गौरवशाली राष्ट्र नेपालप्रतिको दायित्व



जगत गौचन

गौरवशाली इतिहास बोकेको राष्ट्र नेपाल आज पराधीनतातर्फ उन्मुख भैरहेको अवस्था छ। हाम्रो राष्ट्रिय स्वाधीनता र गौरवमा आँच आइरहेको छ। हाम्रो धर्म–संस्कृतिमाथि योजनाबद्धरूपमा प्रहार भैरहेको छ। हामी वीर नेपालीहरू किंकर्तव्यविमुढ भई विवशतापूर्वक टुलुटुलु हेरेर बसेका छौं।

नेपाली जनताले मुलुकमा सुशासन कायम होला, मुलुक समृद्धिको दिशातर्फ उन्मुख होला, राष्ट्रियताको जग बलियो होला भन्ने अपेक्षा गरेर वामपन्थीहरूलाई भारी बहुमत दिए। झन्डै दुई तिहाइको सरकार बनाउने अवसर दिए। तर मुलुक झन् अधोगतितर्फ जान थाल्यो। भ्रष्टाचार बढेर गयो। महँगी चरमचुलीमा पुग्यो। अराजकता, अन्यौलता व्याप्त भयो।

हाम्रा पर्खाले हामीलाई गौरवशाली इतिहास सुम्पेर गएका थिए, त्यसलाई अझ उच्च बनाएर यतिखेर हामीले भावी पुस्तालाई हस्तान्तरण गर्नु नै हाम्रो दायित्व हुन जान्छ।

त्यसको लागि देशलाई माया गर्ने एउटा राष्ट्रवादी संगठनको टड्कारो आवश्यकता भएको छ। त्यो उद्देश्य प्राप्तिका लागि सबै देशभक्तहरू सानातिना र झीना–मसिना कुरालाई छोडी एकढिक्का भएर अगाडि बढ्नुपर्ने आवश्यकता छ।

देशको वर्तमान परिस्थिति

हाल मुलुक अत्यन्त असहज स्थितिबाट गुज्रिरहेको छ। नेपाली जनताले मुलुकमा सुशासन कायम होला, मुलुक समृद्धिको दिशातर्फ उन्मुख होला, राष्ट्रियताको जग बलियो होला भन्ने अपेक्षा गरेर वामपन्थीहरूलाई भारी बहुमत दिए।

झन्डै दुई तिहाइको सरकार बनाउने अवसर दिए। तर मुलुक झन् अधोगतितर्फ जान थाल्यो। भ्रष्टाचार बढेर गयो। महँगी चरमचुलीमा पुग्यो। अराजकता, अन्यौलता व्याप्त भयो। वाइडबडी काण्ड, ३३ किलो सुनकाण्ड, ललिता निवास काण्ड छानबिन हुँदै जाँदा सरकारकै उच्चतहका नेताहरूको संलग्नता देखियो र फाइल बन्द भयो।

मुलुकले विकल्प खोजिरहेको अवस्थामा राष्ट्रवादी शक्तिहरू एकठाउँमा खडा हुनु नितान्त आवश्यक छ। नेपाली जनताले पनि देशलाई माया गर्ने एउटा इमानदार, भरोसायोग्य राष्ट्रवादी पार्टी खोजिरहेका छन्। तसर्थ समान धारणा राख्ने राप्रपालगायत सबै राष्ट्रवादी पार्टीहरूसँग पार्टी एकता गर्ने बेला आएको छ।

निर्मला हत्याकाण्डका हत्याराहरू सरकारकै संरक्षणमा खुलेआम हिँडिरहेका छन्। कर वृद्धिले जनताको ढाड सेकिएको छ। व्यापार घाटा बढोत्तरी छ। आयातको तुलनामा निर्यात न्यून छ। राष्ट्र बैंकको ढुकुटी खालि हुँदै गैरहेको छ। विदेशी लगानी शून्य छ। धेरै राष्ट्रिय उद्योगहरू बेचिएका छन्। धेरै बन्द छन्।

शेयर बजार खस्किँदै गैरहेको छ। युवाहरू विदेशिने क्रम एकदमै बढेर जाँदै छ। एनसेल कर काण्ड, गोकर्ण रिसोर्ट काण्डमा सरकार नाङ्गिएको छ। भ्रष्टाचारमा शून्य सहनशीलता भन्ने प्रधानमन्त्रीको भनाइ उपहास भएको छ। यो निश्चित रूपमा शुभ संकेत होइन।

