जिल्ला प्रशासन कार्यालयले गर्यो बजार अनुगमन



नेपाल समाचारपत्र, स्याङ्जा।

जिल्ला प्रशासन कार्यालय स्याङ्जाले बजार अनुगमन थालेको छ। उपभोक्ता हित संरक्षणका लागि भन्दै जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा स्थानीय तह, उपभोक्ता संस्था, उद्योग व्यापार संघ र पत्रकारसहितको संयुक्त टोलीले बजार अनुगमन गरेको हो।

बजार अनुगमनका क्रममा डीकेएस मिनरल वाटर प्रालि उद्योगले बिक्री गर्दै आएको पानी गुणस्तरहीन भेटिएपछि उक्त उद्योगमा सिलबन्दी गरेको छ।

जिल्ला प्रशासन कार्यालय स्याङ्जाका प्रमुख तथा प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले एक प्रेस विज्ञप्ति जारी गर्दै डीकेएस मिनरल, गण्डकी आयल मिल प्रालिबाट उत्पादित कोसेली र साधना ब्रान्डका शुद्ध तोरीको तेल, केही सुनचाँदी पसलको अनुगमन गरेको उल्लेख गर्नुभएको छ।

डीकेएस मिनरल वाटर उद्योगका संस्थापक र व्यवस्थापकलाई कालोबजारी तथा सामाजिक अपराध सजाय ऐन–२०३२ अनुसार कारबाही प्रक्रिया अगाडि बढाएको प्रजिअ कुरुम्बाङले प्रेस विज्ञप्तिमा उल्लेख गर्नुभएको छ।

प्रशासनले गण्डकी आयल मिल प्रालिबाट उत्पादित कोसेली र साधना नामक शुद्ध तोरीको तेललाई स्याङ्जामा बिक्रि–वितरणमा रोक लगाउनुका साथै जिल्ला प्रशासन कार्यालय कास्कीलाई पत्राचार गरी कारबाही प्रक्रिया अगाडि बढाउन आग्रह गरेको छ।

प्रशोधित पानी र तोरीको तेलको नमुना परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग काठमाडौं पठाएको थियो। विभागले गुणस्तरहीन भएको रिपोर्ट पठाएपछि जिल्ला प्रशासन कार्यालय स्याङ्जाले कारबाहीको प्रक्रिया अगाडि बढाएको प्रजिअ कुरुम्बाङले प्रेस विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ।

दुवै उद्योगलाई अर्को आदेश नआएसम्मका लागि उत्पादन र बिक्रीका लागि रोक लगाएको छ। टोलीले पुतलीबजारमा रहेका ३ सुनचाँदी पसलको समेत अनुगमन गरेको छ। गुणस्तर परीक्षणका लागि नमुना संकलन गरी गुणस्तर तथा नापतौल विभाग काठमाडौं पठाएकोमा मापदण्डभन्दा बढी मिसावट गरी बिक्री गरेको फेला परेको जनाइएको छ।

तीन सुनचाँदी पसललाई पनि प्रचलित कानुनबमोजिम कारबाही अगाडि बढाएको जिल्ला प्रशासन कार्यलयले जनाएको छ। बजारमा सामाग्रीको भाउ आकासिएको गुनासो उपभोक्तबाट पटक–पटक आइरहेका बेला जिल्ला प्रशासन कार्यालय स्याङ्जाले अनुगमनलाई कडाइका साथ अगाडि बढाएको छ।

जिल्लाका विभिन्न व्यापारिक केन्द्रसँगै ग्रामीण भेगमा पनि अनुगमन गर्ने प्रशासनले जनाएको छ। पहिलोपटक जिल्ला सदरमुकाम पुतलीबजारबाट अनुगमन शुरू गरेको छ। सम्झाउने कामसहित शंका लागेको वस्तुको परीक्षण गरिने प्रजिअ कुरुम्बाङले बताउनुभयो।

‘सम्झाउँदा पनि उपभोक्तलाई मार पर्ने खालको गतिविधि दोहोराएमा कालोबजारी ऐनअनुसार कारबाही अगाडि बढाइने छ’, उहाँले भन्नुभयो– ‘आफ्नो स्वास्थ्यजस्तै अरूको पनि स्वास्थ्यको ख्याल गर्नुपर्छ भन्ने भावना हरेक व्यवसायीको हुनुपर्छ।’

विगतका वर्षमा अनुगमनलाई खासै पारदर्शिता नदेखाउँदा कालोबजारी गर्ने व्यवसायीले मौका पाउने गरेका थिए। तर, यो पटकको अनुगमनमा केही कडाइ भएपछि व्यवसायी पनि सचेत हुने संकेत देखिएको छ।

यो अनुगमनले उपभोक्तको हितमा काम गर्ने विश्वास आम सर्वसाधरणले लिएका छन्। हरेक हप्ता एकपटक बजार अनुगमन प्रक्रियालाई अगाडि बढाउने प्रशासनले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्