सिरि ए मा रोनाल्डोको ह्याट्रिक



लन्डन, (एजेन्सी)।

युभेन्टस्का स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले इटालियन सिरि ए मा पहिलो ह्याट्रिक गरेका छन्। सोमबार राति भएको खेलमा रोनाल्डोको ह्याट्रिकको सहयोगमा युभेन्टस्ले काग्लियारीलाई ४–० ले हराए थियो। रोनाल्डोले दोस्रो हाफको शुरुमै गोल गरेका थिए।

उनले ४९औं मिनेटमा विपक्षी टोलीका राग्नार क्लाभानको गल्तीको फाइदा उठाउँदै टोलीलाई अग्रता दिलाएका थिए। त्यसपछि ६७औं मिनेटमा पेनाल्टी किक गोलमा परिणत गरे। मार्को रोगले पाउलो डीबालालाई फाउल गरेपछि युभेन्टस्ले पेनाल्टी प्राप्त गरेको थियो।

पोर्चुगलका लिजेन्ड रोनाल्डोले गोन्जालो हिग्वेनलाई गोल गर्न पास मिलाइदिएका थिए। ८१औं मिनेटमा गोन्जालोको गोलसँगैं युभेन्टस् ३–० को अग्रतामा रहेको थियो। यसको एक मिनेटमा रोनाल्डोले गोल गर्दै ह्याट्रिक पुरा गरेका थिए।

यो उनको क्लबमा आबद्ध भएयता पहिलो सिरी ए ह्याट्रिक थियो भने करियरको ५६औं ह्याट्रिक थियो। सन् २०१८ मा रियल मेड्रिडबाट युभेन्टस्मा ९९.२ मिलियन पाउन्डमा आबद्ध भएका रोनाल्डोको इटालियन क्लबका लागि दोस्रो ह्याट्रिक पनि थियो।

यसअघि उनले च्याम्पियन्स लिगअन्तर्गत् गत सिजनमा अन्तिम १६ मा एट्लेटिको मेड्रिडविरुद्ध तीन गोल गरेका थिए। उनी एलेक्सिस सान्चेजपछि प्रिमियर लिग, ला लिगा र सिरी ए गरी तीन लिगमा ह्याट्रिक गर्ने पहिलो फरवार्ड हुन्।

प्रतिक्रिया दिनुहोस्