कांग्रेसभित्रको भाँडभैलो



प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्रको भाँडभैलो चरम उत्कर्ष उन्मुख भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको एकाङ्की शैलीका कारण पार्टीभित्रको विवाद सतहमा आएको मात्र होइन कि एक पक्षले अर्को पक्षलाई निषेध गर्नेसम्मको क्रियाकलाप अहिले देखिन थालेको छ ।

संस्थापन पक्षले वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षलाई निषेध गरेर अगाडि बढ्न खोजेपछि विभिन्न जिल्लाबाट राजधानी आएका ४३ भन्दा बढी जिल्ला सभापतिहरूले संस्थापन पक्षको चर्को आलोचना मात्र गरेनन् उनीहरूले बहुमतको आधारमा केन्द्रीय समितिले गरेको निर्णय नमान्ने घोषणासमेत गरेका छन् ।

यसले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस इतिहासमा नै सबैभन्दा कमजोर अवस्थामा पुगेको छ । प्रजातन्त्रको जननी मान्ने कांग्रेसभित्र आन्तरिक लोकतन्त्र नै कमजोर अवस्थामा पुगेको छ भने भ्रातृ संगठनहरू लथालिङ्ग र भताभुङ्ग अवस्थामा पुगेका छन् ।

पार्टीभित्र देखिएको गुट–उपगुटले कार्यकर्तामा नैराश्यता छाएको मात्र होइन कि सरकारले गरेका गलत क्रियाकलापको बारेमा मतादातासम्म पनि जान नसक्ने गरी कांग्रेस थला पर्दै गएको छ ।

बहुमतको दम्भले ग्रस्त संस्थापन पक्षले पौडेल गुटमा लाग्ने र आफ्नो विरोधमा सार्वजनिक भेला गरेर अभिव्यक्ति दिनेमाथि कारबाही गर्ने उद्घोषसमेत गरेको छ ।

यसले गर्दा कांग्रेस सिद्धान्तको हिसाबले विभाजन भइसकेको अवस्थामा पुगेको महसुस भएको छ । साथै यसले गर्दा मुलुकको लोकतन्त्र कमजोर अवस्थामा पुगेको भान हुन थालेको छ ।

पार्टीभित्र आफ्नो बहुमत रहेको भन्दै संस्थापन पक्षले पार्टीभित्रकै अर्को पक्षलाई पेलेर लैजाने नीति अख्तियार गरेको कारण अहिले कांग्रेस कोमामा पुगेको छ । दुनियाँलाई लोकतन्त्रको पाठ सिकाउने कांग्रेस आफैं भने एकले अर्कालाई निषेध गर्ने अवस्थामा पुग्नु पक्कै प्रजातन्त्रवादीहरूका लागि खुशीको खबर होइन ।

कम्युनिस्टहरू तानाशाही भएको भन्दै चर्का भाषण गर्ने कांग्रेसी जनहरूले पार्टीमा देखिएको विकृति–विसंगतिका विरुद्ध आवाज बुलन्द गर्नुपर्ने बेला आइसकेको छ । गुटविरुद्धको अभियान सञ्चालन गर्न युवा नेताहरूले साहस देखाउन सक्नुपर्दछ ।

कोमामा पुगेको कांग्रेसलाई पुनः पूर्ववत् अवस्थामा नपुर्याउने हो भने मुलुकमा अर्को तानाशाह नजन्मला भन्न सकिँदैन । कांग्रेसभित्र बहुमतको दम्भ देखाउने संस्थापन पक्ष र संस्थापन पक्षले जस्तोसुकै निर्णय गर्न खोजे पनि व्यवधान गर्न खोज्ने संस्थापन इतर समूहले सोच्नुपर्ने बेला आइसकेको छ ।

पार्टी संगठन भनेको पद्धतिमा आधारित भएर सञ्चालन हुनुपर्नेमा पार्टीलाई एउटा नेता वा समूहको क्लबजस्तो बनाउने काम अहिले संस्थापन र इतर पक्षबाट भएको देखिन्छ ।

बीपी कोइरालाले प्रतिपादन गरेको समाजवादबाट विमुख हुँदै गएको कांग्रेसले व्यक्तिगत स्वार्थ त्यागेर आफूलाई प्रजातन्त्रको हिमायतीको रूपमा प्रस्तुत गर्न सक्नु नै उनीहरूका लागि श्रेयष्कर हुने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्