सानैमा स्कूल छोडेका गाड्जी नेपालका दुर्गम गाउँमा स्कुल बनाउँदै



दुर्गाप्रसाद शर्मा, पर्वत।

दक्षिणी रुसको एउटा गाउँमा एकल आमाबाट जन्मिएका इमान गाड्जी सानैमा विद्यालय छाड्न बाध्य हुनुभयो। गर्भमा हुर्कंदै गर्दा बाबुले आमालाई छाडेपछि दुःख, अभाव र पीडा बोकेरै धर्तीमा पाईला टेक्नुभयो। बाल्यकालमा शिक्षा मात्रै होइन दैनिक रूपमा मिठो मसिनो खान र एक निद्रा राम्रोसँग निदाउन नपाए पनि १९ वर्ष नपुग्दै अर्बपति हुनुभएको छ।

शिक्षा, अभाव र पीडालाई संघर्षबाट जित्नुभएका गाड्जीले नेपालका दुर्गम गाउँहरूमा विद्यालय भवन निर्माणको अभियान थाल्नुभएको छ।एउटा सामान्य परिवारमा जन्मेर पनि संघर्षबाट सानैमा अर्बपति बन्न सफल गाड्जीले पर्वतको कुस्मा नगरपालिका–१४ आर्थरमा रहेको पञ्चकोशी माध्यामिक विद्यालयलगायतका विद्यालयमा भवन निर्माणमा सहयोग गर्नुभएको छ।

विद्यालयमा भवनको अभाव भएको बेला गाड्जीको ग्रो युयर एजेन्सीले पाहार ट्रस्ट पोखरामार्फत् सहयोग गर्नुभएको हो। उहाँको सहयोगमा पञ्चकोशी माविमा ६ कोठे भवन निर्माण भइरहेको छ भने छिमेकी बागलुङको ताराखोला गाउँपालिका–१ भुस्कातस्थित जनप्रेम माध्यामिक विद्यालयमा पनि ८ कोठे भवन बनिरहेको छ।

‘मैले जन्मदै अभाव र पीडामा बिताउँदा विद्यालय शिक्षा पूरा गर्नसमेत कठीन भयो,’ उहाँले भन्नुभयो– ‘अब मैले अरु धेरै बालबालिकालाई सहज शिक्षा दिनका लागि सहयोग अभियान चलाउँछु।’नेपालका दुर्गम गाउँहरूमा विद्यालय भवन बनाउने अभियान थाल्नुभएका गाड्जीले यस वर्ष मात्रै १ करोड ५० लाख रुपियाँ खर्च गरिसक्नुभएको छ।

पाहार ट्रस्टमार्फत् अन्य विद्यालयमा पनि भवन बनाउनका लागि सहयोग गर्न गाड्जी इच्छुक रहेकाले छलफल भइरहेको पाहार ट्रस्ट नेपालका अध्यक्ष चन्द्रबहादुर गुरुङले बताउनुभयो। ‘अहिले दुईवटा विद्यालय भवन बनिरहेका छन्, उहाँले भन्नुभयो– ‘अन्य विद्यालय भवन बनाउनका लागि छलफल भइरहेको छ, छिट्टै सहमति हुने विश्वास छ।’

१९ वर्षे अर्बपति इमान गाड्जीको जीवन धेरै संघर्षमा बितेको छ। रुसमा जन्मनुभएका गाड्जी जन्मनुअगाडि नै उहाँको जड्याह बुवाले आमालाई छोडिसकेका थिए, त्यसले गर्दा उहाँको बाल्यकाल दुःखमा बितेको थियो। बाल्यकाल हजुरआमाको काखमा नै बित्यो। उहाँ करिब १२ वर्षको हुँदा उहाँकी आमाले एक बेलायती पुरुषसंग मस्कोमा विवाह गरेपछि उहाँ पनि आमासंगै बेलायतको लण्डनमा बस्न थाल्नुभएको थियो।

एउटा गाउँको साधारण घर, जहाँ चर्पी गर्न पनि घरबाहिर आउनुपर्ने अवस्थामा बसिरहनुभएका इमान र उहाँकी आमा एक्कासि लण्डनको आधुनिक सुविधा सम्पन्न घरमा बस्ने अवसर उहाँको सौतेलु बुवाबाट मिलेको थियो।

त्यति मात्र हैन इमानले लन्डनको एउटा राम्रो बोर्डिङ स्कूलमा पनि पढ्ने मौका पाउनुभयो तर यो अवस्था धेरै समय रहेन। इमान १४ वर्षको हुँदा, उहाँकी आमा र सौतेलु बुवाको बीचमा वैवाहिक सम्बन्ध टुट्यो अनि फेरि इमान र उहाँकी आमाकी आमाका पुरानै दुःखका दिन शुरु भए। इमानलाई स्कूलको पैसा तिर्न गाह्रो भएपछि शेयर मार्केटमा काम गरेको तर धेरै लगानी डुबे पनि हतोत्साहित नभई अगाडि बढेको बताउनुभयो।

एउटा कम्पनीको विज्ञापन गर्ने जिम्मा पाएपछि उहाँको भाग्य र भविष्य बदलियो। कामसंगै विद्यालय छाड्नुभएका गाड्जीले वार्षिक १० लाख पाउन्डभन्दा माथि कमाउँदै आउनुभएको छ।एउटा सामान्य परिवारमा जन्मे पनि इमान गाड्जीले १९ वर्ष पुग्दा आफूले विद्यालय छाडेको पीडाले शिक्षा क्षेत्रमा केही सहयोग गर्न मन लागेको बताउनुहुन्छ।

‘बाध्यताले मैले विद्यालय छाडे पनि विश्वका कुनाकुनामा पुगेर अरु बाबुनानीले शिक्षा लिन कुनै असहज नहोस् भनेर थोरै भए पनि सहयोग गर्न चाहन्छु’ –उहाँले भन्नुभयो। पाहार ट्रस्ट नेपालमार्फत् इमान र उहाँको टिम पहिलोपटक नेपाल आएको अवस्थामा पञ्चकोशी माध्यामिक विद्यालय आर्थरले भव्य स्वागत गरेको छ। विद्यार्थी, अभिभावकले बाजागाजा, फूलमालासहित स्वागत गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्