रारामा २० हजार पर्यटक भित्रयाइने



मुगु, (नेस)।

पर्यटन वर्षको शुभारम्भसँगै रारामा २० हजार पर्यटक भित्रयाइने उद्देश्य लिइएको छ। छायाँनाथ रारा नगरपालिकाले सो लक्ष्य लिएको मेयर हरिजंग शाहीले बताउनुभएको हो।

नगरपालिकाले कर्णाली प्रदेशको मुख्य पर्यटकीय स्थल रारामा पर्यटन वर्षको उद्घाटन समारोहमा नगरपालिका प्रमुख शाहीले नेपाल भ्रमण वर्षले हरेक नेपालीले आ–आफ्नो क्षेत्रबाट पर्यटन विकासको शुरुआत गरी नेपाल सरकारको लक्ष्यलाई साकार पार्नुपर्ने बताउनुभयो।

‘मुगुमा रारा मात्रै छैन अन्य धेरै धार्मिक, प्राकृतिक, साँस्कृतिक तथा ऐतिहासिक सम्पदाहरू छन्, उहाँले भन्नुभयो– ‘यी सम्पदालाई प्रचारप्रसार गरी पर्यटन भित्रयाउन सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्छ।’ पर्यटन वर्षको अवधिभर सबै क्षेत्रबाट सहयोग भए २० हजार पर्यटक रारामा आउने नगरप्रमुख शाहीले आसा व्यक्त गर्नुभयो।

जिल्ला समन्वय समितिका प्रमुख पूर्णबहादुर रोकायले रारा कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल भएको बताउँदै नेपाल सरकारको एक सय गन्तव्यमा रारा पनि परेको बताउनुभयो।

रारामा उल्लेख्य रुपमा पर्यटक भित्रयाउन तीनै तहका सरकार लागि पर्नुपर्र्नेे उहाँको भनाइ छ। नेपाल सरकारको लक्ष्य २० लाख पर्यटक भित्रयाउने र नेपालको अर्थतन्त्र मजबुद बनाउने उद्देश्यका साथ नेपाल भ्रमण वर्ष २०२० को शुरुआत गरेको प्रमुख रोकायाले बताउनुभयो।

रारा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत लालबहादुर भण्डारीका अनुसार रारा प्रकृतिले दिएको एक अनुपम वरदान हो। रारामा ताल मात्रै छैन। विश्वमै नभएका तीन प्रकारका असला जातका माछा, विभिन्न जंगली पशुपन्छीलगायत प्राकृतिक वरदान रहेको उहाँले बताउनुभयो।

रारा आउने पर्यटकले रमाइलोसँगै विभिन्न प्राकृतिक, धार्मिक क्षेत्रको अवलोकन गर्न पाइने भएकाले रारा पुग्नैपर्ने स्थान भएको उहाँले बताउनुभयो।

नगरप्रमुख शाहीका अनुसार पर्यटन वर्षलाई सफल पार्न र रारामा उल्लेख्य रूपमा पर्यटक भित्रयाउन छायाँनाथ रारा नगरपालिकाले यस आर्थिक वर्षमा डेढ करोड बजेट विनियोजन गरिएको समेत जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्