भ्रमण वर्षको माहोल र सार्थकता



विनोद नेपाल

अनुपम प्राकृतिक सौन्दर्य, प्रचूर जैविक विविधता, बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवं सांस्कृतिक सम्पदाले भरिपूर्ण नेपाल विश्व पर्यटन मानचित्रमा विश्वकै एक प्रमुख प्रर्यटकीय गन्तव्यस्थलको रूपमा सुपरिचित छ।

विज्ञान, प्रविधि र सञ्चार प्रणालीमा भएको अभूतपूर्व विकासले सम्पूर्ण विश्व नै एउटा गाउँमा परिणत हुँदै गएको तथा मानिसहरूमा भ्रमण गर्ने प्रवृत्तिसमेत बढ्दै गएको सन्दर्भमा नेपालले यस्तो अवसरको फाइदा उठाउँदै पर्यटकहरूलाई आकर्षित गरी लाभ लिन सक्ने प्रचूर सम्भावना छ।

आन्तरिक पर्यटन लगभग मुलुकभर फैलिएको भए पनि विदेशी पर्यटकलाई पर–परसम्म पुर्याउन सकिएको छैन। हाम्रा अमूल्य सम्पदासम्म उनीहरूको पहुँच पुग्न सकेको छैन। त्यस्ता स्थानको प्रचारप्रसार र अनि पूर्वाधार निर्माण गर्न सकेमा पर्यटकको बसाइ अवधि स्वतः लम्बिनेछ। यस सन्दर्भमा पहिलो चरणमा गतवर्ष पहिचान गरेका १०० प्रमुख पर्यटकीय गन्तव्यको पूर्वाधार विकासलाई प्राथमिकतामा राख्नुपर्छ।

नेपालको तुलनात्मक र प्रतिस्पर्धात्मक लाभका दृष्टिले मुलुकको आर्थिक विकासको प्रमुख आधार रहेको पर्यटन क्षेत्रले विदेशी मुद्रा आर्जन, रोजगरी, सिर्जना, आर्थिक क्रियाकलाप अभिवृद्धि एवं समग्र आर्थिक विकास र समुन्नतिमा टेवा पुर्याउँदै आएको छ।

देशमा रहेको सम्पूर्ण मूर्त–अमूर्त सांस्कृतिक सम्पदाहरूको संरक्षण–विकास गरी तिनको आर्थिक उपयोग गर्न तथा पर्यटनलाई मुलुकको आर्थिक आधारको रूपमा ग्रामीण तहसम्म विस्तार गरी यसको प्रतिफल जनजीवनको तल्लो तहसम्म पुर्याउन संस्कृति र पर्यटन क्षेत्रको विविधीकरण, विस्तार एवं प्रवद्र्धन गरिनु आवश्यक छ।

पर्यटन क्षेत्रको विकास र विस्तारसहित आन्तरिक र बाह्य हवाई यातायात विकास गरी थप सुरक्षित, स्तरीय, भरपर्दो बनाउनु आवश्यक छ। यिनै सम्भावना एवं नेपालमा विदेशी पर्यटकहरूको आगमनको शुरूवातसँगै पर्यटन क्षेत्रका कार्यक्रमहरूलाई व्यवस्थित ढंगले अगाडि बढाउन सर्वप्रथम वि.सं. २०१६ मा पर्यटन बोर्डको स्थापना गरिएको थियो।

२०१८ सालमा पर्यटन विभागको गठन भएको थियो। सन् १९७२ मै पर्यटन गुरुयोजना तयार भएको थियो भने २०३४ सालमा पर्यटन मन्त्रालयको गठन भयो। हाल संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय छ भने पर्यटन उद्योगको व्यवस्थापन, पर्यटन पूर्वाधार विकास, पर्यटकको सुरक्षालगायतका कार्यहरू गर्न पर्यटन विभाग क्रियाशील छ।

