नागरिक र प्रहरीबीचको समन्वयात्मक भूमिका निर्वाह गर्छु



जनार्दन जीसी
प्रहरी उपरीक्षक
प्रमुख, जिल्ला प्रहरी कार्यालय, स्याङ्जा
प्रहरीले आन्तरिक शान्ति सुरक्षाको जिम्मेवारी वहन गर्नका लागि गृह मन्त्रालयको मातहतमा रहेर काम गर्ने गरेको छ। जिल्ला प्रहरी कार्यालय स्याङजाको प्रमुखमा प्रहरी उपरीक्षक जनार्दन जिसी हुनुहुन्छ। जिल्लामा शान्ति सुरक्षा कायम गर्न आफू लागि परेको एसपी जीसी बताउनुहुन्छ। जीसी सरुवा भएर स्याङजा आएको धेरै भएको छैन। हाल समाजमा घटिरहेका अपराधिक क्रियाकलाप रोक्ने, जनतालाई शान्ति सुरक्षाको प्रत्याभूति दिने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विशिष्ट व्याक्तिको सुरक्षा गर्ने तथा चुलिदैं गएको ट्राफिक समस्या समाधान गर्ने जिम्मेवारी पाएको जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रमुख प्रहरी उपरीक्षक जनार्दन जिसीसँग नेपाल समाचारपत्र स्याङजाका संवाददाता अमृत अर्यालले शान्ति सुरक्षा र अन्य गतिविधिसंग सम्बन्धित रहेर अमृत अर्यालले गर्नुभएको कुराकानीको सम्पादित अंश:
एसपी साहेब आराम हुनुहुन्छ ? स्याङ्जाको प्रहरी प्रमुख भएर आउनुभएको छ। स्याङजाको सुरक्षा चुनौती कस्तो पाउनुभएको छ ? 

धन्यवाद, आरामै छु। मूलतः जिल्लाको समग्र शान्ति सुरक्षा कायम राख्नु, अपराध रोकथाम, नियन्त्रण एवं अनुसन्धान नै प्रहरीको जिम्मेवारी भएको कुरा सबैलाई विदितै छ।
चुनौतीको कुरा गर्दा स्याङ्जा जिल्लाको विगतको अपराधिक तथ्याङ्क हेर्दा एकातिर बलात्कार, ज्यान, लागूऔषधजस्ता परम्परागत अपराधहरूको चुनौती त छँदैं छ, यसको अलावा आधुनिक प्रविधिसँगै भित्रिएका सामाजिक सञ्जालको दुरूपयोगजस्ता अपराधको चुनौती पनि दिनानुदिन वृद्धि भइरहेको छ।
आन्तरिक शुद्धीकरण अभियान, भ्रष्टाचारमा शून्य शहनशीलता कायम राखि प्रहरीको व्यवहार र आचरणमा सुधार गरी नागरिकमैत्री प्रहरी सेवा प्रदानलाई समेत प्रमुख प्राथमिकतामा राखेको छु।
त्यस्तै २०७५ साल भदौ १ गतेदेखि लागू भई कार्यान्वयनमा आएको मुलुकी अपराध संहिताले निषेध गरेका बालविवाह, बहुविवाह, मानव बेचबिखन, घरेलु हिंसा, साइबर अपराधजस्ता विषयहरूमा आमजनमानसमा सचेतना बढाउनुपर्ने पनि छ।
हामी नेपाल भ्रमण वर्षको पूर्वसन्ध्यामा छौं, नेपालका प्रमुख पर्यटकीय स्थल लुम्बिनी र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलहरू निर्माणाधीन अवस्थामा छन्, जसलाई जोड्ने एकमात्र सिद्धार्थ राजमार्ग यस जिल्ला वारपार भई जाने हुँदा सो राजमार्गको सुरक्षा तथा सो राजमार्गसँग जोडिएका अन्य सहायक मार्गहरूसमेतमा राजमार्ग सुरक्षा, सवारी दुर्घटना न्यूनिकरण, ट्राफिक व्यवस्थापन र अन्य अपराधहरूको रोकथाम गरी शान्ति सुरक्षालाई सफल पार्ने दायित्व पनि छ।
तपाईंको सुरक्षा रणनीतिमा के–के प्राथमिकतामा छन् ?
