धार्मिक पर्यटक भित्र्याउने तयारी तीव्र



मोतीराम तिमल्सिना

पर्यटन वर्ष–२०२० लाई भव्यरूपमा सम्पन्न गर्ने गरी तयारी शुरू भएको छ। मूल समिति गठनसँगै सचिवालय समितिलगायत उप–समितिहरू गठन भएका छन्। जिल्लामा रहेका १३ वटा स्थानीय तहले समिति गठन गरी तयारी शुरू गरेको बताएका छन्।


विशेष गरी जिल्लामा रहेको बेथाञ्चोक नारयणस्थान, नमोबुद्ध, पलाञ्चोक भगवती, तेमाल नारायणस्थान, धुलिखेल देवीस्थान र हजार सिँढीलगायतका विभिन्न मन्दिर, जिल्लाका अन्य धार्मिकस्थलहरूमा पर्यटकको आर्कषक गन्तव्यका रूपमा तयारी गरिएको छ।
धार्मिक क्षेत्र प्राथमिकतामा

जिल्लाको प्राकृतिक सम्पदा तथा जैविक विविधताका विषयहरू समेटेर गुरुयोजना तयार पारिएको छ। गुरुयोजनामा जिल्लामा अवस्थित धार्मिक तथा पुरातात्विक वस्तुहरू, धार्मिक तथा सांस्कृतिक, सामाजिक, आर्थिक सम्भाव्यता, प्राकृतिक स्रोतको सम्भाव्यतामा केन्द्रित रहेर लोभ्याउने खालका मनमोहक हिमाल र पहाडका दृश्यको विविधतालाई समेटिएको छ।

 गुरुयोजनामा ऐतिहासिक तथा पुरातात्विक सम्भावना भएको धुलिखेलमा स्तरअनुसारका ५० भन्दा धेरै होटल तथा लज, १ लाखभन्दा धेरै पर्यटक लोभ्याउने आर्कषक पर्यटकीय गन्तव्य, फराकिलो हिमाली दृश्यहरू देखिने क्षेत्र, देवीस्थानको भ्यु टाओर, सुन्दर बुद्ध स्तुप र शान्ति वन, हरियाली देवीस्थान जंगल र जीवजन्तु, आन्तरिक तथा बाह्य पर्यटकका लागि प्रसिद्ध ठाउँ, १० देखि १८औं शताब्दीदेखि निर्माण भएका मन्दिर, शिलालेख, ताम्रपत्र तथा विश्वसम्पदा सूचीका लागि प्रस्तावित क्षेत्र पनौती रहेको उल्लेख गरेको छ।

त्यस्तै ने मुनि ऋषि दुम्जामा बसोबासस्थल भएको, गोर्खाली सेनाका बहादुर योद्धाहरू भएको जिल्ला, २२से र २४से राज्य हुँदाका बखतका स–साना राज्यहरू, प्रसिद्ध शिल्पकार अरनिकोको जन्मस्थान भएको ठाउँ बनेपा, लायकु दरबार बनेपा र पनौती, विभिन्न ऐतिहासिक किल्ला, हिन्दू र बुद्धिस्ट दुवै धर्मावलम्बीका असंख्य मन्दिर तथा गुम्बा जस्तै पलाञ्चोक भगवती, चण्डेश्वरी, नाला भगवती, इन्द्रेश्वर महादेव, धनेश्वर महादेव, नासिकास्थान आशापुरेश्वर रहेको उल्लेख गरेको छ।

