दुर्घटना न्यूनीकरण गर्न सचेतना कक्षा शुरू



नेपाल समाचारपत्र, गुल्मी।

ट्राफिक प्रहरीले दुर्घटना न्यूनिकरण गर्ने भन्दै ‘ट्राफिक नियम जानौं र मानांै, आफू पनि बचौं अरुलाई पनि बचाऔं’ अभियान शुरु गरेको छ। बुधबार दुर्घटना न्यूनिकरण गर्न चालक सहचालकलाई ट्राफिक कार्यलय गुल्मी सचेतना कार्यक्रम गरेको हो।

जिल्ला प्रहरी कार्यालय गुल्मी र ट्राफिक प्रहरी कार्यालय गुल्मीले दुर्घटना न्यूनिकरण गर्न दैनिकजसो सचेतना कार्यक्रमहरू गर्दै आएको छ। जिल्लाभर सञ्चालन हुने कार्यक्रममा विशेष गरी चालक सहचालकलाई सचेतनामूलक कक्षाको सञ्चालन गर्दै आएको छ।दुर्घटना न्यूनिकरण गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजेन्द्रसिंह खडकाले बताउनुभयो।

दुर्घटनाको कारण के हो र त्यसको नियन्त्रण कसरी गर्न सकिन्छ भन्ने उद्देश्यले यस कार्यक्रमको थालनी गरिएको प्रहरी उपरीक्षक खड्काले बताउनुभयो।

कार्यक्रममा सामुदायिक प्रहरी साझेदारीका पूर्वअध्यक्ष हरिकुमार श्रेष्ठ, अध्यक्ष कृष्णप्रसाद भण्डारीले चालकको हातमा धेरैको जीवन हातमा रहेकाले जिम्मेवार बनेर सवारी साधन चलाउनुपर्नेमा जोड दिनुभयो।

प्रहरी ट्राफिकलाई आँखा छल्न मात्रै नभई सबैको जीवन रक्षा गर्न चालकको महत्वपूर्ण भूमिका रहने भएकाले जिम्मेवार चालक बन्न आग्रह गर्नुभयो। चालकले यात्रुसँग बोल्दा पनि नम्र र सरल व्यवहारले बोल्नुपर्नेमा जोड दिनुभयो।

उहाँले असल चालक बन्न बोलीदेखि लगाउने खानपानसम्म ध्यान दिएर सुरक्षित यात्रा गराउन आग्रह गर्नुभयो। जिल्लाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सवारी चेक जाँचसँगै सडक प्रशिक्षण गर्दै आएको छ।

चालक र सहचालकलाई प्रशिक्षण दुर्घटना न्यूनिकरणको प्रभावकारी बन्दै गएपछि यसलाई निरन्तरता दिन कार्यक्रम गर्दै आएको जिल्ला ट्राफिक कार्यालय गुल्मीका प्रमुख प्रहरी नायब निरीक्षक प्रवीण आचार्यले बताउनुभयो।

एकछिनलाई ट्राफिक प्रहरीको आँखा छलेर नियमविपरीत सवारी चलाएर दुर्घटना गराएर कानुनले नछोडने हुँदा जिम्मेवार बन्न र कानुनी अवस्थाका बारेमा प्रहरी निरीक्षक राजकुमार रावलले जानकारी गराउनुभयो।

दुर्घटना न्यूनिकरण गर्नु ट्राफिक प्रहरीको लागि मात्रै सोच्नु गलत रहेको बताउँदै सबै पक्ष उत्तिकै जिम्मेवार रहन प्रशिक्षण दिइएको थियो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले सवारी दुर्घटना कम गर्नका लागि विद्यार्थीलाई सचेतना कक्षा सञ्चालन गर्नुका साथै सुरक्षित चालक बनाउनका लागि कक्षा सञ्चालन, यातायात व्यवसायी, चालक तथा सहचालकलाई निरन्तर सचेतना कक्षा सञ्चालन गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्