’

मंगलबार कालिञ्चोक पुगेकी शृंखला लगातारको हिमपातका कारण बुधबार दिनभरि नै कालिञ्चोकमा रमाइरहेकी छिन्।सन् २०१८ को नेपाल सुन्दरी तथा विश्व सुन्दरी छनोटमा टप टेनभित्र परेकी शृंखलाले आफू कालिञ्चोकमा स्की गर्न आतुर रहेको समेत सुनाइन्।

पर्यटन वर्ष २०२० को प्रवद्र्धनका लागि टिमसँग कालिञ्चोक पुगेकी शृंखलाले कालिञ्चोकको प्राकृतिक सुन्दरताले सबैलाई मोहित बनाउने बताइन्।३ हजार ८ सय ४२ मिटरको उचाइमा रहेको कालिञ्चोकमा यो मौसममा दोस्रोपटक शुक्रबारबाट लगातार हिमपात भइरहेको छ।

हिमपातले सुन्दर देखिएको कालिञ्चोकमा चिसोको समेत पर्वाह नगरी हजारौं मानिस रमाइरहेको कुरीमा रहेको सुनपाती होटलका सञ्चालक हरि ओली बताउँछन्।

चरिकोटबाट १७ किलोमिटरको दूरीमा रहेको कालिञ्चोकमा पुग्न अहिले हिमपातको कारण केही समस्या भए पनि चेन राखेको बोलेरोले पर्यटकलाई कुरीसम्म पुर्याउने गरेको र कुरीबाट कालिञ्चोक केबुलकार चढेर मन्दिरसम्म पुग्ने गरेको स्थानीय बताउँछन्।

अत्यधिक हिमपात र चिसोले पानी जम्ने भए पनि कालिञ्चोक केबलकारको सहयोग तथा कुरीका होटल व्यवसायीको व्यवस्थापनमा पानीको राम्रो व्यवस्था गरिएको ओलीको भनाइ छ।ब

प्रतिक्रिया दिनुहोस्