सप्तऋषि अस्पतालमा तालाबन्दी



नेपाल समाचारपत्र, लाहान।

सप्तऋषि अस्पताल लहानका डाक्टरको लापरबाहीले शिशुको ज्यान गएको भन्दै अस्पतालमा तालाबन्दी गरिएको छ। ४ जना सुत्केरीले शिशु गुमाएपछि कारवाहीको माग गर्दै तालाबन्दी गरिएको हो।

सप्तऋषि अस्पताल प्रालि लहानका सञ्चालक डा.पशुपति चौधरी र अस्पतालमा कार्यरत डा. सुनिल विराजी माथी पीडित पक्षले ईलाका प्रहरी कार्यालय लहानमा आइतबार जाहेरी दरखास्त दिएको छ।

लहान–१९ का घुरन यादव, औरही–१ का लालबहादुर यादव र सप्तरीको बलानविहुल–३ का मनोज साहले अपस्पताल र स्वास्थ्यकर्मी विरुद्ध जाहेरी दिएको हो। एक जना पीडितको नाम ठेगाना अस्पतालले सार्वजनिक नगरेको र आन्तरिक सम्झौता गरेर अस्पताल पक्षले मिलाएको स्रोतको दावी छ।

शल्यक्रियामा संलग्न डाक्टरले लापरबाही गर्दा शिशुको मृत्यु भएको पीडित पक्षको दावी छ। उनीहरूले घटनाबारे अस्पतालसँग र प्रहरी प्रशासनको रोहवरमा पटकपटक छलफल गरेका थिए।

तर, अस्पतालपक्षले आफूबाट लापरबाही नगरेको दावी गर्दै आएपछि पीडितले न्यायको लागि प्रहरीमा जाहेरी दिएको पीडितले बताएका छन्। शुक्रबार साँझदेखि सुत्केरी व्यथाले च्यापेपछि सप्तरीको बलानबिहुल गाउँपालिका–३ दुधौलाका संगीता साह, सिरहाको औरही गाउँपालिका–१ की प्रमिला यादव र सखुवानन्कारकट्टी गाउँपालिका–३ की जानकी यादव उपचारका लागि सप्तऋषि अस्पतालमा पुगेका थिए।

शनिबार बिहानसम्म तीनै जनाको पालैपालो शल्यक्रिया भयो तर कसैको पनि शिशु बाँचेन। शल्यक्रियामा डाक्टरको लापरवाही भएको पीडितका आफन्तको आरोप छ।

डाक्टर रन्जिता जयसवालले शल्यक्रिया गरेको अस्पतालका प्रमुख डाक्टर पशुपति चौधरीको दावी रहेपनि डा.सुनिल विराजीले शल्यक्रिया गरेको खुलासा भएको छ।

इलाका प्रहरी कार्यालय लहानका प्रमुख डीएसपी शरत थापाले भन्नुभयो– ‘घटनाबारे थप अनुसन्धान भइरहेको छ।’ छानबिनपश्चात् दोषी माथि कारबाही गरिने प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताउनुभयो। यसैबीच, पीडित पक्षले न्याय नपाएसम्म अस्पताल सञ्चालन गर्न नदिने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्