आवश्यक संयन्त्रहरूको क्रियाशीलता तथा प्रचूर सम्भावनाका बाबजुद विविध कारणले गर्दा हामीले यस क्षेत्रबाट अपेक्षित र वाञ्छित लाभ लिन सकिरहेका छैनौं। स्मरणीय छ, अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान केवल ३ प्रतिशत मात्र छ।

विदेशीहरू पर्यटकको रूपमा नेपाल आउन प्रारम्भ गरेको निकै अघिदेखि हो। तर बहुदलीय प्रजातन्त्रको पुनःस्थापना तथा नेपालले खुला बजारको नीति अंगालेसँगै पर्यटन क्षेत्रले गति लिन थालेको हो। तर केही वर्षपछि नै प्रारम्भ भएको द्वन्द्वले हाम्रो पर्यटन क्षेत्रलाई नराम्ररी प्रभावित गर्यो।

असुरक्षाका कारण पर्यटकको संख्यामा निरन्तर ह्रास आउन थाल्यो।व्यवसायीहरू विस्थापित हुन पुगे। तर शान्ति सम्झौता भई हिंसात्मक द्वन्द्वको अन्त्य भएसँगै फेरि यस क्षेत्रमा सुधार आउन थाल्यो र क्रमशः उत्साहपूर्ण वातावरण बन्न थाल्यो। यसै बीच वि.सं. २०७२ सालको महाभूकम्पले फेरि एकपटक पर्यटन क्षेत्रलाई प्रभावित पार्यो।

हाम्रा सम्पदाहरूमा क्षति पुगेको कारण पर्यटक आगमन प्रभावित भयो। तर सम्पदाहरूको पुनर्निर्माणले गति लिएको, राजनीतिक स्थिरता कायम भएको र नीतिगत व्यवस्थाहरूका कारणसमेत पछिल्लो समय नेपालको पर्यटन क्षेत्रले नयाँ गति लिन थालेको छ।

यसैको परिणामस्वरूप अघिल्लो वर्ष कीर्तिमानी पर्यटक आगमन भएको थियो, जुन तथ्यांकले सकारात्मकताको पुष्टि गर्नुको साथै हामीलाई अत्यन्त आशावादी बनाएको छ।

यति मात्र होइन, एकपछि अर्को गर्दै विभिन्न अन्तर्राष्ट्रिय संस्थाले नेपाललाई पर्यटकीय गन्तव्यका दृष्टिले उच्च स्तरमा र घुम्नै पर्ने मुलुकको सूचीमा उच्च श्रेणीमा राखेको अवस्थाले पनि हाम्रो पर्यटन क्षेत्र सम्भावनायुक्त छ भन्ने पुष्टि हुन्छ।

विगत वर्षमा लोन्ली प्लानेट तथा ट्रिप एड्भाइजर र हालै मात्र फोब्र्सले आगामी दशकको शुरूवात अर्थात् सन् २०२० मा घुम्नै पर्ने १० वटा देशको सूचीमा पहिलो स्थानमा नेपाललाई राख्नु हाम्रा लागि अत्यन्त खुशीको कुरा हो।

पर्यटनलाई बदलिँदो विश्व परिवेश र पर्यटकको रुचिमा आएको परिवर्तनअनुरूप ढाल्न सकेमा त्यो दिगो हुन सक्छ र त्यसबाट अधिक लाभ लिन सकिन्छ।

यस क्रममा यहाँ प्राकृतिक दृश्यावलोकन, पर्वतारोहण, सम्पदास्थलको अवलोकन, चाडपर्व र संस्कृति तथा परम्पराका साथै सम्मेलन पर्यटन, खेलकुद पर्यटन तथा चिकित्सा पर्यटनको समेत सम्भाव्यता रहेको कुरामा दुईमत हुन सक्दैन।

