गरिखाने शिक्षाको खोजी



नगेन्द्रराज पौडेल

शिक्षामा आज पनि १० प्रतिशतभन्दा बढी राष्ट्रिय लगानी भैरहेको छ। विगतमा १७ प्रतिशतसम्म लगानी भएको क्षेत्र भएकोले शिक्षामा भएको यो लगानी कम भयो भनेर शिक्षाविद्हरू कुर्लिरहेका छन्। तर के साँच्चै लगानीअनुसारको प्रतिफल प्राप्त भएको छ त ?

यसबारेमा भने तैं चुप, मै चुपको स्थिति छ। हामीसँग शैक्षिक योजना के छ ? कतिजना डाक्टर, कतिजना इन्जिनियर वा कतिजना पाइलट, वकिल, प्राध्यापक हामीलाई चाहिएको हो ? ती जनशक्ति उत्पादनका लागि हामीले के–कति लगानी गरेका हौं ?

हामीकहाँ विद्यालय शिक्षाको सन्दर्भमा होस् वा विश्वविद्यालयको सन्दर्भमा, संख्यात्मक हिसाबमा शिक्षाको विकास धेरै नै भएको छ। तर गुणस्तरको पाटो कमजोर छ। पढेर देश नै छोडनुपर्ने शिक्षाको कुनै दरकार हुँदैन। शिक्षाले त देशमा टिकाउन सक्नुपर्छ, बजारमा बिकाउन सक्नुपर्छ। तर जति पढ्यो त्यति बेरोजगार हुने शिक्षा राष्ट्रका पक्षमा हुनै सक्दैन।

त्यसको कुनै हिसाबकिताब नगरीकन गरिएको लगानीको के अर्थ ? शिक्षाको सिकाउ र बिकाउ पक्ष किन कमजोर भैरहेको छ ? दिनहुँ हजारौंको संख्यामा खाडी मुलुक धकेल्ने जनशक्ति उत्पादनकै लागि के यो लगानी अपर्याप्त भएकै हो त ? एकपटक सोच्न जरुरी छ। हैन भने दिशाविहीन गतिमा शैक्षिक लगानी यही पनि धेरै भएको त होइन ? विचारणीय छ।

सीप खै ?

चीनमा एउटा उखान छ, ‘मलाई एक किलो माछा उपहार होइन, माछा मार्नका लागि सीप देऊ, ताकि म आफैंले मन लागेको बेला माछा मारेर खान सकूँ।’ तर आजकल हाम्रो पठनपाठनमा सैद्धान्तिक कुरा मात्र छ, सीप छैन। व्यावहारिक पक्ष उपेक्षित नै छ।

कोरा ज्ञान, घोकन्ते विद्यामा नै हाम्रो शैक्षिक प्रणाली आजसम्म चलिरहेको छ। के सिक्यो हैन, कति अंक ल्यायो भन्ने नतिजाको पर्खाइमा रहेका अभिभावकलाई सन्तुष्ट पार्नेबाहेक गरिखाने शिक्षा पटक्कै दिन सकिएको छैन। यो आजको विडम्बना नै हो।

कोरा किताबी ज्ञानले आज कसैको पनि गुजारा हुने अवस्था छैन। गर्जो टार्न नसक्ने शिक्षा, शिक्षा नै होइन। शिक्षा आर्जन गर्नु भनेको घोक्नु मात्र होइन, सिकाइ हुनुु पनि हो। सिकाइ हुनु भनेको व्यवहारमा आएको स्थायी सकारात्मक परिवर्तन हो।

यो परिवर्तन मापनीय हुनुपर्छ र यसका लागि व्यावहारिक शिक्षा नै चाहिन्छ। अमेरिका, युरोप, जापान, चीनलगायतका मुलकहरूको उन्नति र प्रगति व्यावहारिक शिक्षाको विकासको कारणले गर्दा नै भएको हो।

शिक्षाले व्यक्तिलाई सत्य कुराको ज्ञान प्रदान गरेर मात्र पुग्दैन, कुनै पनि काम गर्न सक्ने सीप अर्थात् खूबी प्रदान गर्न सक्नुपर्छ। हामीकहाँ विद्यालय शिक्षाको सन्दर्भमा होस् वा विश्वविद्यालयको सन्दर्भमा, संख्यात्मक हिसाबमा शिक्षाको विकास धेरै नै भएको छ।

तर गुणस्तरको पाटो कमजोर छ। पढेर देश नै छोडनुपर्ने शिक्षाको कुनै दरकार हुँदैन। शिक्षाले त देशमा टिकाउन सक्नुपर्छ, बजारमा बिकाउन सक्नुुपर्छ। तर जति पढ्यो त्यति बेरोजगार हुने शिक्षा राष्ट्रका पक्षमा हुनै सक्दैन।

