सोनाम साङ्पोलाई भरतलाल ह्युमानिटेरियन, आरके मानन्धरलाई पुष्करलाल मिडिया अवार्ड

नीर शाह र सन्तु तामाङलाई लाइफटाइम कामना अवार्ड



रश्मी थापा, काठमाडौं।

नेपाल समाचारपत्रको सहप्रकाशन कामना सिने मासिकको आयोजना तथा सीजी इन्टरटेन्मेन्टको प्रस्तुतिमा पाँचौं संस्करणको सीजी गोदरेज नम्बर वन कामना फिल्म अवार्ड २०७६ शनिबार ललितपुरस्थित हेरिटेज गार्डेनमा भव्यरूपमा सम्पन्न भएको छ।
सीजी गोदरेज नम्बर वन कामना फिल्म अवार्ड २०७६ मा दुई अवार्ड थपिएका छन्।

कामना न्यूज पब्लिकेसन्स्का संस्थापक अध्यक्ष, पहिलो नेपाली फिल्म अवार्डका प्रणेता, समाजसेवी तथा लायन्स क्लबका पूर्व डिस्ट्रिक्ट गभर्नर स्व. भरतलाल श्रेष्ठको नाममा भरतलालह्युम्यानिटेरियन अवार्ड तथा कामना न्यूज पब्लिकेसन्स्का प्रधान सम्पादक स्व. पुष्करलाल श्रेष्ठको नाममा पुष्कर मिडिया अवार्ड स्थापना गरी २ व्यक्तित्वलाई प्रदान गरियो।

समाजसेवाका क्षेत्रमा योगदान पुर्याउनेलाई प्रदान गरिने भरतलालह्युम्यानिटेरियन अवार्ड २०७६ नगद १ लाख रुपियाँसहित पहिलोपटक पोखराका समाजसेवी लायन सोनाम साङ्पोलाई प्रदान गरिएको छ भने सञ्चार क्षेत्रमा योगदान पुर्याउनेलाई प्रदान गरिने पुष्कर मिडिया अवार्ड २०७६ नगद १ लाख रुपियाँसहित इमेज ग्रुप अफ कम्पनिजका अध्यक्ष तथा प्रबन्ध निर्देशक रामकृष्ण मानन्धरलाई प्रदान गरिएको छ।

उहाँहरूलाई काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जन, कामनाका निर्देशक अनुजलाल श्रेष्ठ, प्रमेशकृष्ण श्रेष्ठ र समीप श्रेष्ठले अवार्ड प्रदान गर्नुभएको थियो।

प्रधान सम्पादक श्रेष्ठको जीवनी झल्काउने मार्मिक श्रव्यदृश्य सामग्री प्रदर्शनपश्चात् यी दुई सम्मान प्रदान गरेर शुरू गरिएको कार्यक्रममा नेपाली फिल्म क्षेत्रको पर्दाअगाडि र पर्दापछाडि रहेर योगदान पुर्याउने दुई फिल्मकर्मीलाई कीर्तिमय दीर्घ योगदान सम्मान (लाइफटाइम अचिभमेन्ट अवार्ड) समर्पण गरिएको थियो।

प्रधान सम्पादक श्रेष्ठको निधनका कारण अभिनेता राजेश हमालले भावुक भएर कार्यक्रम सञ्चालन शुरू गरेको समारोहमा अभिनेता, निर्माता, निर्देशक तथा गीतकार नीर शाहलाई नगद १ लाख रुपियाँसहित कलाततर्फको कीर्तिमय दीर्घ योगदान सम्मान २०७६ तथा मेकअप आर्टिस्ट सन्तु तामाङलाई नगद १ लाख रुपियाँसहित पर्दापछाडिको कलाकारतर्फको कीर्तिमय दीर्घ योगदान सम्मान २०७६ समर्पण गरिएको थियो।

उहाँहरूलाई कामनाका प्रेसिडेन्ट एवं सीईओ दिरेकलाल श्रेष्ठ, सीजी इन्टरटेन्मेन्टकी प्रबन्ध निर्देशक मेघा चौधरी, कामनामा सम्पादक विदुर गिरी, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले यो अवार्ड समर्पण गर्नुभएको थियो। सम्मान प्रदान गरिँदा समारोहका सहभागीहरूले स्वतस्फुर्तरूपमा उठेर सम्मान गरेका थिए।