पूर्वाधारहरूको निर्माण गर्न सकेमा अन्तर्राष्ट्रिय र क्षेत्रीय सम्मेलनहरूको आयोजना गर्न सकिनेछ। खेलकुद, पर्यापर्यटनको सम्भावना पनि उत्तिकै छ। यसै गरी प्राकृतिक सुन्दरता र हावापानीका दृष्टिले नेपाल चिकित्सा पर्यटनको पनि सम्भाव्यता भएको मुलुक हो। त्यसतर्फ पनि हाम्रो ध्यान जानु आवश्यक छ।

भौगोलिक दृष्टिले नेपाल हिमाली मुलुक हो। यसैले यसप्रति संसारको आकर्षण छ। प्राकृतिक दृश्यावलोकन र पदयात्राका लागि विदेशीहरू यहाँ आउँछन्। यहाँ साहसिक पर्यटनको लागि अवसर छ भन्ने मान्यता छ। तर त्यति मात्र नभई हाम्रा सम्पदाहरू पनि अर्का आकर्षण हुन्।

हाम्रा मठमन्दिर, धार्मिक, सांस्कृतिक परम्परा अनि पहाड, नदीनाला, तालतलैया आदि अन्य आकर्षण हुन्। गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै पवित्र तीर्थस्थल हो। हाम्रो जीवनशैली, वनजंगल जीवजन्तुले पनि पर्यटकलाई आकर्षित गर्छन्।

तर पनि हाम्रो पर्यटन काठमाडौं, पोखरा, चितवन र लुम्बिनीमा केन्द्रित छ। आन्तरिक पर्यटन लगभग मुलुकभर फैलिएको भए पनि विदेशी पर्यटकलाई पर–परसम्म पुर्याउन सकिएको छैन। हाम्रा अमूल्य सम्पदासम्म उनीहरूको पहुँच पुग्न सकेको छैन।

त्यस्ता स्थानको प्रचारप्रसार र अनि पूर्वाधार निर्माण गर्न सकेमा पर्यटकको बसाइ अवधि स्वतः लम्बिनेछ। यस सन्दर्भमा पहिलो चरणमा गतवर्ष पहिचान गरेका १०० प्रमुख पर्यटकीय गन्तव्यको पूर्वाधार विकासलाई प्राथमिकतामा राख्नुपर्छ।

यसै सन्दर्भमा सन् २०२० लाई नेपाल भ्रमण वर्षको रूपमा मनाउने निर्णय र सोको शुभारम्भ हुनु हामी सबैका लागि खुशीको कुरा हो। जनवरी १ देखि प्रारम्भ ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सातवटै प्रदेशले उत्तिकै प्राथमिकता दिने भएका छन्।

पर्यटन मन्त्रीका अनुसार २०२० लाई मात्र लक्षित गरिएको कार्यक्रम नभई पर्यटकलाई यसपछि निरन्तर ल्याउने गरी सरकारले योजना बनाएको छ। गुणस्तरीय सेवा र जनशक्तिका लागि आवश्यक तालिम दिने योजना रहेको छ।

२० लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको भ्रमण वर्ष सरकारको मात्र नभई सबै जनताको भएकाले सबैबाट जिम्मेवार भूमिका निर्वाह हुनका लागि सरकारले आग्रह गरेको छ। पर्यटनलाई अर्थतन्त्रको महत्वपूर्ण क्षेत्रका रूपमा स्थापित गर्न २०२० लाई प्रस्थान विन्दुका रूपमा सरकारले लिएको संस्कृति, पर्यटन तथा नगारिक उड्डयनमन्त्री योगेश भट्टराईले बताएका छन्।

अबको एक दशक नै पर्यटन दशकका रूपमा अभियान सञ्चालन गर्न नीतिगत व्यवस्थाको तयारी भइरहेको पनि उनको भनाइ छ।
पर्यटक आकर्षणका लागि गन्तव्य र पूर्वाधार मात्र भएर हुँदैन, भरपर्दो हवाई तथा स्थल यातायात सेवा आवश्यक छ। गुणस्तरीय पर्यटकका लागि पूर्वाधारहरूको आवश्यकता पर्छ।

