नाचघरमा फेरि जंगेपिलर



रंगकर्मी किशोर अनुरागको नाटक जंगेपिलर पुनः राजधानीमा मञ्चन गरिएको छ। जमलस्थित राष्ट्रिय नाचघरको सत्यमोहन जोशी प्रेक्षालयमा मञ्चन गरिएको नाटक पूर्वप्रधानमन्त्रीहरू माधवकुमार नेपाल, झलनाथ खनाल, सांसद अमृत बोहोरा, कृष्णकुमार राईलगायतले अवलोकन गरेका थिए।

२०६५ सालमा नै मञ्चन गरिएको जंगेपिलरले सीमा अतिक्रमणको कथा उठाएको छ। सुस्तालाई नाटकीय स्थान बनाएर लेखिएको यस नाटकमा सुस्ताबासीले जीवनमा प्रत्यक्ष भोगेको हासो, पीडा, रिस, रोदन, आस्था, नैराश्यता, कठोरता, दया, विस्वास, विद्रोहलगायतका विषय प्रस्तुत गरिएको छ।

सीमाबासीलाई भारतीयले दिएको पीडा, यातना र आफ्नै ठाउँलाई पनि आफ्नो भन्दा पाएको सजाय र नेताहरूमाथिको चर्को प्रहार प्रस्तुत गरिएको नाटक भरतीयले गरेको सीमा अतिक्रमण एक ठाउँमात्र नभएर त्यहाँका बसिन्दाको पुर्खा र पूरै जीवनमा रहेको दुःख दर्साइएको छ।

मनमा भएको राष्ट्रियताको भावना छताछुल्लभए पनि जंगेपिलर डगमगाउन दिन नहुने र जति नै पीडा भए पनि नेपाली हुनुको गर्वलाई पहिल्याएको छ। नेताहरूप्रतिको विश्वास र त्यो विश्वासले जनताको जीवनमा हानेको लातलाई पनि मज्जाले नाटकमा प्रस्टाइएको छ।

लेखक तथा निर्देशक किशोर अनुरागले यो आफूले प्रत्यक्ष देखी–भोगी आएको र त्यही देखिएको कुरालाई आफूले चरित्रमा उतारेको पनि बताए। किशोर अनुरागद्वारा लिखित तथा निर्देशित नाटकमा मनीता सुनदास, प्रशान्त श्रेष्ठ, तिलक सुनुवार, राम भजन, पुष्प अवस्थीलगयातका कलाकारले अभिनय गरेका थिए।े

प्रतिक्रिया दिनुहोस्