मुलुक असफल राष्ट्र हुनेतर्फ द्रुतगतिमा अगाडि बढिरहेको छ। सबैभन्दा दुःखद कुरा मुलुक पराधीनतातर्फ उन्मुख भैरहेको छ। गौरवशाली इतिहास बोकेको हाम्रो देशको राष्ट्रियता यति कमजोर कहिल्यै पनि भएको थिएन। राष्ट्रको स्वाभिमान गिरेको छ।

तर राजनीतिक पार्टीका नेताहरू सुशासन र समृद्धिको कुरा गरेर थाक्दैनन्। चाहे त्यो गुठी विधेयकको विरुद्धमा होस् या पत्रकार रवि लामिछाने काण्ड होस्। जसरी जनता सडकमा उत्रिएका छन् यो सरकारप्रतिको अविश्वासको द्योतक हो। असन्तुष्टि र आक्रोश हो।

विगत २०४६ सालको राजनीतिक परिवर्तन हुँदै २०६३ सालको दोस्रो जनआन्दोलनपश्चात् यहाँसम्म आइपुग्दा हाम्रो देशमा फिरंगीहरूको चलखेल चर्कोरूपमा बढेको छ। त्यसलाई हेर्दा २०४६ सालअगाडिका शासकहरू राष्ट्रवादी, देशभक्त थिए भन्ने स्पष्ट हुन्छ।

त्यसपछिको कालखण्डमा विदेशीहरूले यहाँका नेताहरूलाई पद र पैसाको लोभ देखाएर आफ्नो अनुकूलको परिस्थिति सृजना गर्न सफल भए।२०४६ सालपछि शासनमा पुगेका नेताहरूले पद र पैसाको लालचमा परेर मातृभूमिलाई बेइमानी गरे।

आफ्नो अनुकूलताको वातावरण बनाउन, राजनीतिक परिवर्तन गराउन विदेशीहरूले यी नेताहरूलाई पिट्ठुको रूपमा प्रयोग गरे। यो अत्यन्त दुःखद थियो। यसको भोलि इतिहासले मूल्यांकन गर्नेछ।

राष्ट्रवादीहरूको अबको चुनौती

हामी राष्ट्रवादी देशभक्तहरूको काँधमा ठूलो जिम्मेवारी आएको छ। मुलुकको राष्ट्रिय स्वाभिमानको रक्षा गर्न हामीले बलिदानीपूर्ण योगदान दिनुपर्नेछ। यो एउटा चुनौती मात्र नभएर मातृभूमिको सेवा गर्ने अवसर पनि हो।

सम्पूर्ण राष्ट्रभक्त, देशभक्त, हामीले एकठाउँमा गोलबन्द भएर हिन्दू राष्ट्र एवं संवैधानिक राजतन्त्रको पुनः स्थापना गर्न निर्णायक आन्दोलनको उद्घोष गर्नुपर्ने अवस्था आएको अनुभूति भएको छ। अब जुन आन्दोलन हुन्छ, त्यो तेस्रो जनआन्दोलन हुनेछ। ०६३ सालमा कुनै क्रान्ति भएको थिएन।

दोस्रो जनआन्दोलन सहमतिमा गएर टुंगिएको थियो। राजा संवैधानिक भएर बस्ने, राजनीतिक पार्टीहरूले शासन व्यवस्था सञ्चालन गर्ने सहमति भएको थियो। तर कार्यान्वयनको क्रममा नेताहरूले बेइमानी गरे। जसको इशारामा सो कार्य भयो त्यस्तो कुनै कारणले सच्याउन नसकिने स्थिति हो भने जनमतसंग्रहको घोषणा हुनुपर्यो।

हिन्दू राष्ट्र, संवैधानिक राजतन्त्रजस्तो महत्वपूर्ण विषयमा जनताको अभिमत लिनु उत्कुष्ट उपाय हुनेछ। ०६३ को त्रुटिलाई पनि नसच्याउने र जनमत संग्रहमा पनि नजाने हो भने अब सडक संघर्ष हुने निश्चितजस्तै छ। ०६५ साल जेठ १५ गते गणतन्त्र घोषणा हुँदा मैले त्यसको विरोधमा जुलुस निकालेको थिए।

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको संसद् भवनमा गणतन्त्र घोषणा हुन गइरहेको थियो। टुँडिखेलमा विजय उत्सव मनाउने तयारी हुँदै थियो। त्यति बेला मैले न्यूरोडमा गणतन्त्रको विरुद्धमा जुलुस निकालेको थिएँ। न्यूरोडबाट शुरू भएको जुलुस वसन्तपुर, इन्द्रचोक हुँदै भूगोल पार्कमा सभामा परिणत भएको थियो।

मैले त्यस बेला नै भनेको थिएँ, ‘सहमतिलाई कायम गर बेइमानी गर्न पाइँदैन। तपाईंहरूले कुनै क्रान्ति गर्नुभएको होइन, आन्दोलनबाट सहमतिमा गएर टुंगिएको हो। सहमति कायम नभएमा मुलुकले निकास पाउनेछैन।’

