बडीकेदारमा भाकल माग्न आउनेको संख्या अधिक



विमल विष्ट

अपी र सैपालका सेताम्मे चुचुरा। कर्णाली र सेती नदीको दोभानबाट सुसेल्दै आउने सिरसिरे बतास । भारतको उत्तरप्रदेशका समथर फाँट देखिने अग्लो लेकाली क्षेत्र। फाँट र चुचुरा नियाल्दा संसारै बिर्सेको भान हुने त्यो ठाउँ हो, बडीकेदार।

अटुट श्रद्धा र मनोकामना बोकेर वर्षेनी भारत र तराईका जिल्लाबाट तीर्थालु बडीकेदार मेला पुग्ने गर्दछन्। बडीकेदार गाउँपालिका–५ स्थित बडीकेदारमा फागुनमा महाशिवरात्रि र कात्तिक बैकुण्ठ चतुर्दशीमा हजारौं तीर्थालुको भीड लाग्ने गरेको छ।

‘महाशिवरात्रिभन्दा कात्तिकको वैकुण्ठ चतुर्दशीमा भव्य मेला लाग्छ।’ –बडीकेदार मेला व्यवस्थापन समिति अध्यक्ष टोपबहादुर चन्दले बताउनुभयो।

समुद्री सतहदेखि २ हजार ५ सय मिटर उचाइमा रहेको बडीकेदार दक्षिण डोटीको बडीकेदार गाउँपालिका र बोगटान गाउँपालिकाको दोसाँधमा पर्छ।

उहाँले भन्नुभयो– ‘त्रयोदशीको राति र चतुर्दशीको दिउँसो बडीकेदारको दर्शन गर्न भारत र तराईबाट थारू समुदायको विशेष आवत–जावत हुन्छ।’

तराईबाट थारू समुदाय सात दिन हिँडेर बडीकेदारको दर्शन गर्न आउँछन्। लेकाली जंगलको बीच भागमा बडीकेदारको शिला पुज्ने गरिन्छ।

मनमोहक बडीकेदार

गाईबाच्छे डाँडामा दिउँसोको पारिलो घाममा बदाम खानेको भीड लाग्छ । बडीकेदारको महिमाले ताजा श्वास र आँखाले विचित्र संसार हेर्ने अवसर जुराएको भारतको बरेलीबाट दर्शनका लागि ७औं पटक आएका रामबाबु कुरेसीले बताउनुभयो ।

उहाँ केदारबाबाका चार धाममध्ये डोटीको बडीकेदार प्राकृतिक सुन्दरतासँगै धार्मिकरूपमा शक्तिशाली भएकाले आफू वर्षेनी दर्शनका लागि आउने गरेको बताउनुहुन्छ। समुद्री सतहदेखि २ हजार ५ सय मिटर उचाइमा रहेको बडीकेदार दक्षिण डोटीको बडीकेदार गाउँपालिका र बोगटान गाउँपालिकाको दोसाँधमा पर्छ।

बडीकेदारको अग्लो डाँडामा मनमोहक दृश्य अवलोकन गर्दा तनाव र प्रगतिका नाममा गरिने दौडधुप सबै बिर्सेर नरमाउने बिरलै भएको भैरव साउदले बताउनुभयो।

सिरसिरे हावासँगै सधैं उही र उस्तै प्रकृतिको वातावरण रहने बडीकेदारको सुन्दरता मनोरम रहेको बडीकेदार गाउँपालिका ५ का वडाध्यक्ष बुद्धिसागर बिनाडीले बताउनुभयो। उहाँले भन्नुभयो– ‘बडीकेदारको प्रकृति र वातावरण कहिल्यै फरक भएन सधैं एकैनासको हुने भएको पनि यो मनमोहक छ।’

मनोकामना पूरा हुने विश्वास

सन्तान, जागिर र पदोन्नतिको वरदान माग्न दर्शनार्थी बडीकेदार पुग्ने गर्छन्। मनले इच्छाएको पूरा हुने विश्वासले तराईका आदिवासी थारू समुदाय र भारतको उत्तर प्रदेशका शहर लखिमपुर, पलिया, बरेली, साहजनपुर, खटिमा र सिँगाहीबाट वर्षेनी कात्तिक वैकुण्ठ चतुर्दशीमा हजारौं तीर्थालु आउने गरेको मुख्य पुजारी सिद्धराज बिनाडीले बताउनुभयो ।

‘शिलाको दर्शन र तिलकलाई प्रसादका रूपमा लैजान हजारौंको भक्तिभाव झल्कन्छ’, पुजारी बिनाडीले भन्नुभयो, ‘यो परम्परा वर्षांैदेखि चल्दै आएको भए पनि हामीले धार्मिक आस्थाका रूपमा मात्र लियौं, पछिल्लो समय पर्यटनसँग जोडिन लागेको छ ।’

केदारले सन्तान दिएको भन्दै बालबच्चासहित दर्शन गर्न आउने सयौं दर्शनार्थी त्यहाँ भेट्न सकिन्छ । १३ वर्षसम्म सन्तान नहुँदा कैलालीको भजनीबाट ३ वर्षअघि दर्शन गर्न आएकी ३७ वर्षीया रामकली चौधरी यो वर्ष डेढ वर्षीय छोरो बोकेर आउनुभएको थियो।

उहाँले हरेक वर्ष बडीकेदार आउने प्रतिबद्धतासमेत गर्नुभयो। त्यस्तै भारतको सिंगाईबाट ११ वर्षदेखि नियमितरूपमा दर्शनका लागि आउँदै गर्नुभएका ईश्वरकेश गुप्ताले आफ्ना अधिक मनोकामना पूरा भएको बताउनुभयो। सन्तानदेखि छोराको पढाइ र फस्टाउँदो व्यापार बडीकेदारकै आशीर्वादले भएको उहाँ विश्वास गर्नुहुन्छ।

