जयचन्द्र युवा प्रतिभा पुरस्कारबाट शर्मा र रावल सम्मानित



नेपाल समाचापत्र, जाजरकोट ।
जयचन्द्र मिडिया ग्रुप प्रालिले स्थापना गरेको जयचन्द्र युवा प्रतिभा पुरस्कारबाट दुई जनालाई सम्मान गरेको छ। मिडिया ग्रुपले प्रकाशन गर्ने कुशेमालिका अनलाइनको प्रथम वार्षिकोत्सवको अवसरमा पत्रकार बालकुमार शर्मा र लोकगायक जयबहादुर रावललाई पाँच हजार नगदसहित कदरपत्र र दोसल्लाले सम्मान गरिएको हो।

सुशासन र पत्रकारिताका माध्यामबाट समाजलाई रुपान्तरण गर्न योगदान गरेको भन्दै पत्रकार शर्मालाई पुरस्कृत गरेको हो। लोकगीतको संरक्षण र प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्याएकाले रावललाई पुरस्कृत गरेको जयचन्द्र मिडिया ग्रुप प्रालिका अध्यक्ष जनक केसीले बताउनुभयो।

सम्मानित हुने दुईजनालाई कर्णाली प्रदेशका सांसद कृष्णा शाहले पुरस्कार हस्तान्तरण गर्नुभएको थियो।सांसद शाहले जयचन्द्र मिडियाले सामाजिक काममा पनि भूमिका निर्वाह गरेकाले जाजरकोटमा केही हुन सकेको छैन भन्ने निराशावादी सोच त्याग्न आग्रह गर्नुभयो।

‘विगतको तुलनामा जाजरकोटमा विकास निर्माणले गति लिएको छ तर जति हुनुपर्ने हो हुन सकेको छैन्, उहाँले भन्नुभयो–‘ अब सबै मिलेर जाजरकोटको विकासमा लाग्नुपर्छ।’

नेपाल प्रेस युनियन जाजरकोटका अध्यक्ष बालकुमार शर्माले सुशासनलाई संस्थागत गर्न सरोकारवाला निकायको अलि सक्रियताको आवश्यकता पर्ने बताउँदै जिल्लामा स्थापना भएका कार्यालयहरूले १ वर्ष वितिसक्दा पनि काम गर्न नसकेको बताउनुभयो।

प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले स्थानीय सरकार, सरोकारवालाहरूको सहयोग पाए तत्काल शुरु गर्ने बताउनुभयो। उहाँले सुशासनलाई संस्थागत गर्दै भ्रष्टाचार मुक्त जिल्ला निर्माण गर्न सरोकारवाला निकायहरूले स्थानीय प्रशासनलाई सहयोग गर्न आग्रह गर्नुभयो।

उहाँले स्थानीय सरकार, सरोकारवालाबाट सहयोग पाए भ्रष्टाचार, ढिला सुस्तीलाई रोक्ने जाजरकोटलाई सुशासनयुक्त जिल्ला निर्माण गर्न लाग्ने बताउनुभयो। कुशेमालिका अनलाइनले आफ्नो वार्षिक उत्सवको अवसरमा खलंगाको त्रिभुवन माध्यामिक विद्यालयका दुई विपन्न विद्यार्थीहरूलाई छात्रवृत्ति दिने निर्णय गरेको छ।

गरिब तथा जेहेन्दार विद्यार्थीहरूको पढाइमा सहयोग गर्नका लागि प्रालिले स्थापना गरेको जयचन्द्र छात्रवृत्ति यसै वर्षदेखि वितरण शुरु गरेको छ। मिडियाले स्थापना गरेको छात्रवृत्तिले विपन्न समुदायका दुई विद्यार्थीलाई वार्षिक १६ हजार प्रदान गर्नेछ।

आर्थिक अभावले पढाइमा समस्या भोगिरहेका विपन्न विद्यार्थीलाई सहयोग दिने उद्देश्यले छात्रवृत्तिको शुरुआत गरेको जयचन्द्र मिडिया प्रालिका सञ्चालक जनक केसीले बताउनुभयो।

अमेरिकामा बस्ने समाजसेवी जयन्ती थापाले नेपाल अनाथ आश्रममा बस्ने विद्यार्थीका लागि पठाएको खाद्य सामाग्री हस्तान्तर गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्