नाडाको नवनिर्वाचित कार्यसमिति र राजश्वका महानिर्देशक मैनालीबीच छलफल



नेपाल समाचारपत्र, काठमाडौं।

नेपाल अटोमोबाइल डिलर्स एशोसियसन (नाडा)का नवनिर्वाचित कार्यसमितिले उच्च अधिकारीहरूसँगको भेटवार्तालाई तीव्र रूप दिएको छ।समितिले बुधबार राजश्व अनुसन्धान विभागका महानिर्देशक दिर्घराज मैनालीसँग भेटवार्ता गरेको छ।

नाडाका नवनिर्वाचित अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको टोलीले महानिर्देशक मैनालीसँग भेटवार्ता गरेको हो। भेटवार्तामा टोलीले भेहिकल एन्ड कन्साइनमेन्ट ट्र्याकिङ सिस्टम (भीसीटीएस)को कार्यान्वयनका क्रममा देखा परेका समस्याहरूबारे मैलानीसँग छलफल गरेको छ।

बुधबार भएको भेटमा नाडाका कार्यसमिति सदस्यहरूले अटोमोबाइल व्यवसायीमा भीसीटीएसबारे अन्यौलता रहेको र यसबारे आवश्यक जानकारी नहुँदा व्यवसायीहरू मर्कामा परेको जानकारी गराएका थिए। छलफलमा महानिर्देशक मैनालीले भीसीटीएस व्यवसायीकै हितमा ल्याइएको बताउनुभयो।

उहाँले यसबारे व्यवसायीहरूलाई आवश्यक सहयोगका लागि विभाग तयार रहेको बताउनुभयो।छलफलका क्रममा नाडाका अध्यक्ष दुलालले भीसीटीएसबारे व्यवसायीहरूलाई प्रशिक्षण कार्यक्रम राखिएको भन्दै त्यसका लागि विज्ञ उपलब्ध गराउन मैनालीसँग आग्रह गर्नुभएको थियो।

यसअघि नाडाको कार्यसमितिले नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालसँग पनि भेटवार्ता गरेको थियो। मंगलबार भएको भेटवार्तामा अटोलोनमा राखिएको राष्ट्र बैंकको प्रावधानलगायतका विषयमा छलफल गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्