चिसो बढेपछि सडकमै आगो बालेर ताप्दै म्याग्दीका स्थानीयवासी (फोटोफिचर)



प्रताप बानियाँ, म्याग्दी ।

मौसम बद्लीसँगै अत्यधिक चिसो बढेपछि सर्वसाधारणको दैनिक जीवनयापन कष्टकर बन्दै गैरहेको छ । मङ्गलबारदेखि पुनः मौसममा आएको परिवर्तनका कारण चिसो बढेपछि हिमाली जिल्ला म्याग्दीका स्थानीयवासी सडकमै आगो फुकेर तापेका छन् ।

चिसो बढ्दै गएपछि बेनीबजारका स्थानीयले सडकको गल्ली र चोकचोकमा आगो बालेर ताप्दै आइरहेका छन् । दिउँसोको समयको तुलनामा भन्दा बिहान र बेलुका चिसो अत्यधिक भएपछि सर्वसाधारणहरुले आगो बालेर तापेको बताएका छन् । म्याग्दी र कालीगण्डकी नदीको सङ्गमस्थलमा रहेको म्याग्दीको सदरमुकाम बेनीबजारमा क्रमशः चिसो बढ्दै जान थालेको छ ।

मौसममा आएको गडबढीका कारण खासगरी महिला, बालबालिका तथा ज्येष्ठनागरिकहरु समस्यामा परेका छन् । बिहान म्याग्दीको आकासमा बाक्लो कुहिरो (हुस्सु) लागेको थियो भने अहिले सिमसिम पानी परिरहेको छ । म्याग्दी जिल्लाको तापक्रम पनि क्रमशः माइनसतर्फ झर्दै गैरहेको बताइएको छ । अत्यधिक चिसो बढेको हुँदा सरकारी कार्यालयमा कार्यरत कर्मचारीलाई समेत काम गर्न सास्ती भएको छ ।

चिसो ह्वात्तै बढेपछि जिल्लाको उच्च क्षेत्रका स्थानीय घरभित्रै बस्न बाध्य भएका छन् । चिसो बढेपछि आगो बालेर ताप्नुपर्ने बाध्यता आएको बेनीको क्याम्पसचोकका कुलराज पौडेलले बताउनुभयो । विगत केही दिनयता देशैभर चिसो बढ्दै गएपछि जनजीवन प्रभावित भएको छ । मौसममा आएको फेरबदलका कारण घाम नलाग्दा चिसो बढ्न गएको हो । चिसो ह्वात्तै बढेका कारणले गर्दा सर्वसाधारणको दैनिक जीवनयापनमा समस्या उत्पन्न भएको छ ।

तस्वीरः प्रताप बानियाँ, म्याग्दी ।

प्रतिक्रिया दिनुहोस्