माथि उल्लेखित चुनौती रोक्नका लागि जिल्लामा अपराध रोकथाम गरी शान्तिसुरक्षा कायम गर्नु, प्रभावकारी अनुसन्धान गरी अपराधीलाई कानुनी दायरामा ल्याउनु तथा दण्डहीनताको अन्त्य गर्नका लागि योजनाबद्ध र रणनैतिक तरिकाबाट बलात्कार, हत्या, लागूऔषध, ठगी, चोरीजस्ता परम्परागत अपराध तथा आधुनिक प्रविधिसँगै भित्रिएका सामाजिक सञ्जालको दुरूपयोगजस्ता अपराधहरू रोक्नु, सवारी दुर्घटना न्यूनीकरण गर्नु, फरार अभियुक्तहरूलाई पक्राउ गर्नु, अवैध लागूऔषध उत्पादन, सेवन, ओसारपोसार तथा बेचबिखन नियन्त्रण गर्नुजस्ता प्रमुख कार्यहरू गरिनेछ।
प्रहरीले पेशागत धर्म निभाउँदा वाह्य दबाब र प्रभावको कुनै अर्थ रहँदैन किनकि प्रहरीले कानुनद्वारा निर्दिष्ट परिधिभन्दा बाहिर गई कुनै कार्य गरेमा दण्डनीय हुने गरी कानुनले नै उत्तरदायी र जवाफदेही बनाएको छ। प्रहरीको परीक्षा हर क्षण, हर दिन हुन्छ र हर क्षणको परीक्षामा पास अनिवार्य छ र हामीलाई फेल हुने सुविधा नै छैन।
साथै समुदाय प्रहरी साझेदारी कार्यक्रममार्फत माथि उल्लेखित अपराधहरूको सम्बन्धमा प्रभावकारी रूपमा कानूनी सचेतनामूलक कार्यक्रमहरूलाई सञ्चालन गर्नुका साथै नागरिक र प्रहरीबीचको समन्वयात्मक भूमिका थप रचनात्मक र प्रभावकारी बनाइनेछ।
त्यसै गरी आन्तरिक शुद्धीकरण अभियान, भ्रष्टाचारमा शून्य शहनशीलता कायम राखि प्रहरीको व्यवहार र आचरणमा सुधार गरी नागरिकमैत्री प्रहरी सेवा प्रदानलाई समेत प्रमुख प्राथमिकतामा राखेको छु।
सदरमुकामलगायतका अन्य बजार एरियाहरूमा वस्ती बिस्तारसँगै बढेका बैंक, वित्तिय संघसंस्था, सुनचाँदी पसलहरू तथा त्यस्ता स्थानको परम्परागत निग्रानीलाई प्रविधियुक्त बनाउन आधुनिक प्रविधि प्रयोगमा भइरहेको पहललाई स्थानीय तह तथा सरोकारवाला निकायसँग समन्वय गरी प्रभावकारी रूपमा बिस्तार गरिदैं लगिने छ।
स्याङ्जामा विशेष गरेर अवैध रूपमा लागूपदार्थको ओसारपसारको समस्या छ। लागूपदार्थ ओसारपसार नियन्त्रण गर्न यसै निकायबाट पनि विभिन्न काम भए। तपाईंले यो कार्यलाई नियन्त्रण गर्न कस्तो उपाय अवलम्बन गर्न लाग्नुभएको छ  ?