बेइमानीको जगमा खडा भएको, गणतन्त्र हामीलाई स्वीकार्य छैन पनि भनेको थिएँ। त्यो अहिले पनि कायम छ। बेइमानीको जगमा खडा भएको गणतन्त्र राष्ट्रवादी, देशभक्तहरूलाई स्वीकार्य छैन। यसले मुलुक र नेपाली जनताको भलो हुँदैन भन्ने कुरा छर्लंग भएको छ।

०६३ सालदेखि हालसम्म बागमतीमा धेरै पानी बगिसकेको छ। तसर्थ समयमै सही कदम नचालिएमा गणतन्त्रको पर्खाल ढल्नेछ। राष्ट्रवादीहरूले तेस्रो जनआन्दोलनको आह्वान गरेर आन्दोलनको आँधीबेहरीले फिरंगीहरूका टट्टुहरूलाई परास्त गर्नेछन् र संवैधानिक राजतन्त्र, हिन्दूराष्ट्र र प्रजातन्त्रको पुनः स्थापना हुनेछ।

सबैको चासोको विषय

मुलुकले विकल्प खोजिरहेको अवस्थामा राष्ट्रवादी शक्तिहरू एकठाउँमा खडा हुनु नितान्त आवश्यक छ। नेपाली जनताले पनि देशलाई माया गर्ने एउटा इमानदार, भरोसायोग्य राष्ट्रवादी पार्टी खोजिरहेका छन्। तसर्थ समान धारणा राख्ने राप्रपालगायत सबै राष्ट्रवादी पार्टीहरूसँग पार्टी एकता गर्ने बेला आएको छ।

सम्पूर्ण राष्ट्रवादी शक्तिहरू एकताबद्ध गरेर राष्ट्रवादी आन्दोलन गर्ने बेला आएको छ। त्यो तेस्रो जनआन्दोलन हुनेछ। र, त्यो आन्दोलन हिन्दू राज्य र संवैधानिक राजतन्त्रका लागि निर्णायक लडाइँ हुनेछ। त्यो आन्दोलनको माध्यमबाट मुलुक फिरंगीहरूको कुनियत र दलालहरूबाट मुक्त हुनेछ अनि एउटा स्वतन्त्र, सार्वभौम सम्पन्न राष्ट्र स्थापित हुनेछ।

यसपटकको उपनिर्वाचन विदेशीहरूको ग्रयान्ड डिजाइन अनुरूप मञ्चन गरिएका कलाविहीन गाईजात्रे नाटक थियो। मैले यसलाई यही रूपमा लिएको छु। तर हामी राष्ट्रवादीहरू एकताबद्धरूपमा अघि बढ्दा आगामी निर्वाचनमा हाम्रो राम्रो स्थान रहनेछ। जनताले हामीलाई माया गर्नेछन्।

अहिले चर्चामा रहेको नेपालको सिमाना नक्साको बारेमा कालापानी, लिम्पुयाधुरा र लिपुलेकको आधिकारिक नक्सा नेपाल सरकारको तर्फबाट तुरुन्त सार्वजनिक गर्नुपर्दछ। त्यहाँ सिमाना मिचिएको छ, हामी एक इन्च जमिन पनि छोड्न तयार छैनौं।

हामीलाई हाम्रो माटोको माया छ। त्यसैले कुनै पनि मूल्य चुकाएर भए पनि हामी हाम्रो जमिन पूर्ववत्रूपमा कायम गर्नेछौं। हाल हिन्दू राष्ट्र र संवैधानिक राजसंस्थाको पक्षमा इमानदारीसँग पहल गर्ने पार्टी नेपाली जनताले खोजिरहेका छन्। हामीले त्यसको लागि जनताको विश्वास जित्नुपर्दछ।

जनताले यिनीहरू आफ्ना एजेन्डाप्रति इमानदार हुन् भन्ने लाग्यो भने राप्रपा संयुक्त ह्वात्तै माथि उठ्नेछ। नेपाली जनता अहिले धेरै चेतनशील भइसकेका छन्। चेतनाको स्तर माथि उठिसकेको छ।

उनीहरूलाई विश्वास हुनुपर्यो कि हामी हाम्रो एजेन्डामा इमानदार छौं। त्यो विश्वास जनतालाई भयो भने बल्ल जनताले मत दिनेछन्।

(लेखक गौचन पूर्वमन्त्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)को उच्चस्तरीय कार्यसम्पादन समिति सदस्य हुनुहुन्छ।)

 

 

 

 

प्रतिक्रिया दिनुहोस्