गुरुयोजनामा चाइनाको स्वशासित क्षेत्र तिब्बत जाने रुट, ऐतिहासिक जिल्ला जहाँ प्राचीनकालदेखि सेनाका लागि हातहतियार व्यवस्थापन गर्ने रणनीतिक बिन्दु दाप्चा, तिमाल, धुलिखेल, अंशुवर्माले महासामन्त भई राज्य सञ्चालन गरेको क्षेत्र (जुन कुरा खोपासीमा रहेको शिलालेखले प्रमाण्ाित गर्दछ।), वंशीय राज्यहरू लिच्छवी, किराँत, मल्लहरूले शासन गरेको स्थान बनेपा, मण्डन, परम्परागत हतियार भएको क्षेत्र कोदालो, वञ्चरो, विभिन्न राजाले राज्य गरेको क्षेत्रलाई प्रचार गर्न सके काभ्रे झनै प्रख्यात र ऐतिहासिक जिल्ला बन्ने गुरुयोजनामा उल्लेख गरिएको छ।
गुरुयोजनामा धार्मिक तथा सांस्कृतिक क्षेत्रमा पनि काभ्रेमा धेरै सम्भावना भएको निष्कर्ष निकालेको छ। प्राचीन राजा भुक्तमानको तपस्यास्थल, गौतम ऋषिको श्रीमतीसँग अनैतिक शारिरिक सम्बन्ध कायम गरेपश्चात् महिलाको अंगहरू शरीरभरि फैलिएको हुँदा प्राचीन राजा भुक्तमानले तपस्या गरेको क्षेत्र, ६ वटा ज्योतिर्लिंग भएको स्थान, साँगा, चण्डेश्वरी, नाला, पलाञ्चोक भगवती, गौखुरेश्वर महादेव, धुलिखेल शान्ति वन, कालिका मन्दिर धुलिखेल, बेथानचोक नारायणस्थान, अमर निवास भकुण्डेवेंशी, कालिका मन्दिर कानपुर, महांकाल कामीडाँडा, इन्द्रेश्वर, द्रौपादेवी खोपासी, शारदेवी पनौती, धनेश्वर पनौती, कैलेश्वर गोसाइँथान, मछिन्द्रनाथ, गोरखनाथ, कालिञ्चोक, लड्केश्वर, ७ सय वर्षअघिको गौतमको बुद्ध मन्दिर जस्ता धार्मिक क्षेत्रले काभ्रेलाई झनै पर्यटनको सम्भावना भएको जिल्लाका रूपमा विकास गर्न सकिने बताएको छ।
जिल्लाको ढुंर्खक गाविसमा रहेको नारायणस्थान मन्दिर (९८९९ फिट काभ्रे जिल्लाको सबैभन्दा अग्लो स्थान), नमोबुद्ध, पलाञ्चोक जस्ता क्षेत्रहरू, विभिन्न जातजातिको बसोबास स्थल र १२ वर्षे मकर मेलाले जिल्लामा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्य स्थल बनाउन सकिने निष्कर्ष छ।

पर्यटनको क्षेत्रमा विकास भएलगत्तै सामाजिक आर्थिक सम्भावना बढाउने निष्कर्ष निकालिएको छ। ढुंखर्क, कुशादेवी, रयाले, नाला, मण्डनलगायत अन्य क्षेत्रमा हुने पशुपालन तथा दूध उत्पादनमा दोस्रो ठूलो जिल्लाका रूपमा परिचित काभ्रेमा नेपालको उच्च गुणस्तरको धान उत्पादन हुने गरेको छ।विशेष गरी पनौती, खोपासी, कुन्तावेंशी, टौखाल, मल्पी, शंखु, बल्थली, बतासे, पाँचखाल र अन्य समथर क्षेत्रलगायत इन्द्रावती खोला परिसरमा धानको राम्रो उत्पादन हुँदै आएको छ। उच्च गुणस्तरको आलु उत्पादन (पनौती, कुन्तावेंशी, शंखु, पाँचखाल बल्थली), गुणस्तरीय हरियो तरकारी उत्पादन ( पाँचखाल, ढुंर्खक, कुशादेवी र रयाले), फलफूल उत्पादन (सल्ले, भुम्लुटार, पाँचखाल) गुणस्तरीय सुन्तला उत्पादन (पनौती, कुशादेवी, नाला, पलाञ्चोक, देउपुर, शंखु, खोपासी, सुन्थान, सल्मीटार र मकैटार), आँप, केरा कटहर, लिची, अम्बा उत्पादन (पाँचखाल), उच्चस्तरीय खुवा उत्पादन (ढुंखर्क) रहेका छन्। गुरुयोजनामा यो क्षेत्रमा थप सहयोग गर्न सकेको खण्डमा आर्थिकरूपमा अझै विकास हुने अपेक्षा गरिएको  छ।