एकातिर लागूऔषधको सेवन, उत्पादन, ओसारपोसार तथा बिक्रीवितरण आफैंमा ठूलो अपराध हो भने अर्कोतर्फ यसको सेवनले चोरी, कुटपिट, बलात्कार, हत्याजस्ता अपराधहरू घटाउन सक्ने अवस्था रहन्छ।
गाउँगाउँमा प्राकृतिक रूपमा उम्रिएका गाँजा, चरेसहरूको नष्ट गरिने अभियानलाई तिव्र बनाइएको छ, समुदाय प्रहरी साझेदारी कार्यक्रम शुरू भएपछि यस जिल्लाको विभिन्न स्थान र मितिमा अन्दाजी ८ सय १२ रोपनी जग्गामा १ लाख २५ हजार ४ सय ३१ गाँजाका बोटहरू नष्ट गरिसकिएको साथै गाँजा, चरेस तथा कृतिम लागूऔषधको ओसारपसार तथा बिक्रीवितरणलाई रोकथाम गर्न विशेष योजनाका साथ प्रहरी परिचालन गरिनेछ।
आफ्ना आफन्तहरू लागूऔषधको दुव्र्यसनमा रहेको पहिलो जानकारी अभिभावक वा समाजलाई रहन्छ तर परिवार वा समाजले यस्ता कुराहरूलाई सामान्य ठानी लुकाउँदा झन जटिल बन्ने हुँदा व्यक्ति, समाज र राष्ट्रलाई समेत गम्भीर असर पर्दछ।
यस्ता अपराधको पहिलो सूचनाको श्रोत परिवार वा समाज नै हो तसर्थ लागूऔषधविरूद्धको अभियानमा प्रहरी, स्थानीय प्रशासन, नागरिक समाज, स्थानीय तहलगायत प्रत्येक सचेत नागरिकको संयुक्त दायित्व रहन्छ।
तसर्थ समुदाय प्रहरी साझेदारी कार्यक्रममार्फत प्रभावकारी रूपमा लागूऔषध प्रयोगका प्रभाव, असर र कानूनी व्यवस्थासम्बन्धी सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिनेछ।
जिल्लाका प्रहरी प्रमुखलाई राजनीतिक रूपमा विभिन्न दबाब तथा प्रभाव आउँछ रे नि ?
जिल्लामा घटेका घटनाहरूको सम्बन्धमा आमनागरिक तथा राजनीतिक व्यक्तित्वलगायत जो कोहीले पनि जिज्ञाशा राख्नु स्वभाविकै हो तर जिज्ञाशालाई नै दवावका रूपमा बुझ्ने भन्ने होइन।अपराध रोकथाम नियन्त्रण एवं अनुसन्धान कार्य प्रहरीको लहडमा हुने नभई विधिसम्मत हुने हुन्छ।
प्रहरीले पेशागत धर्म निभाउँदा वाह्य दबाब र प्रभावको कुनै अर्थ रहँदैन किनकि प्रहरीले कानुनद्वारा निर्दिष्ट परिधिभन्दा बाहिर गई कुनै कार्य गरेमा दण्डनीय हुने गरी कानुनले नै उत्तरदायी र जवाफदेही बनाएको छ। प्रहरीको परीक्षा हर क्षण, हर दिन हुन्छ र हर क्षणको परीक्षामा पास अनिवार्य छ र हामीलाई फेल हुने सुविधा नै छैन।
प्रहरीले सञ्चालन गरिरहेको प्रहरी मेरो साथी प्रभावकारी देखिएन भन्ने छ, तपाईको कार्यकालमा यहाँका जनताले त्यो महशुस गर्न पाउँछन् ?
प्रहरी मेरो साथी प्रभावकारी देखिएन भन्ने होइन, संगठनको स्थापना कालदेखि नै नागरिकमैत्री कार्यक्रमहरू सञ्चालन हुँदै आइरहेको व्यहोरा विदितै छ, सोही क्रममा जनतासँग प्रहरी, प्रहरी मेरो साथी, मुस्कानसहितको प्रहरी सेवाजस्ता अवधारणाहरू प्रहरीले तत्काल सञ्चालनमा ल्याएका हुन्।
हालको संघीय संरचनाअनुरूप यस्ता कार्यक्रमलाई समयसापेक्ष प्रभावकारी बनाउन मिति २०७५ साल कात्तिक ११ गते देखि समुदाय प्रहरी साझेदारी कार्यक्रम सञ्चालनमा आइरहेको छ।
यो कार्यक्रम सञ्चालन गर्नेमा स्याङ्जा जिल्ला प्रहरी कार्यालय ७७ रै जिल्लामा नै अग्र स्थानमा रहेकोले यो कार्यक्रम आम जनमानसमा प्रभावकारी देखिएकै छ।
समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई सफल पार्न सहयोग गर्नुहुने स्थानीय प्रशासन, स्थानीय तह, समुदाय प्रहरी जिल्ला समिति र पालिका समिति, वडा समिति, टोल समिति, पत्रकार, कलेज तथा विद्यालय , सरकारी तथा गैह्रसरकारी संघसंस्थाहरू, क्लव तथा आमा समूहहरू तथा आम स्याङ्जाबासीलाई धन्यवाद पनि दिन चाहन्छु। साथै आगामी दिनहरूमा पनि यो सहकार्य कायमै राख्न सबैमा अनुरोध समेत गर्दछु।
स्याङ्जाका जनता तथा विभिन्न पेशागत व्याक्तिहरूले तपाईबाट के अपेक्षा गर्ने ?
