प्राध्यापकद्वारा गरिएको झुटो प्रचारको धुलिखेल अस्पतालद्वारा खण्डन



मोतीराम तिमल्सिना/काभ्रे

धुलिखेल अस्पतालले काठमाडौ विश्वविद्यालयका प्राध्यापकहरूद्वारा गरिएको झुटो प्रचार भन्दै खण्डन गरेको छ । काठमाडौ विश्वविद्यालय स्कुल अफ मेडिकल साईन्सेजका डीन तथा सह डीनले अभ्रद्र ब्यवहार गरेको भन्दै प्राध्यापकहरूले अस्पताल जस्तो संवेशनशील क्षेत्रमा हड्ताल नगर्न गरिएको अनुरोधलाई एक तर्फी आरोप लगाएकाले गलत प्रचार नगर्न प्राध्यापकहरूलाई अनुरोध गरेको छ ।

‘२०७६ पौष १६ गते धुलिखेल अस्पताल परिसरमा रहेको काठमाडौ विश्वविद्यालय, स्कुल अफ मेडिकल साईन्सेज डीनको कार्यालय बन्द गर्ने उदेश्यका साथ आन्दोलनरत शिक्षक तथा कर्मचारीहरूले अस्पतालको प्रवेशद्धारबाट नै नाराबाजी जुलुस प्रर्दशन गरेको अवस्थामा अस्पतालमा कार्यरत डाक्टर तथा कर्मचारीहरूद्वारा आदरका साथ अनुरोध गर्दा, आन्दोलनरत पक्षले अस्पताल जस्तो संवेदनशील तथा प्राज्ञिक क्षेत्रमा गैह् ब्यवसायीक, अभद्र र उश्रृखंल ब्यवहार प्रस्तुत भएको थियो’–अस्पतालले जारी गरेको विज्ञप्तीमा भनिएको छ–‘उल्टै गलत प्रचार गरी भ्रम पैदा गरेकोमा अस्पताल तथा स्कुल परिवार खेद प्रकट गर्दछ ।’

अस्पताल जस्तो संवेदनशील एवं आवश्यक सेवा क्षेत्रमा होहल्ला तथा जुलुस गर्न नपाउने प्रचलित नेपालको कानूनमा रहेको ब्यवस्थाका बारेमा समेत अस्पतालले ध्यानार्कषण गराएको छ ।

‘प्रचलित कानून बमोजिम गरिने शान्तिपूर्ण गतिविधिमा समर्थन र सहयोग रहने नै छ, विश्वविद्यालयको नेतृत्व तहसँग विश्वविद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरूको मागहरू सम्बोधन गर्न र विश्वविद्यालय स्थापना गर्दा लिएका मुल्यमान्यता विपरित विद्यार्थीहरूको गुणस्तरीय शिक्षा प्राप्त गर्ने अधिकार हनन हुने गरी भैरहेका गतिविधि छिटो समाधान गर्न अनुरोध गर्दर्छाै’–अस्पतालले भनेको छ–‘स्कुल अफ मेडिकल साईन्सेजका डीन तथा सह डीनबाट आदरका साथ उक्त स्थानमा प्रदर्शन तथा अभद्र ब्यवहार नगर्न अनुरोध गरिएकोमा हातपात गरिएको भन्ने भ्रामक कुरामा विश्वास नगर्न अनुरोध गर्दर्छाै ।’

कुन पक्षबाट कस्तो कस्तो ब्यवहार प्रस्तुत भएको थियो भन्ने प्रमाणहरू सुरक्षित रहेको तथा सम्प्रेषण गरेको भिडियोबाट पनि बुझ्न सकिने अस्पतालले जानकारी दिएको छ ।

विश्वविद्यालयमा भएको आन्दोलन अझै जारी छ । प्राध्यापक तथा कर्मचारीहरूले लगाएको ताला अझै खुलेको छैन । जसका कारण पठनपाठन प्रभावित बनेको विश्वविद्यालयले जानकारी दिएको छ । आन्दोलनरत पक्षहरूले विश्वविद्यालयले गरिएको सम्झौता हुबहु कार्यान्वयन गर्न माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्