अलैंची बिक्रीबाट १२ करोड आम्दानी



नेपाल समाचारपत्र, लमजुङ ।

अलैंची कृषकले यसवर्ष अलैंची दाना बिक्रीबाट १२ करोड रुपियाँ आम्दानी गरेका छन्। जिल्लामा उत्पादित २ हजार क्विन्टल अलैंची दाना विक्रीबाट कृषकहरूले उक्त रकम आम्दानी गरेका हुन्।

उत्पादित अलैंची बिक्री भइसकेको नेपाल अलैंची व्यावसायी महासंघ लमजुङ शाखाले जनाएको छ। उत्पादित अलंैची कृषकले प्रतिकिलो ५ सयदेखि ६ सय ४० रुपियाँमा बिक्री गरेका थिए।

जिल्लामा गत वर्ष ७ सय ५० क्विन्टल अलैंची उत्पादन भएको थियो भने यस वर्ष अलैंची उत्पादनमा १ हजार २ सय ५० क्विन्टल वृद्धि भएको नेपाल अलैंची व्यावसायी महासंघ गण्डकी प्रदेशका अध्यक्ष अजय तामाङले बताउनुभयो।

उहाँका अनुसार गत वर्ष अलैची बिक्रीबाट लमजुङका किसानले ५ करोड आम्दानी गरेका थिए। गतवर्षको तुलनामा अलैंची किसानले यस वर्ष ७ करोड बढी आम्दानी गरेका छन्। उहाँले भन्नुभयो मूल्य घटबढका कारण अलैंची कृषकले सोचेजस्तो आम्दानी भने गर्न सकेनन्।

तामाङका अनुसार जिल्लामा १ हजार ५० हेक्टर क्षेक्रफल जमिनमा अलैँची खेती गरिए तापनि ७ सय ३७ हेक्टर क्षेत्रफलमा अलैँची उत्पादन हुदैँ आएको छ। एक नगरपालिका र ४ गाउँपालिकामा अलैची खेती गरिदै आएको छ।

जिल्लाका विभिन्न स्थानमा साउने, डम्बरसाई, जिर्मले, रामशाई, गोलसाई जातका अलैंची खेती गरिदै आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण अलैंची जोन लमजुङले जनाएको छ।

हाल नेपालका ४२ जिल्लामा अलैंची खेती विस्तार भइसकेको छ भने विभिन्न क्षेत्रमा अलैंचीको आकर्षण बढ्दो छ। नेपालमा उत्पादित अलैंची अब आफ्नै ट्रेडमार्कमार्फत तेस्रो मुलुक पठाउने तयारी व्यवसायीले गरिरहेका छन्।

अलैंची निर्यात गर्नका लागि तेस्रो मुलक बंगलादेशसँग छलफल भइरहेको अलैंची व्यवसायी महासंघ गण्डकी प्रदेशका अध्यक्ष तामाङले बताउनुभयो। अलैँची व्यवसायबाट राम्रो आम्दानी गर्न सकिने भएकाले गाउँगाउँबाट शहरमा पसेका समेत आफ्नै गाउँ फर्किएर अलैँची व्यवसाय शुरु गर्न थालेका छन्। पछिल्लो समय लमजुङ अलैँचीको हब जिल्लाका रूपमा समेत परिचित हुँदै गएको छ।

प्रतिक्रिया दिनुहोस्