हिमालयन र फ्रेन्डस् बराबरीमा



नेपाल समाचारपत्र, काठमाडौं।

जारी सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत् मंगलबार भएको खेल गोलरहित बराबरीमा समाप्त भएको छ। पहिलो जितको खोजीमा रहेका दुई टोली हिमालयन शेर्पा क्लब र फ्रेन्ड्स क्लबले बराबरी खेलेका हुन्।

दुबै टोलीले यो निरासजनक नतिजासँगैं एक –एक अंक जोडेका छन्। हिमालयन शेर्पाको यो तेस्रो बराबरी खेल हो भने फ्रेन्ड्सको दोस्रो बराबरी खेल हो। दुबै टोलीले पाँचांै चरणसम्म पनि जितको स्वाद पाउन सकेका छैनन्।

दशरथ रंगशालामा भएको सो खेलको अन्त्यतिर हिमालयन शेर्पाको लागि गोल गर्ने अवसर जुटेको थियो। दोस्रो हाफमा थपिएको ५ मिनेट समयको चौथो मिनेटमा विशन गुरुङको पासमा त्रिदेव गुरुङले गोल गर्न चुकेका थिए।

विशनले गोलपोस्ट नजिकैबाट फ्रेन्डस्का गोलकिपर देव लिम्बुलाई बिट गर्दै त्रिदेवलाई बल पास गरेका थिए। तर त्रिदेवले डिबक्स नजिकमा पाएको उक्त अवसरलाई पोस्ट भन्दा माथि प्रहार गरेका थिए।

उनले सो बललाई नियन्त्रणमा लिएर प्रहार गरेको भए शायद गोल हुने संभव थियो। यसअगाडि फ्रेन्डस्ले पनि गोल गर्न असफल भएको थियो। ६६औं मिनेटमा सन्जोग महर्जनले गोल गर्न चुक्दा टोली अग्रता लिन विफल बन्यो। सन्जोगले डि बक्स नजिकबाट गरेको हेड प्रहार पोस्ट भन्दा माथि गएको थियो।

यो नतिजापछि हिमालयन शेर्पा ३ अंकसहित १२औं स्थानमा यथावत रहेको छ। त्यस्तै फ्रेन्डस् २ अंकसहित १३औं स्थानमा कायमै रह्यो। १४ टोली सहभागिता रहेको जारी लिगमा सरस्वती युवा क्लब भने अंक विहीन हुँदै पुछारमा छ।

प्रतिक्रिया दिनुहोस्