धनगढीमा धमाधम निर्माण हुँदै भौतिक पूर्वाधार



मधुसुधन रायमाझी ।

सुरक्षित र व्यवस्थित शहरले शहर समृद्ध बन्छ। समृद्धि शहरीकरणका लागि योजनाबद्धरूपमा पूर्वाधार निर्माण गर्नुपर्ने हुन्छ। शहरी विकास मन्त्रालयले योजनाबद्धरूपमा विकास निर्माणको काम अगाडि बढाउँदै आएको छ। शहरी विकास तथा भवन निर्माण विभागले संघीय संरचनाअन्तर्गत निर्माण भएका आयोजना कार्यान्वयन कार्यालयहरूले विकास निर्माणको कामलाई अगाडि बढाएको छ।

बिनायोजना निर्माण भएका भौतिक पूर्वाधार निर्माणको कामले शहरलाई व्यवस्थितभन्दा पनि अव्यवस्थित बनाउने भएकाले विभागले विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार गरेर मात्र काम अगाडि बढाउने गरेको छ।

संघीय आयोजना कार्यान्वयन इकाइ कैलालीले पनि धनगढी उपमहानगरपालिकाभित्र सडक, सभाहल, अस्पताल भवनलगायतको भौतिक पूर्वाधार निर्माणको कामलाई धमाधम अगाडि बढाएको छ। आयोजनाले अगाडि बढाएका पूर्वाधार निर्माणको काम व्यवस्थित र सुविधासम्पन्न रहेको छ।

सुविधासम्पन्न शहरका लागि सरकारले समयमा ध्यान नदिँदा शहरी जीवन दिन प्रतिदिन कष्टकर हुनै जाने क्रम बढेपछि सरकारले योजनाबद्धरूपमा विकास निर्माणको काम अगाडि बढाउने नीति लिएको हो।

सफा सुन्दर र व्यवस्थिति शहर निर्माण गर्ने मुख्य उद्देश्यसहित संघीय आयोजना कार्यान्वयन इकाइ धनगढीले पूर्वाधार निर्माणको काम अगाडि बढाइरहेको इन्जिनियर श्यामचन्द्र बुढाथोकी बताउनुहुन्छ। आधुनिक र व्यवस्थित भौतिक संरचना निर्माण गर्ने कामलाई आयोजनाले निरन्तरता दिएको उहाँले बताउनुभयो।

आयोजनाले सुदूरपश्चिम प्रदेशकै सबैभन्दा ठूलो सभाहल निर्माणको काम धमाधम अगाडि बढाएको छ। २८ करोड ५५ लाख लागतमा निर्माणाधीन सभाहल आधुनिक र सुविधायुक्त हुनेछ। सभा हलमा ९ सय जना बस्ने सक्नेछन्। आगामी २०७८ असारभित्र सम्पन्न गर्ने गरी निर्माण कम्पनीले काम गरिरहेको छ। सभाहल निर्माण भएपछि सभा–सम्मलेन गर्न निकै सहज हुनेछ।

धनगढी उपमहानगरपालिका–८ का वडाध्यक्ष नारायण बरालले सभाहल निर्माण हुनु निकै खुसीको विषय भएको बताउनुहुन्छ। उहाँले भन्नुभयो– ‘विकास निर्माणको काम अगाडि बढ्नु हाम्रो लागि निकै खुसीको विषय हो, सभाहल निर्माण भएपछि यहाँका जीवनशैलीमा नै परिवर्तन आउने अपेक्षा गरेका छौं।’

सभाहल निर्माणका लागि वडा कार्यालयले निःशुल्करूपमा विद्यालयको जग्गा उपलब्ध गराएको थियो। डेढ बिघाह क्षेत्रफलमा निर्माण भइरहेको सभाहलमा दुईवटा ब्लक रहने गरी निर्माण भइरहेको छ। ‘मुख्य सभाहलमा ७ सय जना र अर्को हलमा २ सय जना गरी ९ सय जना अट्ने क्षमता रहेको छ।’ –इन्जिनियर प्रमोद पन्त बताउनुहुन्छ।

सभाहल निर्माणको जिम्मेवारी पाएको बिकोई/एमके/रोएल जेभीले निर्माण अवधिभन्दा अगाडि नै काम सम्पन्न गरी धमाधम काम गरिरहेको छ। निर्माण कम्पनीको काम सन्तोषजनक ढंगले अगाडि बढाएको आयोजनाको निष्कर्ष रहेको छ।

