शेयर बजारमा दोहोरो अंकको वृद्धि कायमै



नेपाल समाचारपत्र, काठमाडौं।

शेयर बजारमा वृद्धि कायमै रहेको छ। साताको पहिलो दिन आइतबारदेखि नै दोहोरो अंकमा वृद्धि भएको नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक तेस्रो दिन मंगलबार पनि दोहोरो अंकले नै वृद्धि भएको छ।

यसदिन परिसूचक १६ दशमलव २३ अंकले बढ्दै १२१६ दशमलव ९२ बिन्दुमा पुगेर कारोबार रोकिएको छ। कुल १ सय ७९ वटा कम्पनीको ३८ लाख ८० हजार ९ सय ५० कित्ता शेयर १ अर्ब १० करोड २७ लाख ३६ हजार ७ सय ४८ रुपियाँमा कारोबार भएको छ। नेप्सेमा शेयर कारोबार अर्ब रुपियाँभन्दा माथि कारोबार भएको धेरै पछि हो।

विगतमा साताभरी नै अर्ब रुपियाँको कारोबार हुन पनि धौं–धौं हुने गरेको स्थितिमा राजनीतिक फेरबदलको हल्लाले लगानीकर्ता उत्साहित हुँदा शेयर बजारमा उछाल आएको हो।

नेप्से परिसूचक बढेको यस दिन सेन्सेटिभ परिसूचक पनि बढेको छ। ४ दशमलव १३ अंकले बढ्दै सेन्सेटिभ परिसूचक २६४ दशमलव ८१ बिन्दुमा पुगेर कारोबार रोकिएको छ। यस दिन होटल तथा निर्माण तथा उत्पादन समूहबाहेक अरू सबै समूहको कारोबार बढेको छ।

यसदिन सबैभन्दा धेरै निर्जीवन बीमा समूहको कारोबार १ दशमलव ८९ प्रतिशतले वृद्धि भएको छ। त्यस्तै हाइड्रोपावर, बैंकिङ, माइक्रोफाइनान्स, विकास बैंक समूहतर्फ लगानीकर्ता आकर्षित भएका छन्।

कारोबार रकमका आधारमा मंगलबार माछापुच्छ«े बैंक लिमिटेडले सबैभन्दा धेरै कारोबार गरेको छ। यस बैंकले १९ करोड ४९ लाख १३ हजार ४ सय १३ रुपियाँबराबरको शेयर खरिदबिक्री गरेको छ।

यस्तै एनआईसी एसिया बैंकले ६ करोड ४८ लाख रुपियाँभन्दा बढीको शेयर किनबेच गर्दै बढी कारोबार गर्ने कम्पनीमध्ये दोस्रो स्थानमा रहेको छ।

यसदिन सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन्। यस कम्पनीको नाफा १० प्रतिशतले बढेको छ।

यस्तै, सबैभन्दा धेरै घाटा व्यहोर्ने कम्पनीमा बोट्लर्स नेपाल (तराई) लिमिटेड रहेको छ। यस कम्पनीका लगानीकर्ताहरूले करिब ४ प्रतिशतको घाटा व्यहोरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्