जुग्लेका अधिकांशमा उच्च रक्तचाप



नेपाल मेडिसिटी अस्पतालको मेडिकल टोलीले यसै साता स्याङ्जाको जुुग्लेका १ हजार स्थानीयको विभिन्न समस्याका लागि स्वास्थ्य परीक्षण गरेको छ।

मेडिसिटीका वरिष्ठ चिकित्सक एवं मेडिकल टिमले आँधिखोला गाउँपालिकाका १ हजार स्थानीय नागरिकलाई मुटुरोग, स्त्री, दन्त, हाडजोर्नी तथा सामान्य समस्याका लागि परामर्श गर्दै औषधि वितरणसमेत गरेको जनाएको छ।

पुस ६ गतेदेखि ८ गतेसम्म जुग्लेस्थित आँधिखोला बोर्डिङ स्कुलमा आयोजना गरिएको स्वास्थ्य शिविरका लागि आँधिखोला गाउँपालिकाको समन्वय तथा ब्लाक याक ह्युमन फाउन्डेसन र कोरियन ओपन डक्टर्स सोसाइटीको संलग्नता रहेको थियो।

तीन दिनसम्म आँधिखोलामा आयोजना गरिएको शिविरमा नेपाल मेडिसिटी अस्पतालका तर्फबाट वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लव जोशी, हाडजोर्नी विशेषज्ञ डा. निभा चित्रकार तथा सामान्य समस्याका लागि डा. सन्तोष यादवसहित २ नर्स र व्यवस्थापनका लागि स्मिता नेपालको सहभागिता रहेको थियो।

दक्षिण कोरियाबाट आएका मेडिकल टिममा भने स्त्रीरोग, दन्त तथा हाडजोर्नी विशेषज्ञ तथा फार्मेसिस्ट रहेका थिए। विभिन्न समूहले संयुक्तरूपमा आयोजना गरेको यस शिविरमा स्वास्थ्य जाँचका लागि स्थानियको उल्लेख्य सहभागिता रहेको अस्पतालले जनाएको छ।

विभिन्न उमेर समूूहका मानिस उपचारका लागि आएको र अधिकांश मानिस उच्च रक्तचापको जोखिममा रहेको वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लव जोशीको अनुभव छ। शारीरिक व्यायाम तथा आराम, खानपान तथा जनचेतना अभावका कारण पनि यस किसिमको समस्या आएको हुन सक्ने उहाँको धारणा छ।

अस्पतालमा महाप्रबन्धक विजय रिमालले मध्यपश्चिम नेपालको स्थानीयका लागि स्वास्थ्य उपचार सेवा प्रदान गर्न पाएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिनेमा जोड दिनुुभएको छ।

प्रतिक्रिया दिनुहोस्