प्राकृतिक स्रोत सम्भावनका क्षेत्रमा गुरुयोजनाले काभ्रेलाई अगाडि बढाउने योजना बनाएको छ। विभिन्न किसिमका हावापानी तथा जैविक विविधता र मिश्रित जंगलहरू (पनौती, नागीडाँडा, चण्डेश्वरी, देवीस्थान वन, ढुंर्खक, चौवास, कुशादेवी), समथर सतह, पाटा र चट्टानीय क्षेत्रहरू (ढुंर्खक जंगल, महाभारत शृंखला), प्रसिद्ध नदीहरू (इन्द्रावती, भोटेकोसी, सुनकोसी, रोशीखोला), विभिन्न किसिमका पर्यटकीय पहाडी गन्तव्य स्थलहरूको पहिचान गरिएको छ।

पूर्वाधार उपलब्धता, सम्भावनामा राजधानीसंँगको निकट जिल्ला काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थल साथसाथै काठमाडौं, भक्तपुर, ललितपुर छुने मोटरबाटो, बीपी र अरनिको लोकमार्ग पार गर्ने, गाउँ तथा शहरी दुवै क्षेत्रमा शुद्ध पिउने पानीको उपलब्धता, सिँचाइको सुविधा, जलविद्युत् परियोजना, वैकल्पिक ऊर्जाको व्यवस्था, सञ्चार टाओर, पर्यटक स्तरीय होटलहरू जिल्लाका विभिन्न स्थानमा रहेकाले पनि थप टेवा पुग्ने सम्भावना रहेको छ।

(नगरकोट, धुलिखेल, बल्थली, बनेपा, पनौती, पलाञ्चोक भगवतीमा होटल र खावा, फूलबारी र बल्थलीमा रिसोर्टहरू रहेका छन्। जिल्लाका शहरी क्षेत्र पनौती, बनेपा, साँगा, धुलिखेल, दोलालघाट, सिपाघाट, मेलम्चीमा विभिन्न किसिमका साना होटल, लज तथा रेस्टुरेन्ट रहेका छन् भने धुलिखेल, पनौती, पस्थली, पातलेखेत, बल्थलीमा होमस्टे कार्यक्रम सञ्चालन भइरहेको छ।

पर्यटकलाई आकर्षण गर्न गुरुयोजनामा साहसिक यात्रा तथा टे«किङ रुटहरूको पहिचान गरिएको छ। ढुंर्खक नारायणस्थान, तिमाल पोखरी नाराणस्थान, कामीडाँडा, टन्चोक, चौवास, पलाञ्चोकका विभिन्न स्थानमा उक्त कार्यक्रम सञ्चालन गर्न सकिनेछ।