आयोजनाले सभाहल निर्माणको कामको नियमितरूपमा अनुगमन गर्दै निर्माणमा प्रयोग भएको सिमेन्ट, बालुवा, गिटी, छठलगायतका निर्माण सामग्रीको गुणस्तरत परीक्षण गरेर मात्र काम अगाडि बढाउन दिने गरेको इन्जिनियर श्यामचन्द्र बुढाथोकी बताउनुहुन्छ।

। आयोजनाले धनगढी उपमहानगरपालिकाको राजपुरमा आयुर्वेद औषधालय निर्माणको काम अन्तिम चरणमा पुगेको बताएको छ। १६ करोड १६ लाख लागतमा निर्माणाधीन ५० शैøयाको अस्पताल निर्माण भएपछि यस क्षेत्रका नागरिकलाई ठूलो टेवा पुग्नेछ।

आयोजना कार्यान्वयन इकाइले कैलाली कञ्चनपुर, डडेलधुराभित्र कार्यक्रम सञ्चालन गर्दै आएको छ। डडेलधुरा उपक्षेत्रीय अस्पताल निर्माण भइरहेको छ। तोकिएकै समयसीमाभित्र सम्पन्न गर्नका लागि आयोजनाले नियमितरूपमा सुपरभिजनको काम गर्दै आएको इन्जिनियर रविन बस्नेत बताउनुहुन्छ।

आयोजनाले धनगढी उपमहानरपालिका, गोदावरी नगरपालिका, शुक्लाफाँटा नगरपालिका, भीमदत्त नगरपालिकाभित्र सडकको निर्माण सरकारी कार्यालय भवन निर्माण, सुरक्षित अवास निर्माणको काम गर्दै आएको छ। धनगढी उपमहानगरपालिका सडक निर्माण भएसँगै शहरको स्वरूप नै परिवर्तन भएपछि स्थानीय खुसी भएका छन्।

धनगढी उपमहानगरपालिकाभित्र अगाडि बढेको रिङरोड निर्माणले नागरिकको दैनिक जीवनशैलीमा परिवर्तन ल्याएको छ। धनगढीको भन्सार फाप्ला हुँदै चटकपुर जोडने करिब ८ किलोमिटर अन्य क्षेत्र गरी कुल १४.१ किलोमिटर सडक निर्माण सम्पन्न भएर सञ्चालनमा आएको छ।

सडक निर्माण भएसँगै रिङरोडभित्र पर्ने स्थानीयबासी खुसी हुनुको साथै स्थानीयस्तरमा उत्पादन भएको कृषिजन्य वस्तुलाई बजारसम्म पुर्याउन सहज भएको स्थानीय राजेश चौधरी बताउनुहुन्छ।

धनगढी उपमहानगरपालिकाभित्र आयोजनाले दुईवटा प्याकेजमा गरेर ९२ किलोमिटर सडक निर्माण गर्ने योजना अगाडि बढाएको छ। उपमहानगरपालिकाभित्र निर्माण हुने सडक फरक–फरक खण्डमा विभाजित गरिएको छ।

भौतिक पूर्वाधारको उपलब्धता, स्रोत र साधनको पर्याप्तता भएको अवस्थामा मात्र समृद्ध शहर निर्माण हुन नीति आयोजनाले लिएको छ।

धनगढीले मुहार फेर्दै छ

नृप बड
प्रमुख
धनगढी
उपमहानगरपालिका

सघन शहरी विकास कार्यक्रमले धनगढी उपमहानरपालिकाको मुहार नै फेरिँदै गएको छ। सामाजिक, आर्थिक सांस्कृतिक क्षेत्रको साथै विकास निर्माणको क्षेत्रमा आयोजनाले राम्रो सहयोग गरेको छ। विगतमा आठवटा वडामा एउटा वडाबाट अर्को वडासम्म सरल पहुँच नै थिएन।

पहिलो चरणको ५० किलोमिटर सडक सम्पन्न भइसकेको छ भने दोस्रो चरणको ४२ किलोमिटर सडक निर्माण हुनेछ। ९२ किलोमिटर सडक उपहानगरपालिकाभित्र निर्माण सम्पन्न हुँदा उपमहानगरपालिकाको विकासमा ठूलो टेवा पुग्ने अपेक्षा लिएका छौं।

सभाहल निर्माण भएपछि सभा–सम्मेलनलगायतका कार्यक्रम सञ्चालन गर्न निकै सहज हुनेछ। उपमहानगरपालिकाभित्रै कोल्डस्टोर निर्माण भएपछि यहाँका किसानले कृषिजन्य वस्तु कोल्डस्टोरमा राख्न कञ्चनपुर र नेपाजगन्ज जाने बाध्यता हट्नेछ।

