महोत्सवबाट साढे ४८ लाख आम्दानी



नेपाल समाचारपत्र, लमजुङ ।

सुन्दरबजार नगरपालिका–२ परेवाडाँडामा सञ्चालन गरिएको धार्मिक तथा शैक्षिक महोत्सवमा ४८ लाख ४८ हजार ४ सय ९५ रुपियाँ संकलन भएको छ।

‘महेन्द्र मन्दिर माध्यमिक विद्यालय जाँउ, धार्मिक तथा सांस्कृतिक महोत्सवमा रमाऔं’ भन्ने नाराका साथ गत कात्र्तिक १७ देखि २५ गतेसम्म श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा उक्त रकम संकलन भएको हो।

सोमबार परेवाडाँडामा एक कार्यक्रमका बीच आयोजक समिति तथा विद्यालय व्यवस्थापन समितिले महोत्सवको आयव्यय सार्वजनिक गरेको हो।

महोत्सवमा चन्दा दान, कलश बिक्रीलगायत अन्य कार्यबाट आम्दानी भएको महोत्सवको आर्थिक संयोजक रामचन्द्र सेढाइँले जनाकारी दिनुभयो।

विभिन्न व्यक्तिद्वारा कबोल गरेको ७ लाख ६९ हजार ८ सय ६२ रुपियाँ उठ्न बाँकी भएपनि रकम आउने निश्चित भएकाले आम्दानीमा राखिएको महोत्सवका अर्थ संयोजक सेढाइँले बताउनुभयो।

महोत्सवको व्यय अन्तरगत विदाई खर्च ९ लाख १८ हजार २ सय ३० रुपियाँ खर्च भएको बताइएको छ। पण्डला, सामान खरिदमा खर्च भएको महोत्सव अर्थ समितिले जनाएको छ।

कूल खर्च २४ लाख ५ हजार १ सय ४५ रुपियाँ भएको बताइएको छ। महोत्सवबाट कुल नाफा २४ लाख ४३ हजार ३ सय ४९ रुपियाँ भएको रकम मध्ये १५ लाख ९४ हजार ८ सय ५८ रुपियाँ खर्च भएको छ।

विद्यालयको शैक्षिक गुणस्तर उकास्नका लागि टेक्निकल विषय ल्याउनका लागि महोत्सव आयोजना गरिएको थियो। उठेको रकमबाट अमिन विषयमा १८ महिना अध्ययन गराउने लक्ष्य रहेको जिल्ला समन्वय समिति लमजुङका अध्यक्षसमेत रहनुभएका उक्त समितिका अध्यक्ष लोकराज पाण्डेले बताउनुभयो।

उहाँका अनुसार यसबाहेक महोत्सवमा संघीय सांसद देवप्रसाद गुरुङले स्थानीय पूर्वाधार कार्यक्रममार्फत १२ लाख रुपैयाँ सहयोग प्राप्त भईसकेको छ।

प्रतिक्रिया दिनुहोस्