अहोरात्र खटिई अपराध रोकथाम तथा नियन्त्रणका लागि कानूनी कठोरता अपनाइने हुँदा आमनागरिक तथा विभिन्न पेशागत व्यक्तिहरूले शान्ति सुरक्षा अमनचयनको अनुभुति गर्नु हुनेछ।
भन्ने गरिन्छ नि सबै नागरिक वर्दीबिनाका प्रहरी हुन् र सबै प्रहरी वर्दिका नागरिक हुन्।अर्थात शान्तिसुरक्षा भन्ने विषय कुनै एक पक्षको मात्र सरोकारको विषय हुँदैन।
अपराधमुक्त समाजको निर्माण सबैको साझा दायित्व हो , अपराध समाजमै हुन्छ, पीडित र पीडक समाजकै सदस्य हुन्छन तसर्थ सूचनाको पहिलो श्रोत पनि समाज नै हुन्छ यसर्थ कुनै पनि  सम्भावित घटना वा घटित अपराधको सूचनाको अपेक्षा प्रहरीले पनि आम नागरिक तथा पेशागत व्यक्तिहरूबाट राख्दछ। 
प्रहरीले अनुसन्धान गर्न चाहँदा जे पनि गर्न सक्ने, नचाहँदा केही पनि नहुने भन्ने आरोप लामो समयदेखि लाग्दै आएको छ वास्तविकता के हो ?
यो वास्तविकता नबुझिकन सतही रूपमा प्रहरीलाई लाग्ने आरोप हो। अनुसन्धान भन्ने विषय दुई र दुई जोड्दा चार हुने भनेको जस्तो अंकगणितिय हिसाब होइन।
अपराधिक घटना, अपराधको प्रकृति, परिस्थिती, प्राविधिक जटिलताजस्ता विविध कुराले गर्दा कुनै अनुसन्धान छिटो टुङगीने र कुनै अनुसन्धान लामो समयपछि मात्र टुङ्गिने हुन्छ।
केही व्यक्तिहरूमा न्याँय कानून बमोजिम प्राप्त हुनेभन्दा पनि आफू अनुकुल न्याय पाउनुपर्ने र सोहीअनुरूपको अनुसन्धान हुनुपर्छ भन्ने प्रवृत्ति एकाध घटनामा देखिएको हुँदा यस्ता आरोप लागेका हुन्।
थोरै व्याक्तिगत कुरा गरौ, तपार्इं प्रहरीमा कसरी आउनुभयो ?
म कानूनको विद्यार्थी भएकाले कानून सम्बद्ध कुनै न कुनै पेसामा आबद्ध  हुनु स्वभाविकै थियो, संयोग र सौभाग्य यही थियो की कानूनी अभ्यासको क्रममा २०५४ सालमा खुलेको नेपाल प्रहरीको विज्ञापनले डो¥याइ आज तपाइहरूको माझमा छु।
अन्त्यमा नेपाल समाचारपत्रमार्फत आम नागरिकहरूलाई के भन्न चाहनुहुन्छ ? 
सबै नागरिक वर्दीबिनाका प्रहरी हुन् र सबै प्रहरी वर्दिका नागरिक हुन्। अपराध समाजमै हुन्छ, पीडित र पीडक समाजमै हुन्छन् र सूचना पनि समाजमै हुन्छ।  शान्तिसुरक्षा र अपराधमुक्त समाजको निर्माण हामी सबैको साझा दायित्व हो।
यसर्थ कुनैपनि सम्भावित घटना वा घटित अपराधको सूचनाको जानकारी, राय सुझाव र सहकार्यका लागि आम नागरिकहरूलाई अनुरोध गर्दछु।
साथै समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई अझ बढी प्रभावकारी र परिणाममुखी बनाउने अभियानमा सरोकारवाला निकाय र आम जिल्लावासीलाई सक्रिय सहभागी एवं सहयोगका लागि समेत आग्रह गर्दछु।

प्रतिक्रिया दिनुहोस्