बडीकेदारको महिमा

किंवदन्तीअनुसार परापूर्वकालमा स्थानीय गाउँको एउटा गाई लेकमा चर्न आउने र दिनभर बडीकेदार शिलामा दूध चढाएर फर्कन्थ्यो। घरमा गाईले दूध नदिने भएकाले गोठालोले चियो गर्दा शिला भएको ठाउँमा दूध दिएको देखेपछि लाना गाउँ वरपरका ब्राह्मण आएर पूजाआजा गर्न थालेका हुन्।

त्यतिन्जेलसम्म सामान्य पूजाआजा हुने गरेको थियो। कात्तिक वैकुण्ठ चतुर्दशीका दिन एकपटक स्थानीय गोठाला लेकमा निगालो काट्न जाँदा साथीभाइबाट छुट्टिए। उनी एक्लै रात बिताउन बाध्य भए।

मध्यरातमा देवीदेवताहरू बडीकेदारको शिलामा आगो बालेर नाचगान गर्दै शिवको पूजा गर्न लागेको गोठालाले प्रत्यक्ष देखे। उनले देवीदेवताहरूले मन्त्र उच्चारण गरेको, भक्तिभाव गरेको सबैकुरा टिपेर स्थानीयलाई जानकारी गराए।

त्यही बेलादेखि कात्तिक चतुर्दर्शीका बेला बडीकेदारमा पूजाआजा हुने गरेको स्थानीयबासी बताउँछन्। अहिले गोठालाले देखेको देवीदेवताको नाचगान र भक्ति भजनझैं स्थानीय गाउँहरूबाट धामीझाँक्री, भराणीहरू बयाल ल्याएर बडीकेदारमा दैवीशक्ति देखाउने गर्छन्।

कसरी पुग्ने बडीकेदार ?

दिपायल–चवराचौतारा–सिमचौरसम्म जिप सेवा सञ्चालित छ। त्यहाँबाट करिब चार/पाँच घन्टा पैदल हिँडेर बडीकेदार पुग्न सकिन्छ। त्यस्तै कैलालीको धनगढीबाट जान चाहनेका लागि अत्तरिया–सहजपुर–बीपीनगर हुँदै डोटीको अत्तरकाँडासम्म १ सय ४ किलोमिटर बसको यात्रा गर्नुपर्छ। धनगढी बसपार्क र अत्तरियादेखि दैनिक चारवटा बस जान्छन्।

अत्तरकाँडाबाट तीन घन्टाको पैदलयात्रापछि बडीकेदार पुग्न सकिन्छ। बडीकेदार बोगटान क्षेत्रको मात्रै नभई तराईका आदिवासी थारू समुदाय र भारतको उत्तर प्रदेशका नागरिकको आस्थाको केन्द्र मानिएको छ। केदारकै नामबाट अहिले त्यहाँ बडीकेदार गाउँपालिकासमेत राखिएको छ।

यो मेलालाई अपासी सद्भावको मेलाका रूपमा पनि मानिने गरेको स्थानीयबासी गणेश बमले बताउनुभयो। उहाँले भन्नुभयो– ‘छिमेकी मुलुक भारतसहित नेपाली दाजुभाइसँंग भेटघाट र जमघट हुने भएकाले यो मेला आपसी माया ममता साट्ने केन्द्र भएको छ।’

भौतिक पूर्वाधार, सडकको स्तरोन्नति भएमा यो स्थानमा स्वदेशी तथा विदेशी पर्यटकलाई बडीकेदार भित्याउन सकिने बोगटान फुड्सिल गाउँपालिकाका स्थानीयबासी खड्कबहादुर बोहराले बताउनुभयो।

बडीकेदारको अवस्थाका बारेमा विभिन्न सञ्चारमाध्यमले महत्वका साथ प्रचार–प्रसार तथा स्थानीय तह, नेकपाबाट निर्वाचित सांसद प्रेमबहादुर आलेमगरको पहलमा केही भौतिक पूर्वाधार निर्माण भएकाले पछिल्लो समय भक्तजनको संख्या उल्लेख्यरूपमा बढेको स्थानीयबासी बताउँछन्।

बडीकेदारको विकासका लागि गुरुयोजना बनाएर काम गर्न सके बडीकेदार समग्र सुदूरपश्चिम प्रदेशसहित देशकै प्रमुख पर्यटकीय र धार्मिकस्थलका रूपमा स्थापित हुन सक्ने बडीकेदार गाउँपालिका–१ का रोजबहादुर कलेलको भनाइ छ।

शिवजीको प्रतिमूर्तिका रूपमा रहेको बडीकेदार शिला नजिकै बडेमानको ढुंगामा गाई र बाच्छाको मूर्तिसमेत रहेको छ। मूर्ति रहेको स्थान भौगोलिकरूपमा विकट अर्थात् भीरको बीचमा रहेको छ।

मेलाको दिन बडीकेदार थाननजिकै भएको उक्त गाईबाच्छा ढुंगाको डाँडामा दिउँसोको पारिलो घाममा बदाम खानेको भीड लाग्छ। बडीकेदारमा शुक्ल त्रियोदशीको राति मेला लागेर वैकुण्ठ चतुर्दशीको बिहान पूजाआजासहित जात्रा सकिने मेला व्यवस्थापन समितिले जनाएको छ। बडीकेदारको महिमाले ताजा श्वास र आँखाले विचित्र संसार हेर्ने अवसर मिल्छ।

 

प्रतिक्रिया दिनुहोस्