कांग्रेस कलह



प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस यति बेला आन्तरिक विवादमा रुमल्लिरहेको छ। गुट–उपगुटमा विभाजित भएकै कारण इतिहासकै सबैभन्दा कमजोर अवस्थामा पुगेको कांग्रेसभित्रआन्तरिक एकता कायम हुनुको सट्टा झन कमजोर बन्दै गएको छ।

बाहिर एउटा पार्टीजस्तो देखिने कांग्रेस भित्रभित्र दुईवटा भइसकेको छ। अझ तीनवटा चारवटा बनाउन शीर्ष नेताहरूको उपगुट थप सक्रिय देखिन्छ।

सभापति शेरबहादुर देउवाको हठले पार्टीलाई अझ कमजोर बनाउने संकेत देखिएको छ, आफू प्रभावमा नभए दल धराशयी भएपनि होस् भन्ने उहाँको मनस्थिति दुर्भाग्यपूर्ण बन्नगएको छ।

संस्थापन पक्षमा सभापति देउवाको एउटा समूह छ भने वरिष्ठ नेता रामचन्द्र पौडेलको अर्को समूह अस्तित्वमा देखिन्छ। पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाको छुट्टै गुट रहेको कांग्रेसभित्र शीर्ष नेताहरूको थप उपगुट पनि रहेको छ।

बाहिर एक भित्र दुई भैसकेको कांग्रेस भित्रको आन्तरिक छलफलका लागि पौडेल समूहको छुट्टै बैठक हुने गरेको छ भने सिटौला समूहको छुट्टै बैठक हुने गरेको छ।

पौडेल समूहको बहिस्कारका बाबजुद पनि संस्थापन पक्षले केन्द्रीय समितिबाट बहुमतद्वारा १४औं महाधिवेशनको कार्यतालिका, संख्या थपसहित विभाग गठन गर्नेलगायत महत्वपूर्ण निर्णय गरेपछि त कांग्रेस भित्रको विवाद अझ छताछुल्ल भएको छ।

पार्टीभित्र भागबण्डा लिने र दिने चलन कांग्रेसको पुरानै रोग हो। कुनै समय भागवण्डा नमिलेकै कारण पार्टी फुटाएर कांग्रेस प्रजातान्त्रिकको नेतृत्व गर्नु भएका सभापति देउवा अहिले भाग दिने ठाउँमा हुनुहुन्छ। पहिला भाग दिने ठाउँमा रहेको पौडेल समूह अहिले माग्ने ठाउँमा छ।

आन्तरिक विवादकै कारण गत निर्वाचनमा लज्जास्पद हार बेहोरेको कांग्रेस आउँदो निर्वाचनसम्म आन्तरिक एकताका साथ अघि बढ्ने आशा र भरोसा झन कमजोर हुदै गएको छ। केन्द्रदेखि गाउँ तहसम्म नेतादेखि कार्यकर्तासम्म गुट–उपगुटमा विभाजित कांग्रेसले राष्ट्रिय राजनीतिमा प्रतिपक्षको भूमिकालाई समेत प्रभावकारी बनाउन सकेको छ्रैन।

नियमित समयमा महाधिवेशन नहुने निश्चित भए पनि तोकिएको कार्यतालिका तथासमयभित्र महाधिवेशन गर्ने मूल उद्देश्य प्राप्तिमा सबै नेताहरू लागेको बताइन्छ।

तर महाधिवेशनमा नेतृत्व हत्याउने जोड–घटाउको दाउपेज बुन्दै जादा पार्टी थप धरासयी हुदै गएको सार्वजनिक अभिव्यक्ति दिइराख्नुले पनि महाधिवेशनको जोड घटाउले कांग्रेस भित्रको विवाद उत्कर्षमा पुगेको अनुमान लगाउन गार्हो पर्दैन।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भनेझंै एकपटक बल्झिएको विवाद सधैंभरि रहिरहन्छ र एक पटक भएको एकता पनि सधैभरि रहिरहन्छ भन्ने हैन। तरपनि विवादलाई समयमै समाधान गरी अघि नबढ्दा आउँदो चुनावमा भने पक्कै असर पर्नेछ।

सरकारप्रतिको असन्तुष्टिलाई कांग्रेसले आफ्नो पार्टी प्रतिको आकर्षणको रुपमा परिणत गराउन बाहिर एक भित्र दुई बनेर सम्भव छैन। लोकतन्त्रमा प्रतिपक्ष दल बलियो हुनुपर्ने अपेक्षा गरिएको हुन्छ।

प्रमुख प्रतिपक्ष दलका शीर्ष नेताहरूले व्यक्तिगत स्वार्थ त्यागेर दलीय हितलाई प्राथमिकता नदिएसम्म कांग्रेस बलियो बन्न सम्भव छ। कांग्रेस बलियो बनोस् भनेर कामना गर्दागर्दै विसर्जनतिर जान खोजिरहेको छ, शुभचिन्तकलाई निराश नबनाउन वरिष्ठ नेताहरूमा सद्बुद्धि फिरोस् !

प्रतिक्रिया दिनुहोस्