जलासयमा पानीजहाज सञ्चालन



नेपाल समाचारपत्र, पर्वत ।

नेपालमा नै व्यवसायिक रुपमा जलयात्रा सञ्चालन हुँदै आएको कालीगण्डकी जल विद्युत आयोजनाको जलासयमा पानी जहाज मोडलको क्रुज सिप सञ्चालनमा आएको छ।

पर्वत, गुल्मी र स्याङजाको संगम स्थलमा रहेको आयोजनाको जलासयमा नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरि क्रुज सिप सञ्चालन गरिएको हो।

स्याङजाको मिर्मीदेखि पर्वतको सेतीवेणीसम्म बनेको जलयात्राको लम्बाई ७ किलोमिटर रहेको छ। २५ लाखको लागतमा ईटहरीमा निर्माण गरिएको क्रुज सिप (माउण्ट मकालु पानी जहाज) शालिग्राम कालीगण्डकी जल यातायात (पानी जहाज) कम्पनी प्रा.लि.ले सञ्चालनमा ल्याएको हो।

कालिगण्डकी गाउँपालिका–७ मिर्मीबाट शुरु भएको जलयात्रा विश्व प्रख्यात तथा प्रसिद्ध पर्यटकीय स्थल शिला शालिग्राम भएको स्थान सेतीवेणी सम्म पुग्ने छ। विश्वकै ठूलो शालिग्राम दर्शन गर्न आउने पर्यटकले जलयात्रा गरी मनोरञ्जन प्राप्त गर्न सक्नेछन्।

सेतीवेणीबाट मिर्मीसम्मको जलयात्रा गर्ने तथा शिला शालिग्राम दर्शनका लागि मिर्मी बाट जलयात्रा गर्ने पर्यटक अब १० मिनेटमै पुग्ने कम्पनीका सञ्चालक चित्रबहादुर रानाले जानकारी दिनुभयो।

छ महिना अगाडि नेपाल सरकारबाट मकालु पानीजहाज सञ्चालनका लागि अनुमति पाएको यस कम्पनीले अहिले २० सिटको क्रुजबाट यात्रा शुरु गराएतापनि तीन महिनाभित्र १ सय २० ‘सिटर स्मल क्रुज’ सञ्चालन गरिने उहाँले बताउनुभयो।

यहाँ यस अघि देखिनै ईन्जिन र काठ बाट बनेको ५० देखि १ सय जनासम्म मानिस बोक्न सक्ने क्षमताका १० वटा स्टिम्बर सञ्चालनमा छन्। कालीगण्डकीमा सञ्चालन गरिएको क्रुज सिपले आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण थप्ने उहाँको विश्वास छ।

क्रुज सिपको हालै गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वतावरण मन्त्री विकास लम्सालले उद्घाटन गर्नुभएको छ। उद्घाटन गर्दै मन्त्री लम्सालले नेपालमा जल पर्यटनबाट आन्तरिक र बाह्य पर्यटक प्रवद्र्धन गर्न सकिने बताउनुभयो।

उहाँले भ्रमण वर्ष २०२० लक्षित गरी सञ्चालनमा ल्याइएको क्रुज सिपले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो।

मन्त्री लम्सालले कालीगण्डकी प्राकृतिक, साहसिक तथा धार्मीक पर्यटकीय हिसाबले महत्वपूर्ण रहेको चर्चा गर्दै देवघाट, रानीमहल, सेतीवेणी, मोदीवेणी हुदै मुक्तीनाथसम्मको धार्मीक पर्यटकीय स्थललाई एउटा प्याकेजका रुपमा अगाडी बढाउनु पर्नेमा जोड दिनुभयो।

 

प्रतिक्रिया दिनुहोस्