सरकारको परीक्षा



सरकारकै भाषामा भन्नुपर्दा वर्षौपछि बुर्जुवा, दलाल र सामन्तीलाई पाखा लगाउँदै मुलुकमा इतिहासकै शक्तिशाली कम्युनिष्ट सरकार बन्या छ।

प्रधानमन्त्री, मन्त्री र सत्तारुढ दलका नेता फलाक्या फलाक्यै छन्–‘वर्तमान सरकार शोषित, पीडित अनि सर्वहारा वर्गको मुक्तिका लागि सरकार गठन भएको हो, कोही नाङ्गै र भोकै बस्नु पर्दैन।’

शक्तिशाली सरकारले गर्या प्रतिवद्धता बुझ्न धरहराले चारैतिर दुरविन दौडायो। काठमाडौं खाल्डोमा मात्रै होइन, तराई र दुर दराजसम्म दुरविन तन्कायो।

मध्य हिउँदको यो जाडोमा पातलो कपडाका साथ आन्दोलनमा उत्रिएका उखु कृषक देखिए। कारखाना साहु वर्षेनी मोटाएको मोटाएकै गर्ने, बैंक ब्यालेन्स बढाएको बढाएकै गर्ने तर आफूहरूलाई भने सँधै उधारो सपनी बाढिएको दुःखेसो पोख्दै आन्दोलनमा छन्।

उखु गुलियो हुन्छ, तर धेरै भयो भने तितो हुन्छ यो कुरो आम नेपालीलाई थाहा छ। साहुको शोषण अति भएसी कृषक सडकमा उत्रिया छन्।

कठ्याङग्रिदो चिसोले हो कि चिनीको चास्नीले हो सरकारले आफूहरूको आवाज नसुनेको आन्दोलनकर्मीको तर्क छ। सरकारले सुनोस पनि कसरी, आजकल हिमाली भेगको ‘यति’ चराउनमै व्यस्त भएसी।

पीडित कृषक मधेशका छन्, तर मधेशी नेता मधेशका समस्या सुनेसी सरकारसँग आक्रोश पोख्न अग्रसर हुन्छन्। यस्तो माम्लामा आफू पनि पटक–पटक सरकारमा पुग्या कुरो फ्याट्टै भुल्ने अचम्मैको रोग लाग्या छ, यीनलाई।

प्रतिक्रिया दिनुहोस्