जिल्लाकै नगरकोट, पनौती, धुलिखेल र बनेपामा संग्रहालय खोल्न सकिने सम्भावना रहेको छ। जिल्लालाई अझै सडक सुविधाबाट फराकिलो बनाउन धुलिखेल–नमोबुद्ध–दाप्चा–पनौती, धुलिखेल–काशिभञ्ज्याङ–नगरकोट, पनौती–कामीडाँडा, दोलालघाट–चौवास, पनौती–ढुंर्खक, पनौती–आचार्यगाउँलगायतका स्थानमा सडक विस्तार कार्यक्रम शुरू गर्नुपर्ने आवश्यकता आंैल्याइएको छ।
गुरुयोजनामा जिल्लाका धुलिखेल, बनेपा, पनौती, साँगा, नगरकोट, नमोबुद्ध, दोलालघाट, चौवास, पलाञ्चोक भगवती मन्दिर, तिमाल, भकुण्डेवेंशी, बल्थली, च्यासिङखर्क, च्याम्ब्राङवेंशी, ढुंर्खक, कुशादेवी, रयालेलगायतका क्षेत्रलाई पर्यटनका लागि प्रमुख सम्भाव्यता भएको क्षेत्र किटान गरिएको छ।
पर्यटकका लागि सोही क्षेत्रमा आराम स्थल, वनभोज, समुदायमा आधारित कार्यक्रम, पर्यावरण पर्यटन विकास, कृषि पर्यटन फर्म, ढुंर्खक र चौवासमा चराचुरुङ्गी हेर्ने, महाभारत हेर्न स्थान किटान गरिसकिएको छ।
स्वास्थ्य तथा मेडिकलअन्तर्गत धुलिखेल सामुदायिक अस्पताल, शिर मेमोरियल, कुष्ठरोग अस्पताल, स्पाइनल अस्पताल, कैशाल मन्दिरमा विदेशी पर्यटक भित्याउन र हेल्थसम्बन्धी रिसोर्टहरू खोल्न अध्ययन भइरहेको गुरुयोजनामा उल्लेख गरिएको छ।
सोहि कार्यक्रमलाई सफल बनाउन पहिलो चरणमा धुलिखेलको शान्ति वनमा, ढुंर्खक र चौवासका लागि अध्ययन भइरहेको छ।शैक्षिक पर्यटनका लागि विदेशी पढ्न काठमाडौं विश्वविद्यालय, बनेपा पोलिटेक्निकमा अवसर प्रदान गर्न गुरुयोजनामा समेटिएको छ। खेलकुदबाट राष्ट्रिय खेल परिषद्को अगुवाइमा धुलिखेल, पनौती, पाँचखाल, भकुण्डेवेंशी र पोखरी नारायणस्थान, तिमालमा खेल मैदानको विकास गर्ने, साहसिक पर्यटनका लागि कोसीपारि र भोटेकोसीमा र्याफटिङको रुट निर्माण गर्ने, इन्द्रावती र सिन्धुपाल्चोक र काभ्रेको सिमानामा बोटिङ ढुंगा थप गर्ने, ढंर्खक, बल्थली, रोशीखोला वन, पनौतीमा रक क्लाइमिङको सर्वेक्षण भइरहेको र त्यसका लागि पूर्वाधार निर्माण कार्य भइरहेको उल्लेख गरिएको छ।

पनौती–गोरखनाथ, शारदादेवीस्थान–बतासे–भञ्ज्याङ, देवीस्थान–भ्यु टावरसम्म, पनौती–खोपासी–सत्यालडाँडा, पनौती नपा–पनौती पस्थली–सल्मीटार–घ्याङडाँडा, पनौती कुशादेवी कैरा भञ्ज्याङ, धुलिखेल रविओपी नगरकोट, धुलिखेल नगरपालिका, रविओपी गाविस, पाँचखाल सिपाघाट पाँचखाल पलाञ्चोक भगवती, पोन्नी राइडिङः पोन्नी किनेर चौकोट, श्रीखण्डपुर बतासेडाँडा, शारदादेवीस्थान, गैरीगाउँ हुँदै चौकोट, धुलिखेल नगरपालिका, रविओपी गाविस, तिमालकोट पोखरी नारायणस्थान माउन्टेन बाइकिङको रुट तय गरिएको छ।

चौवासको टेलिकम टावर क्षेत्रलगायतका स्थानमा हाइकिङ, शारदादेवीस्थान–नौबीसे फाँट, पनौती नपा– शारदादेवीस्थान, सुन्थान हाइस्कुल–नमोबुद्ध–शंखु मकैटार, नेपालथोक–भकुण्डेवेंशीमा प्याराग्लाइडिङका लागि सर्वेक्षण भइरहेको छ।

