‘हामी मानवता बचाउँ’ संस्थाद्वारा मिर्गौला रोगीलाई सहयोग



दुवै मिर्गौला फेल भएका कैलालीका २१ वर्षे युवा हिम बहादुर वोहारालाई ४ लाख रूपैयाँ आर्थिक सहयोग गरि पुर्नजीवन दिन सफल भएको ‘हामी मानवता बचाउँ’ (ह्वि सेभ ह्युमानिटी) संस्था कोटेश्वरले शनिबार रामेछाप मन्थलीका ४२ वर्षिय अर्का मिर्गाैला रोगी रामबहादुर माझिलाई उपचार सहयोग हस्तान्तरण गरेको छ ।

सामुदायीक सेवा भवन श्रीकृष्ण कुञ्ज सहयोगीनगर कोटेश्वरमा शनिबार आयोजित संस्थाको प्रथम वार्षिक उत्सवको अवसरमा दुवै मिर्गाैला फेल भई डायलाईसिस गराईराखेका मिगौलारोग पीडित माझिलाई संस्थाको तर्फबाट २१ हजार र कार्यक्रममा सहभागी अतिथिहरूबाट संकलिक १२ हजार ३ सय गरि ३३ हजार ३ सय रूपैयाँ उपचार सहयोग हस्तान्तरण गरियो ।

स्काउट शिक्षक एवम् संचारकर्मी बलराम प्यासीको अनुरोधमा ‘हामी मानवता बचाउँ’ संस्थाका संस्थापक अध्यक्ष तथा संरक्षक धर्मगुरु राम लम्साल, पुर्व कानूनमन्त्री दीनवन्धु अर्याल तथा काठमाडौं महानगरपालिका ३२ की वडा सदस्य हिरादेवी पोखरेलले सो रकम बराबरको चेक र नगद मिर्गाैलारोग पीडित माझिलाई हस्तान्तरण गर्नुभएको थियो ।

रामेछापको मन्थली घर भई सुर्यकोट कोटेश्वरमा डेरा लिएर बस्दै आएका दुवै मिर्गौला फेल भएका माझि विगत ५ वर्षदेखि सहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा नियमित डायलाईसिस गराउँदै आएका छन् । उनको औषधि उपचारको लागि मासिक ७ देखि ८ हजार रूपैयाँ लाग्ने माझि बताउँछन ।

मुटुरोगी पत्नि र ३ छोराछोरी सहित डेरामा बस्दै आएका विरामी माझि जीविकोपार्जनको लागि सामाजिक युवा क्लव सुर्यकोट, कोटेश्वरले विक्रीवितरण गर्दै आएको खानेपानी वितरण केन्द्रमा मासिक तीन हजार ज्यालादारीमा काम गर्दै आएका छन् भने उनकी पत्नि दैनिक ज्यालादारी काम गर्छिन ।

विभिन्न दाताहरूको सहयोगमा उनको उपचार खर्च जुट्दै आएको छ भने अहिलेसम्म उनलाई एउटा मिर्गाैला दान दिने कोही भेटिएको छैन । मष्तिष्क मृत्यु भएका व्यक्तिबाट एकदिन मृगौला पाउने अपेक्षाका साथ प्रत्यारोपणको लागि मिर्गाैला पाउने आशामा उनी पनि अन्य मिर्गाैलारोगी जस्तै पालो कुरेर बसिराखेका छन् ।

शनिबार सम्पन्न ‘हामी मानवता बचाउँ’ संस्थाको प्रथम वार्षिकोत्सवमा पुर्वमन्त्री दीनवन्धु अर्यालदेखि महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरका प्रमुख, डिएसपि दुर्गाराज रेग्मी, कोटेश्वर प्रभागकी प्रमुख, प्रहरी निरीक्षक सुभद्रा वाइवा, काठमाडौं महानगरपालिका ३२ की वडा सदस्य हिरादेवी पोखरेल, कान्तिपुर दैनिकका वरिष्ठ सहसम्पादक भिम घिमिरे लगायतका आधा दर्जन वक्ताहरूले संस्थाले एकवर्षको अवधिमा साँच्चै नै मानवता दर्शाउने काम व्यवहारमै देखाएकोमा त्यसको खुलेर प्रशंसा गरे ।

कार्यक्रममा संस्थाका अध्यक्ष तथा संरक्षक धर्मगुरु राम लम्सालले संस्थाको १४ वटा उद्धेश्यबारे प्रकाश पार्दै संस्थाले सबैमा मानवताको भावना जगाउन मद्धत गर्ने बताए भने उपाध्यक्ष कृष्णप्रसाद अधिकारीले स्वागत तथा संस्थाकी चार्टड एकाउण्टेण्ट सजना पन्तले संस्थाको आर्थिक पाटोबारे प्रकाश पार्नुभयो ।

त्यस अवसरमा संस्थाका अध्यक्ष तथा संरक्षक धर्मगुरु लम्सालले अतिथिहरूलाई रुद्राक्षको माला र मायाको चिनो प्रदान गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्