सिक्नै पर्ने कुरा

अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिंकन आफ्नो छोरा पढ्ने विद्यालयका प्रधानाध्यापकलाई पत्र लेख्दै भनेका छन्, ‘मेरो छोराले सबै मानिस एकै किसिमका हुँदैनन् भन्ने कुरा सिकोस्। समाजमा दुष्ट मानिस छन् र सज्जन पनि छन्।

स्वार्थी राजनीतिज्ञ पनि छन् भने समर्पित निष्ठावान् नेता पनि छन्। त्यस्तै शत्रु पनि छन्, मित्र पनि छन्। उसलाई सित्तैमा पाएको हजारौं डलरभन्दा परिश्रम गरी कमाएको एक डलर बढी मूल्यवान् हुन्छ भन्ने कुरा बताई दिनुहोस्।’

लिंकनले अगाडि लेख्छन् ‘मेरो छोरो जतातिर हूल छ त्यतातिर लाग्ने प्रवृत्तिको नहोस्। उसलाई कहिलेकाहीँ आँखाबाट आँसु झार्न लाजमर्दो कुरो होइन भनिदिनुहोस्। ऊ आफ्नो बाहुबल, बुद्धि र सामथ्र्यमा विश्वास गरोस्।

सम्झनुहोस्, आगोको लप्काबाट नै फलाम खारिन्छ। ऊभित्र साहस र सधैँ केही गरौं भन्ने भावना भइरहोस्। मेरो छोरो स्वयम् निर्भिक, साहसी र उत्साही बन्न प्रेरित भइरहोस् अनि मात्र ऊ मानवताप्रति नरम र आस्थावान् हुन सक्छ।’

मानवता हराउँदै गएको, पढेर पनि अनपढ व्यवहार गर्ने वर्तमान युवापुस्ताका लागि लिंकनको उक्त सन्देश निकै मार्मिक र आजका सन्दर्भमा उपयुक्त पनि देखिन्छ। आजको पठनपाठनले न सीप दिएको छ, न व्यवहार।

तसर्थ व्यावहारिक पक्षमा लिंकनको उक्त आकांक्षाले आमनेपाली अभिभावकको प्रतिनिधित्व गर्दछ। हामीले खोजेको एकथरी शिक्षा यस्तै पनि हो।

विद्यालय कर होइन, रहर बन्नुपर्छ

‘बा ! पाठशाला जान्नँ म,इतिहास पढाइन्छ त्यहाँ, मरेका दिनहरूको।’यी कवितात्मक हरफहरू हरिभक्त कटुवालका हुन्। आज पनि हाम्रो शिक्षा पद्धति घोकन्ते छ। सैद्धान्तिक छ। हाम्रा बालबालिकाको चाहना र हाम्रो शिक्षा पद्धतिबीच सामीप्यता छँदै छैन।

महेन्द्र मरेको इतिहास घोकेर आजका विद्यार्थीले के पाउने ? प्रजातन्त्र आएको कुरा २००७ साल फागुन ७ गतेको सट्टा कसैले फागुन ६ वा ८ गते भन्यो भने के नै बिग्रला ? बढीमा यस्तो सामान्य कुरा पनि जानेन भनिएला, कुरा यत्ति हो।

यो जान्नु र नजान्नुसँग बच्चाको दैनिकी गुजारामा तात्विक अन्तर आउँदैन। बरु आजका विद्यार्थीले प्रजातन्त्र आएको कुरा, तिथि, बार र समय घोकेर भन्दा गुगलमा सर्च गरेर पत्ता लगाउन चाहन्छन्। आज उनीहरूलाई गुगल हेरेर यो चाहना पूरा गरिदिने शिक्षा चाहिएको छ।

आजका बच्चाहरूलाई तयारी हालतको भन्दा सिर्जनशील बनाउने शिक्षा चाहिएको छ। कति पढ्ने भन्दा पनि के पढ्ने भन्ने सवाल नै आजको शिक्षाको मुख्य मुद्दा हो। यसका लागि विद्यार्थीलाई विद्यालय जाऊँ–जाऊँ लाग्नुपर्छ।

करले होइन, रहरले विद्यालय जाने वातावरण बनाउनुपर्छ। यसका लागि उसको रुचि, इच्छा र चाहनाअनुसारको विषय पढ्न पाउनुपर्छ। स्वस्फूर्त सिकाइ वातावरण हुनुपर्छ। प्रजातन्त्रको उदयताका २००७ सालमा हामीसँग २ प्रतिशत साक्षरता दर थियो।

