प्रशारण लाइन बनाउँदै न्यादी जलविद्युत् आयोजना



नेपाल समाचारपत्र, लमजुङ।

लमजुङको मस्र्याङ्दी गाउँपालिका ६ र ७ बाट बग्ने ङादीखोलामा निर्माणधीन ३० मेगावाटको न्यादी जलविद्युत् आयोजनाले ९ किलोमिटर राष्ट्रिय प्रशारण लाइन निर्माण गर्ने भएको छ। आयोजना स्थलदेखि मस्र्याङदी–३ खुदी टुनीखर्कसम्म ६ किलोमिटर, टुनिखर्कबाट मस्र्याङ्दी–८ लामपाटासम्म ३ किलोमिटर र सिनोहाइड्रोको ३ नम्बर टावरसम्म प्रसारण लाइन निर्माण गर्न लागेको हो।

आगामी चैत्र महिनामा विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको आयोजनाले तोकिएको समयसम्म राष्ट्रिय प्रशारण लाइन निर्माण नहुने भएपछि आफैं प्रशारण लाइन निर्माण गर्न बाध्य भएको आयोजनाले जनाएको छ।

मस्र्याङदी कोरीडोरमा निर्माण हुने भनिएको २२० केभी राष्ट्रिय प्रशारण लाइन निर्माणमा ढिलाई हुने भएपछि आयोजना आफैंले १३२ केभी प्रशारण लाइन निर्माण गर्ने भएको हो।

यस अघि आयोजना स्थल ङादीखोलाबाट मस्र्याङदी–३ टुनिखर्कसम्म प्रशारण लाइन निर्माण गर्ने भनिएपनि २२० केभीको राष्ट्रिय प्रशारण लाइन निर्माण नहुने भएपछि थप तीन किलोमिटर प्रशारण लाइन निर्माण गर्न लागेको आयोजनाका प्रमुख कार्यकारी अधिृकत उत्तम अमात्यले बताउनुभयो।

‘चैत्र महिनाबाट विद्युत उत्पादन गर्ने लक्ष्य हो, अमात्यले भन्नुभयो–‘प्रशारण लाइन नहुनाले हामी आफैं बनाउन बाध्य भएका छौँ।’आयोजनाले २५ वटा टावर मध्ये ९ वटा टावरको निर्माण कार्य गरिरहेको छ।

अब प्रक्रियागत रुपमा अघि बढेर जग्गा अधिग्रहण, मुआब्जा वितरण गरी दु्रत गतिमा प्रशारण लाइन निर्माण गरिने आयोजनाका जनसम्पर्क अधिकृत विजय गुरुङले बताउनुभयो।

आयोजनाका अनुसार आयोजना स्थलबाट टुनीखर्कसम्म १५ वटा टावर बन्ने छन्। बाँकी ३ किलोमिटरमा भने थप १० वटा टावर निर्माण हुने भएको छ। न्यादीबाट आफ्नै प्रशारण लाइनमा विद्युत् ल्याएर माथिल्लो मस्र्याङदीले निर्माण गरेको १३२ केभी प्रशारण लाइनमा जडान गरिने आयोजनाले जनाएको छ।

माथिल्लो मस्र्याङदी ‘ए’ ले निर्माण गरेको प्रशारण लाइनको तेश्रो टावरमा न्यादीबाट उत्पादित विद्युत् जडान गरिने छ। २०७३ चैतबाट निर्माण सुरु भएको आयोजनाको हालसम्म ८५ प्रतिशत संरचना निर्माणको काम सम्पन्न भइसकेको छ। ३० मेगावाटको उक्त आयोजना सम्पन्न गर्न ६ अर्ब रुपैयाँ लाग्ने अनुमान गरीएको छ।

प्रतिक्रिया दिनुहोस्