यसतर्फ पनि सार्थक प्रयास हुनुपर्छ। हामीले गुणस्तरीय पर्यटकलाई आकर्षित गर्नुपर्छ। पर्यटकको सुरक्षा सुनिश्चितता हुनुपर्छ। आएका पर्यटकलाई भुल्याउने तथा बसाइ अवधि लम्ब्याउनेतर्फ ध्यान दिनुपर्छ। गाउँ–गाउँका होमस्टेहरूतर्फ पर्यटकलाई आकर्षित गर्नुपर्छ।

हाम्रो खानपान, रहनसहन आदिका साथै हाम्रा जातीय, सांस्कृतिक र धार्मिक सम्पदाहरूसँग निकट पुर्याउनुपर्छ, ती हाम्रा पहिचान हुन्, तिनको संरक्षण गर्नुपर्छ। पर्यटक कुन क्षेत्रमा आकर्षित छन्, त्यसको पहिचान गरी त्यस क्षेत्रको आकर्षण बढाउने र थप आकर्षणका क्षेत्रहरू पहिचान गरी विकास गर्दै जाने रणनीति आवश्यक छ।

पर्यटकको बसाइ अवधि लम्ब्याउँदा र गुणस्तरीय पर्यटक भित्र्याउँदा हामीलाई आर्थिक दृष्टिले लाभ हुन्छ। यसो गर्दा होटल, व्यापार, मजदुर, सबैलाई र अन्ततः राज्यलाई नै फाइदा हुन्छ। निश्चय नै पर्यटन नेपालको अत्यधिक सम्भावना भएको क्षेत्र हो।

यस क्षेत्रलाई अगाडि बढाउँदा नेपालीको जीवनस्तरमा सकारात्मक प्रभाव पर्छ। रोजगारी, आयआर्जन आदिमार्फत यसको लाभ सबै तहमा पुग्नेछ। तर यसका लागि सरकार, निजी क्षेत्र र आमजनताले समेत आ–आफ्नो तहबाट जिम्मेवार भूमिका खेल्नुपर्छ।

सरकारले पाँच वर्षमा कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान हालको ३ बाट १० प्रतिशत पुर्याउने लक्ष्य लिएको छ। यो लक्ष्य धेरै कठिन छैन। यसका लागि विदेशस्थित हाम्रा कूटनीतिक नियोगको प्रयास र स्वदेशबाटै पनि केही प्रयास हुनुपर्छ।

यसै गरी विदेशमा रहेका नेपालीहरूले पनि आफूलाई जिम्मेवार ढंगमा प्रस्तुत गर्नुपर्छ। सबैको प्रयास भए भ्रमण वर्षको २० लाखको संख्या ठूलो हुनेछैन भने त्यसपछि पनि त्यो संख्यामा क्रमशः वृद्धि गर्दै लैजान असम्भव हुनेछैन।

भ्रमण वर्ष नेपालीका लागि एउटा उत्सव नै हो। यो राष्ट्रको पहिचान र प्रतिष्ठासँग समेत जोडिएको विषय पनि हो। यसैले भ्रमण वर्षले सबैलाई उत्साहित गराएको छ तर सँगसँगै भ्रमण वर्षलाई सफल बनाउनु पनि समस्त नेपालीको साझा दायित्व हो।

यसका लागि सबैले आ–आफ्नो तहबाट जिम्मेवार भूमिका निर्वाह गर्नुपर्छ। मुलुकका बारे नकारात्मक नभई सकारात्मक सूचनाहरू प्रवाह गर्नुपर्छ। विदेशीलाई नेपाल जाऊँ–जाऊँ लाग्ने बनाउनुपर्छ। यसमा सबैको साथ र सहयोग आवश्यक छ। यसो हुन सकेमा नै भ्रमण वर्षको सार्थकता पनि रहनेछ।

 

प्रतिक्रिया दिनुहोस्