आज संघीय गणतान्त्रिक व्यवस्थाको अभ्यासमा जुट्दै गर्दा यो दर बढेर ७० प्रतिशतभन्दा माथि पुुगेको सरकारको दाबी छ। यो सन्तोषको विषय हो। तर पढेका जनशक्तिमध्ये कतिजना रोजगारीमा लागे भन्ने कुरा पनि महत्वपूर्ण हो।

बजारमा बिकाउ नहुने र ज्ञानमा टिकाउ नहुने शिक्षा प्रदान गरेर बर्सेनि बेरोजगार उत्पादन गर्ने शिक्षा कुन हदसम्म जारी राख्ने भन्ने कुरा आजको मुख्य समस्या हो।

यसै कारण व्यावसयिक शिक्षा आजको मुख्य आवश्यकता थियो तर हामीले विगतमा भएको पूर्वव्यावसायिक विषयलाई पनि पाठ्यक्रमबाट हटायौं। भएको अलिकति सीप सिक्ने प्रयोगात्मक पक्ष पनि हटायौं। विगतमा कक्षा ८ बाट ऐच्छिक विषयका रुपमा बागबानी लिन सकिन्थ्यो। त्यो अवसर पनि आजका विद्यार्थीलाई दिएनौं।

जसले गर्दा गरी खाने शिक्षाको अभावमा प्रमाणपत्रहरू खोटोमर हुन थाले। दराजभरि प्रमाणपत्रहरू थन्किएका छन् तर ती प्रमाणपत्रहरूको बजार भाउ शून्य छ। आजको मूल समस्या नै यही हो।

बेरोजगार पनि उस्तै

स्वदेशमा काम पाउन नसक्दा कैयौं संख्यामा युवाहरू विदेश पलायन छन्। युवा भनेको शारीरिक र मानसिक विकासका दृष्टिले किशोर र वयष्क अवस्थाबीचको उमेर समूह हो। युवा सर्वाधिक सक्रिय, ऊर्जावान् र गतिशील समूह पनि हो।

राष्ट्रिय युवा परिषद् ऐन २०७२ तथा राष्ट्रिय युवा नीति २०७२ ले १६ देखि ४० वर्षको उमेर समूहभित्रको जनशक्तिलाई युवा मान्ने गरेको छ।

कुल जनसंख्याका हिसाबले हेर्दा ४०.३५ प्रतिशत यो समूहमा पर्दछन्। युवा विकास सुूचकाङ्कमा नेपाल विश्वमा ७७ औं स्थानमा छ। १९.२ प्रतिशत युवाहरू आज पनि पूर्ण बेरोजगार छन्। कृषिमा संलग्न युवाहरू ५०.२ प्रतिशत छन्।

२६.१ प्रतिशत युवाहरूस्नातक भैकन पनि बेरोजगार छन्। प्रतिवर्ष ५ लाख ३८ हजर युवाहरू विदेशिने गरेको पाइन्छ। यसरी विदेशिनेहरूमध्ये ७४ प्रतिशत युवाहरू अदक्ष छन्। उनीहरू विदेशमा गएर यही काम गर्ने भन्ने कुनै टुंगो छैन।

जे पायो त्यही गर्ने सर्तमा विदेश गएका हुन्छन्। २४ प्रतिशत अर्धदक्षसम्म छन्। २ प्रतिशत मात्र दक्ष छन्। दुःखको कुरो, स्वदेशमा काम नपाएर खाडी मुलुकसमेत जान बाध्य यिनै युवाहरूमध्ये प्रतिदिन सरदर ३ देखि ४ वटा बाकसमा उनीहरूको लास नेपाल फर्कने गर्छ। यो अवस्था आउनुका पछाडि हाम्रै गलत शिक्षानीति दोषी छ।

‘न गरी खाने, न मरी जाने’ शिक्षा दिएर हामीले युवालाई घरको न घाटको बनाएकै हौं। आजको आवश्यकता भनेको प्राविधिक शिक्षा हो। ९–१२ कक्षाको प्राविधिक धारले मात्र यो आवश्यकता पूरा गर्न सक्दैन।

आधारभूत ज्ञान कक्षा ८ सम्म दिइए पनि कक्षा ९ बाट पूरै श्रम र सीपमा आधारित प्राविधिक शिक्षा नै दिनुपर्छ। कलेजस्तरमा प्रदान गरिने सैद्धान्तिक ज्ञानलाई पूरै भत्काएर प्रविधिमा आधारित शिक्षा प्रदान गर्न जरुरी छ। तर आज पनि हाम्रा अधिकांश विश्वविद्यालयहरू सामान्य धारकै शिक्षा दिन रुचाउँछन्। यो अर्को विडम्बना हो।

 

प्रतिक्रिया दिनुहोस्