स्वस्थानीको तयारी



?

स्वस्थानी व्रत नेपाली महिलाले गर्ने कठिन व्रतको पर्व हो। यो पर्व पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना चल्दछ। यो व्रतमा भगवान् शिवको पूजाआराधना गरिन्छ।

सत्य युगमा भगवान् विष्णुको सल्लाहअनुसार हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउन स्वस्थानी व्रत बसेको र चिताएको पूरा भएको विश्वासमा स्वस्थानी व्रतकथा र माघ स्नानको प्रचलन रहेको विश्वास गरिन्छ।

विशेष गरी महिला मात्र व्रतालु हुने यो व्रत बस्नाले व्रतकथामा वर्णन गरिएजस्तै सुख, शान्ति, समृद्धि मिल्नुका साथै रोगव्याध पनि नष्ट हुने विश्वास गरिन्छ।

व्रतका प्रभावले शिवपार्वतीको विवाह भएको कुरा पौराणिक धर्म ग्रन्थहरूमा पनि चर्चा भएका कारण परम्परागतरूपमा उक्त व्रतकथा प्रचलित हुँदै आएको भनाइ छ।

धार्मिक विश्वास

स्वस्थानी व्रतकथामा उल्लेख भएअनुसार महादेवकी पत्नी सतीदेवीले आफ्ना पतिलाई बाबुले गरेको अपमान सहन नसकी यज्ञकुण्डमा प्राण त्यागेपछि हिमालय र मेनकाकी छोरी पार्वतीका रूपमा उनको जन्म भएको मान्निछ।

पार्वती सानै उमेरदेखि नै महादेव पति पाउने कामना गरिरहन्थिन्। विवाहयोग्य भएपछि पिता हिमालयले भगवान् विष्णुलाई कन्यादान गरिदिने कुरा थाहा पाएपछि पार्वती भागेर अनकन्टार वनमा गई महादेवको ध्यान गर्न लागिन्।

यसबाट खुसी भएर महादेवले आफूलाई पतिका रूपमा पाउन विष्णुुले भनेअनुसार गर्न सल्लाह दिए। विष्णुुले महादेव पति पाउन स्वस्थानी व्रत गर्ने सल्लाह दिएपछि पार्वतीले विधिपूर्वक एक महिनासम्म स्वस्थानीको व्रत गरेकामा उनले महादेव पति पाएको धर्मग्रन्थमा उल्लेख छ।

व्रतका प्रभावले शिवपार्वतीको विवाह भएको कुरा पौराणिक धर्म ग्रन्थहरूमा पनि चर्चा भएका कारण परम्परागतरूपमा उक्त व्रतकथा प्रचलित हुँदै आएको भनाइ छ।

व्रतको नियम

पौष शुक्ल चतुर्दशीको दिन हातगोडाका नङ काटेर स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको शुरुआत गर्ने गरिन्छ। बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ।बेलुकी स्कन्द पुराणको केदारखण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रतकथा सुन्ने सुनाउने परम्परा छ।

काठमाडौंको साँखुस्थित शालीनदी, पशुपति, गौरीघाट, गुहेश्वरी, सतीदेवीका अंग पतन भएका विभिन्न धार्मिकस्थल तथा महादेव मन्दिरमा श्रद्धालुको घुइँचो लाग्ने गर्दछ। ती स्थानहरूमा व्रतको अवधिभर मेला पनि लाग्ने गर्दछ।

नेपालमा धेरै श्रद्धा र विश्वासका साथ विशेषतः महिलाले गर्ने व्रतमध्येको एक श्रीस्वस्थानी माताको व्रत हो। यो व्रतको भारतलगायत अन्य हिन्दू बहुल राष्ट्रमा त्यति धैरै लोकप्रिय नभए पनि नेपालमा भने धेरै लोकप्रिय छ।

तराईको छटपूजा र पहाडको श्रीस्वस्थानी व्रत नेपालको संस्कृतिको एक अंग हो। श्रीस्वस्थानी माताको व्रतकथामा उल्लेख गरिएकी शालीनदी र श्लेशमान्तक वन काठमाडौंमा छ। यो व्रतकथामा उल्लेखित विषय वस्तु र घटना पनि नैपालकै सेरोफेरोमा घटेको थियो भनी स्कन्द पुराणमा उल्लेख गरेको पाइन्छ।

