‘मीटू’को पक्षमा लड्ने वकिललाई नै ‘मीटू’ आरोप !



मुम्बइ। बलिउडमा यौनहिंसाको विरुद्ध ‘मीटू’ अभियान सुरु गर्ने अभिनेत्री तनुश्री दत्ताको त्यही केस लडिरहेका वकिललाई नै ‘मीटू’ आरोप लागेपछि बलिउडमा हंगामा भएको छ ।

तनुश्रीले २०१८ मा मीटू अभियान सुरु गरेकी थिइन् । उनले फिल्म ‘हर्न ओके प्लीज’ मा नाना पाटेकरले आफूमाथि यौनहिंसा गरेको आरोप लगाएकी थिइन् । तर, तनुश्रीको त्यही केस लडिरहेका वकिल नितिन सतपुरेमाथि नै यौनहिंसाको आरोप लागेको छ । उनीविरुद्ध मुद्दा दिने महिला पनि वकिल नै हुन् ।

समाचार एजेन्सी एएनआइको रिपोर्टअनुसार महिलाले खेरवाडी पुलिस थानामा नितिन सपुतरेविरुद्ध यौनहिंसाको मुद्दा दर्ता गराएकी छिन् । यसअघि बलिउडमा मीटू अभियान सुरु गर्ने तनुश्रीले २००८ मा फिल्म हर्न ओके प्लीजको सेटमा नाना पाटेकरले आफूमाथि यौनहिंसा भएको आरोप लगाएकी थिइन् । नानाले यो आरोप गलत भएको बताएका थिए ।

त्यसपछि भएको अनुसन्धानमा पनि नाना पाटेकरलाई सफाइ दिइएको थियो । तर तनुश्री यसबाट खुसी थिइनन् र उनले पुलिसको आलोचना गरेकी थिइन् । पछि तनुश्रीका वकिलले पुलिसको रिपोर्टविरुद्ध अदालतमा अर्को पुनरावेदन हालेका थिए जुन अहिले पनि विचाराधीन छ ।

प्रतिक्रिया दिनुहोस्