इन्द्रावती खोपासी पावरहाउस र सुनकोशीमा स्विमिङका लागि पूर्वाधार तयार गर्ने, भोटेकोसीमा बन्जिजम्पिङलगायतका योजनाहरू तय गरिएका छन्।

लामो समयको अध्ययनपछि तयार गुरुयोजनामा फूल पर्यटनका लागि जमिन व्यवस्थापन, फूलको किसिम, फूल खेती, उत्पादन, बजार व्यवस्थापनका लागि धुलिखलको बखुण्डोल, चण्डेश्वरी बनेपा, नाला, साँगा, पनौतीको भण्डारीगाउँ, कुन्तावेंशी, ढुंर्खक, पाँचखाल, रयाले, कुशादेवी, पलाञ्चोक, भकुण्डेवेंशी, फूलबारी, बाँस्डोलमा अध्ययन भइरहेको छ। अनुसन्धान तथा शैक्षिक पर्यटनका लागि धुलिखेल सामुदायिक अस्पताल, काठमाडौं विश्वविद्यालय, काभ्रेपलाञ्चोक जिल्लामा पर्ने महाभारत जंगल क्षेत्रमा अवस्थित जैविक विविधता र अन्य वन जंगल, पोलिटेक्निक स्कुल बनेपा, आईटी पार्क पनौती, एसओएस बालग्राम पनौती, कुष्ठरोग अस्पताल जनागाल, स्पाइन अस्पताल, शिर मेमोरियल अस्पताल, जिल्लामा रहेका मठ–मन्दिर समावेश गरिएको छ।

कृषि तथा फलफूल खेती, बनेपा, पनौती, खोपासी, पाँचखाल, नाला, नौबीसे फाँट, बनेपा, पनौती, नमोबुद्धको पुरात्विक क्षेत्र, पातलेखेत र फूलबारीको अर्गानिक खेती, पशुपालन कुशादेवी रयाले ढुंर्खक, खोपासीको रेशमखेती, जिल्लामा अवस्थित ऐतिहासिक किल्लाहरू, सामुदायिक वन जंगलहरू, राजा रिम्पोछेको दरबार तिमाल क्षेत्र, अंशुवर्मा महासामन्त हुँदाको बखतका बनेपा, पनौती खोपासी, २२ से र २४ से राज्य हुँदाका बखतका राज्यहरू शंखु चौकोट, खड्पु, बनेपा, दाप्चालाई अनसन्धान मुलक शैक्षिक पर्यटनको क्षेत्रमा राखिएको छ।
अरनिकोको जन्मस्थान बनेपा (उनी बसाइँसराइपश्चात् पनि चीनमा प्रसिद्ध शिल्पकारका रूपमा प्रसिद्ध थिए)। खोपासीमा रहेको नेपालकै एकमात्र द्रौपादेवीको मूर्ति, नरसिंहमाथ खोपासी, विभिन्न किसिमका लोपोन्मुख जाति तथा अन्य सम्प्रदाय (दनुवार, पहरी, जलु, मगर, गुरुङ, राई, तामाङ, नेवार, क्षेत्री, ब्राह्मण), ऐतिहासिक नमोबुद्ध क्षेत्रलाई गुरुयोजनामा समेटिएको छ।

काभ्रे जिल्लाको समग्र विकासका लागि तयार गरिएको पर्यटन गुरुयोजना कार्यान्वयन भएमा आर्थिक तथा सामाजिक क्षेत्रमा विशेष प्रभाव पार्न सक्ने पर्यटन क्षेत्रका व्यक्तिहरूले बताएका छन्।
यस्तो छ तयारी