सत्ययुगमा यो व्रत सर्वप्रथम हिमालय पुत्री पार्वतीले महादेव पति पाउँ भनी गर्नुभएको थियो।प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमाका दिनदेखि यस व्रतको शुरुआत हुन्छ।

पूर्णिमाको अघिल्लो दिनअर्थात् चतुर्दशीको दिनदेखि नै दुवै हातखुट्टाका नङ्हरू काटी, पवित्र भएर हविष्य (दूध दही, जौ, गौ चामल, तिल घ्यू, सख्खर इत्यादि सात्विक पदार्थ) भोजन ग्रहण गरी श्रीस्वस्थानी माताको स्थापना–पूजा गर्ने ठाउँ को सरसफाइ लिपपोत इत्यादि गर्नुपर्दछ।

व्रत गर्नेले त्यसै दिनदेखि व्रत नसकिँदासम्म पलङ र खाटको पनि त्याग गरी भूमिमा शयन गर्नुपर्दछ।एकछाक मात्र सात्विक भोजन ग्रहण गर्नुपर्दछ। व्रत नसकिँदासम्म व्रतालु पुरुष भए रौं काट्न पनि हुँदैन।

त्यसै दिनदेखि एक महिनासम्म कसैसँग झगडा नगर्नु, दुर्वचन नबोल्नु, झुटो नबोल्नु, क्रोध नगर्नु, कसैप्रति दुर्भाव नराख्नु, चोरी नगर्नु, ब्रह्माचर्यको पालन गर्नु, शुद्ध धोएका वस्त्र मात्रै लगाउनु, शौच गएपछि जलको प्रयोगले सफाइ गर्नु, सात्विक भाव मात्र हृदयमा राख्नु, व्रतका अनिवार्य नियमहरू हुन्।

पूर्णिमाका दिन बिहानै उठी नदीमा स्नान (नदी नभए घरैमा) गरी शुद्ध वस्त्र पहिरिएर पाएसम्म कुशको आसन नपाएमा ऊनको त्यो पनि नपाए कम्मलको आसनमा बसेर नित्यकर्म गरिसकेपछि पूजा गर्ने स्थानमा तामाको लोटामा पञ्चगव्य (गोबर, गोमुत्र, दूध, दही र घ्यू) का साथै तिल, सर्सी र जौ हाली वेद मन्त्रले अभिमन्त्रित गरेर अभिषेक बनाई अपवित्रः पवित्रो वा भन्ने मन्त्रले सम्पूर्ण पूजा सामग्री र आफूमाथि छर्कनुपर्दछ।

त्यसपछि त्यसै अभिषे बाट ‘मैले आजसम्म मन, वचन र कर्मले जानेर वा नजानेर गरेका सम्पूर्ण पाप नास भई मलाई यस लोकमा सुख–सम्पत्ति र अर्को लोकमा शिवलोक प्राप्ति होस् भन्ने कामनासहित एक महिनासम्म श्रीस्वस्थानी माताको नियमअनुसार व्रत बस्नेछु’ भनी संकल्प गरी व्रतको शुरुआत गर्नुपर्दछ।

त्यसपछि आफूले विगतमा खाएका हुन सक्ने अभक्ष पदार्थको प्रायश्चितस्वरूप गोदान, (गाई) असम्भव भए गोबरमा यथासक्य भेटी वा सुवर्ण राखी गोदान गर्नुपर्दछ।

गोदान कृत्यपछि मात्रै दीप, गणेश र कलशको पूजा आरम्भ गर्नुपर्दछ। दीप, गणेश र कलशको पूजा सम्पन्न भइसकेपछि एउटा तामाको थालीमा रक्तचन्दनले अष्टदल कमल बनाई कमलको बीचमा स्वस्थानी माताको सुनको प्रतिमा स्थापना गर्नुपर्दछ।

सुन नभए यथासक्य भेटी राखी स्वस्थानी माताको स्थापना गर्नुपर्दछ। स्वस्थानी माता आफ्ना चार हातमा क्रमैसँग त्रिशूल, तरवार, चक्र र कमल धारण गरेकी हुन्छन्। स्वस्थानी व्रतकथा यस वर्ष पुस २५ गतेबाट शुरू हँुदै छ। शालीनदीलगायतका क्षेत्रमा मेलाको तयारी तीव्ररूपमा भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्