पर्यटन वर्ष भव्यरूपमा मनाउने तयारी



वासुदेव शर्मा, जाजरकोट ।

नेपाल भ्रमण वर्षको अवसरमा जाजरकोट घुम्न आउने पर्यटकलाई भव्यरूपमा स्वागत गर्ने तयारी गरेको छ। सातवटै पालिकामा आउने पर्यटकलाई सम्बन्धित स्थानीय सरकारले फूलमाला, अविरले स्वागत गर्ने भएको हो।

जाजरकोटका सबै पालिकाले पालिका भित्र रहेका पर्यटकीय क्षेत्रको सूची तयार गर्ने, पालिका स्तरमा पर्यटन सहायता कक्ष स्थापना, आगन्तुकलाई पालिकामा रहेका पर्यटकीय क्षेत्रको जानकारी दिने, पर्यटकीय क्षेत्रको स्टिकर निर्माण गरेर बसलगायत यातायातका साधनमा टाँस्ने निर्णय भएको जिल्ला समन्वय समिति जाजरकोटका प्रमुख मनबहादुर रावलले जानकारी दिनुभयो।

अन्तर जिल्ला र अन्तरपालिका जोड्ने नाकाहरूमा स्वागत गेट निर्माण गर्ने, आगन्तुकलाई आ–आप्mनो पालिकामा स्वागत गर्ने, आगन्तुक पुस्तिका राखेर घुम्न आउने पर्यटकको रेकर्ड राख्ने काम भइरहेको प्रमुख रावलले बताउनुभयो।

पर्यटकलाई स्वागत सत्कारका लागि अतिथि देवो भवः को व्यवाहार प्रदर्शन गर्न जिल्लाभित्रका होटल व्यवसायीलाई सुसूचित गर्ने निर्णय भएको जिल्ला समन्वय समितिका सदस्य तेजविक्रम शाहले बताउनुभयो। नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न जिल्ला समन्वय समिति जाजरकोटका प्रमुख मनबहादुर रावलको संयोजकत्वमा १ सय ५१ सदस्य पर्यटन प्रवद्र्धन समिति गठन गरिएको छ।

समितिमा जिल्लाका सातवटै पालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष,कार्यपालिकाका सदस्यहरू, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरू सदस्य रहने गरी १ सय ५१ सदस्य पर्यटन प्रवद्र्धन समिति गठन गरेको समन्वय प्रमुख मनबहादुर रावलले बताउनुभयो।

नेपाल पर्यटन पत्रकार महासंघको नेतृत्वमा जिल्लाका सञ्चार गृह, क्रियाशील पत्रकारहरू सदस्य रहने गरी प्रचारप्रसार उपसमिति गठन गर्ने प्रमुख रावलले जानकारी दिनुभयो।

बाह्य पर्यटक सुरक्षाको लागि सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान कार्यालयका जिल्ला सहायक सदस्य रहने गरी पर्यटन सुरक्षा समिति गठन गर्ने प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताउनुभयो।

परापूर्वकालदेखि ओझेलमा परेका जाजरकोटका पर्यटकीय क्षेत्रलाई नेपाल भ्रमण वर्षको अवसरमा प्रचारप्रसार गरी उक्त क्षेत्रको विकास गराउन आवश्यक पहल गर्ने स्थानीय सरकारका प्रमुख तथा सरोेकारवाला निकायले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्