पर्यटन जिल्लास्तरीय समितिले पर्यटन वर्षको पहिलो दिन जनवरी १ का दिन धुलिखेल नगरपालिकासँगको समन्वयमा धुलिखेलमा र्याली, झाँकीसहितको प्रभातफेरीको आयोजना गर्ने, पर्यटकलाई स्वागत गर्ने, सबै होटलहरूमा आउने पाहुनालाई सम्बन्धित होटलहरूले विशेष स्वागत गर्ने निर्णय गरेको छ।

भुम्लु गाउँपालिकाको समन्वय तथा स्थानीय संघ–संस्थासँगको सहयोगमा दोलालघाटदेखि खहरेघाटसम्म जनवरी पहिलो हप्ता र्याफ्टिङ आयोजना गर्ने निर्णय भएको छ।
बेथानचोक गाउँपालिका तथा स्थानीय संघ–संस्थाको समन्वयमा ढुंखर्क बेथानचोक नारायणस्थानमा जनवरी १० अथात् पुस २५ गते पदयात्रा आयोजना गर्ने निर्णय गरेको छ।
तेमाल गाउँपालिका तथा स्थानीय संघ–संस्थाको समन्वयमा तेमाल पदयात्रा तथा तामाङ सांस्कृतिक सम्पदा अवलोकन कार्यक्रम १७ जनवरी, ३ माघ शुक्रबार आयोजना गर्ने निर्णय भएको छ।
नमोबुद्ध नगरपालिका तथा स्थानीय संघ–संस्थाको समन्वयमा धुलिखेल नमोबुद्ध पदयात्रा तथा प्राकृतिक सम्पदा दृश्यावलोकन कार्यक्रम आयोजना २४ जनवरी, १० माघ शुक्रबार गर्ने गर्ने निर्णय भएको छ।
पनौती नगरपालिकाको समन्वयमा पनौती ९ मा निर्मित सामुदायिक होमस्टेको समुद्घाटन तथा अवलोकन गर्ने, बनेपा नगरपालिका र स्थानीय संघ–संस्थाको समन्वयमा वासुकी नमुना पर्यटन गन्तव्यको ट्रेकिङ ट्रेल तथा र्याम्प निर्माण कार्यको ३१ जनवरी, १७ माघ, शुक्रबार शिलान्यास गर्ने निर्णय भएको छ।
अन्य थप कार्यक्रम जिल्लास्तरीय समिति एवं कार्य सम्पादन समितिले तयार गरी अगाडि बढाउने निर्णय गरेको समन्वय समिति प्रमुख उद्धव केसीले बताउनुभयो।
त्यस्तै जिल्लास्तरीय प्रचारप्रसार उपसमितिका लागि नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतीराम तिमल्सिनाको संयोजकत्वमा समिति गठन भएको छ।

जिल्लाका प्रमुख पदमार्ग

  •  धुलिखेल–गोसाइँस्थान
  •  धुलिखेल देवीस्थान
  •  साँगा–वासुकी वन
  •  चिसापानी–नगरकोट–धुलिखेल
  •  धुलिखेल–नमोबुद्ध–बल्थली
  •  धुलिखेल–पाँचखाल–पलाञ्चोक
  •  कामीडाँडा–ताल्ढुंगा
  •  मंगलटार–भीमखोरी–घ्याङडाँडा–तारा खस्यौली लेक–फूलचौकी
  •  कुशादेवी–कालेश्वर–फूलचोकी–बेथान्चोक नारायणस्थान
  •  दोलालघाट–दुम्जा
  •  दोभानटार–कात्तिके देउराली–पोखरीचौरी–सैलुङ
  •  नगरकोट–हेलम्बु
  •  नगरकोट–बनेपा–धुलिखेल–नमोबुद्ध
  •  पनौती–कुशादेवी–रयाले–फूलचौकी
  •  सुनकोशीमा र्याफटिङ 
  •  भीमखोरी–ढुंखर्क

प्रतिक्रिया दिनुहोस्