६२ बिघाहमा उर्मा उद्यान निर्माण सम्पन्न भएको छ। पार्क निर्माण भएपछि नगरपालिकाभित्रका नागरिकले शारीरिक व्यायम गर्नुका साथै बालबालिकाका लागि मनोरञ्जनस्थलका रूपमा विकास हुनेछ।

खुला क्षेत्रका रूपमा विकास गरेर शहरको वातावरणीय सुधारका लागि पहल गरेका छौं। जडीबुटी प्रशोधनको काम पनि अगाडि बढ््दै छ। त्यसै गरी उपमहानगरपालिकाभित्र थारू संग्रहालय सञ्चालन गर्ने तयारी रहेका छौं।

प्रदेश नम्बर ७ कै ठूलो आयुर्वेद अस्पताल निर्माण हुनु निकै खुसीको विषय हो। धनगढी उपमहानगरपालिकाको मागअनुसार यी पूर्वाधार निर्माणको काम अगाडि बढेको हो। फोहोरमैला व्यवस्थापनको काम अगाडि बढेको छ।

आयोजनाअन्तर्गत सञ्चालित कार्यक्रमले नगरपालिकाभित्रका बासिन्दालाई प्रत्यक्षरूपमा फाइदा गरेको छ। आयोजनाले निर्माण सम्पन्न गरेपछि हामीले सार्वजनिक तथा निजी साझेदारी अवधारणाअन्तर्गत लगेर दिगो व्यवस्थापन गर्ने नीति लिएका छौं। आगामी दिनमा आयोजनाले थप व्यवस्थित विकास निर्माणको योजना समावेश गर्न आवश्यक छ।

व्यवस्थित शहरीकरणका लागि जुटेका छौं

परीक्षित कडरिया
आयोजना प्रमुख
संघीय आयोजना कार्यान्वयन इकाइ

आयोजनाको मुख्य उद्देश्य सुविधासम्पन्न शहर विस्तार गर्ने हो। शहरी विकास, आवास र भवन निर्माणको काम आयोजनाले गर्दै आएको छ। आयोजनाको कार्यक्षेत्र कैलाली, कञ्चनपुर र डडेलधुरा रहेको छ। विशेष गरी शहरी पूर्वाधार निर्माणको कामले गति लिएको छ।

त्यसको साथै बसपार्क, घण्टाघर निर्माणको काम गरिरहेका छौं। धनगढी सभाहल, आयुर्वेद अस्पताल, प्रादेशिक अस्पताल उपक्षेत्रीय अस्पताल निर्माणको काम तीव्र गतिमा भइरहेको छ।निर्माणाधीन भौतिक पूर्वाधार निर्माणको आयोजनाले नियमितरूपमा अनुगमन गर्दै आएको छ।

नागरिकलाई सुरक्षित आवासको व्यवस्था गर्नुपर्ने संविधानको मौलिक हकमा समावेश गरिएको छ। सोहीअनुसार संघीय सरकारले असुरक्षित बस्तीलाई सुरक्षित बनाउनका लागि सुरक्षित नागरिक आवास कार्यक्रम सञ्चालन गरेको छ।

यस आयोजनाअन्तर्गत कैलाली, कञ्चनपुर र डडेलधुराका करिब ८ सय ५० घरमा यस आर्थिक वर्षभित्र खरको छानो फेरेर नयाँ छानो हाल्ने कार्यक्रम रहेको छ। फूलबारीमा अत्याधुनिक कोल्डस्टोर निर्माण भएको छ। शहरी क्षेत्रलाई थप व्यवस्थित र सुन्दर बनाउनका लागि पार्क निर्माणको योजना पनि अगाडि सारिएको छ।

हाम्रो मुख्य उद्देश्य आधुनिक र व्यवस्थित शहरीकरण नै हो। शहरलाई कसरी व्यवस्थित गर्ने भन्ने विषयमा उपमहानगरपालिकासँग छलफल गरेर काम अगाडि बढाउँदै आएका छौं।

सडकलाई सुविधासम्पन्न बनाउनको लागि आवश्यक भौतिक पूर्वाधारले पनि खाँचो रहेको हुन्छ। कृषि संकलन केन्द्र निर्माण गर्नुपर्ने आवश्यकता छ। सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढी भएकाले सहयोग चाहिएको खण्डमा आयोजना पूर्वाधार निर्माणमा सहयोग गर्न तयार छ।

यी भौतिक पूर्वाधार निर्माण भएसँगै यस क्षेत्रका बासिन्दाको भौतिक, सामाजिक, आर्थिक र सांस्कृतिक जीवनशैलीमा नै परिवर्तन ल्याउनेछ।

 

प्रतिक्रिया दिनुहोस्