समारोहमा प्रतिस्पर्धात्मक २६ विधा र अन्य ९ गरी कुल ३५ विधामा अवार्ड प्रदान गरिएको थियो भने लोकप्रिय १४ विधामा भोटिङको व्यवस्था गरिएको थियो।

जुरीको ९० र भोटिङको १० प्रतिशत अंक जोडी अवार्ड प्रदान गरिएको समारोहमा सर्वोत्कृष्ट चलचित्रको अवार्ड प्रसादले चुमेको छ। १० विधाको मनोनयमा परेको प्रसादले अवार्डका मुख्य विधाहरू सर्वोत्कृष्ट चलचित्रसहित निर्देशक, अभिनेता, अभिनेत्री र पटकथा गरी ५ विधाको अवार्ड चुमेको छ।

यो चलचित्रबाट दिनेश राउत यो वर्षको सर्वोत्कृष्ट निर्देशक, विपीन कार्की सर्वोत्कृष्ट अभिनेता, नम्रता श्रेष्ठ सर्वोत्कृष्ट अभिनेत्री तथा सुशील पौडेल सर्वोत्कृष्ट पटकथा लेखकको अवार्ड विजेता भए।

समारोहमा सर्वाधिक १५ विधाको मनोनयनमा परेको चलचित्र नाइँ नभन्नु ल ५ ले पनि सहअभिनेत्री, बालकलाकार, गीतकार, संगीतकार तथा छायांकन गरी ५ विधाको अवार्ड चुमेको छ।

यो चलचित्रबाट प्रियंका कार्की सर्वोत्कृट सहअभिनेत्री, सेड्रिना शर्मा बालकलाकार, दिनेश थपलिया गीतकार, वसन्त सापकोटा संगीतकार र पुरुषोत्तम प्रधान छायांकारको अवार्ड चुम्न सफल भए।

यो फिल्मबाट २ बालकलाकार अनुभव रेग्मी र सेड्रिना शर्मा मनोनयनमा परेका थिए भने वसन्त सापकोटा बोबी र नाइँ नभन्नु ल ५ गरी २ फिल्मबाट संगीतकारको मनोनयनमा परेका थिए।

गीत, संगीत, नृत्य र ठट्यौलीजस्ता विभिन्न मनोरञ्जनात्मक प्रस्तुतिका साथ अघि बढको समारोहमा १२ विधाको मनोनयनमा परेको छक्का पञ्जा ३ ले हास्य कलाकार, नृत्य निर्देशक, संवाद र ध्वनि मिश्रण गरी ४ विधाको अवार्ड चुमेको छ। हास्य विधाको अवार्ड केदार घिमिरेले चुमे।

उनी चलचित्र रामकहानीबाट पनि मनोनयनमा थिए भने नृत्य निर्देशकको अवार्ड चुमेका कविराज गहतराज ४ चलचित्रबाट मनोनयनमा परेका थिए।

यससँगै कविराज कामना फिल्म अवार्डमा लगातार ५औं अवार्ड चुम्न सफल भएका छन्। १२ विधाकै मनोनयनमा परेको चलचित्र डमरुको डण्डीबियोले सर्वोत्कृष्ट नवनिर्देशकसँगै कथा, पाश्र्व संगीत र सम्पादन गरी ४ विधाको अवार्ड चुमेको छ।

समारोहमा चलचित्र साइँलीबाट अभिनेता दयाहाङ राईले सहअभिनेताको अवार्ड चुमेका छन् भने यो चलचित्रले पाश्र्व गायकको अवार्डलाई पनि आफ्नो बनाएको छ।

यस वर्षको गोदरेज नम्बर वन कामना फिल्म अवार्डस् २०७६ मा चलचित्र बोबीबाट उमेश थापाले नवअभिनेता र ए मेरो हजुरबाट सुहाना थापाले नवअभिनेत्रीको अवार्ड चुमे भने प्रमोद अग्रहरी कथा काठमाडौंबाट वर्षको सर्वोत्कृष्ट खलपात्र ठहरिए।

त्यसै गरी चलचित्र भिलेन सर्वोत्कृष्ट द्वन्द्व निर्देशक, चलचित्र बाँध मायाले पाश्र्व गायिका र चलचित्र चक्कर शृंगार विधाको अवार्ड विजेता भएको छ। समारोहमा चलचित्र हरीलाई जुरी अवार्ड प्रदान गरीएको छ।

तस्वीर : उजोल डंगोल

प्रतिक्रिया दिनुहोस्