पर्यटक र मगन्तेका लागि प्रिय स्थल लुम्बिनी



ईश्वरराज ढकाल, लुम्बिनी।

पर्यटन वर्ष २०२० सफल बनाउन सरकारले राजधानीका गल्लीबाट सडक–मानवलाई सुरक्षित स्थानमा व्यवस्थापन गरे पनि विश्वसम्पदामा सूचीकृत बुद्ध जन्मस्थल लुम्बिनीमा भने माग्नेहरूको बिगबिगी देखिएको छ।विदेशी पाहुनाको ओइरो लाग्ने लुम्बिनीमा माग्नेको बिगबिगी हुँदा पनि सम्बन्धित निकायले बलियो कदम चाल्न सकेको छैन। संँगैको छिमेकी बुटवल उपमहानगरपालिकाले यही पुस ५ गतेदेखि आफ्नो क्षेत्रलाई मगन्तेमुक्त घोषणा गरे पनि लुम्बिनीले भने त्यस प्रकारको मुक्ति पाएको छैन।

लुम्बिनी क्षेत्र विकास कोषको स्वामित्वमा रहेको त्यस ठाउँमा दैनिक करिब १५ हजार स्वदेशी र विदेशी पर्यटकको घुइँचो लाग्छ भने पचासभन्दा बढी मगन्ते पनि हात पसारिरहेका देखिन्छन्। कोषका निमित्त सदस्यसचिव सरोज भट्टराईले पटक–पटक प्रयास गरे पनि मगन्तेमुक्त क्षेत्र घोषणा गर्न नसकेको बताउनुभयो। भन्नुभयो– ‘हामीले धेरै प्रयास गरेका छौं, सम्भव भएको छैन।

नजिकैको भारतीय सिमानाबाट आउने मगन्तेको कारण सो क्षेत्रलाई मगन्ते निषेध क्षेत्र घोषणा गर्न नसकेको हो।’लुम्बिनीको बुद्ध जन्मस्थल, मायादेवी मन्दिर, थाइल्यान्ड, म्यानमार, श्रीलंकालगायत विभिन्न देशले निर्माण गरेको विहारमा समेत मगन्तेको घुइँचो देखिन्छ। ‘अब योजना बनाएर मगन्ते निषेध क्षेत्र बनाउने तयारीमा छौं।’ –निमित्त सदस्यसचिव भट्टराईको भनाइ छ।

‘कोषले पर्यटक आउने स्थानबाट अलि टाढा बस्न आग्रह गर्दा पनि मगन्तेहरू रोइकराई गरेर निषेध गरिएको क्षेत्रमा आउने गर्दछन्। स्थानीय निकायको सहयोग नभै मगन्तेमुक्त गर्न सम्भव छैन’, भट्टराईको भनाइ छ– ‘यस विषयमा हामीले लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरीसंँग कुराकानी गरिरहेका छौं।

नगरपालिका प्रमुख चौधरीले कोषको क्षेत्र अधिकारभित्र पर्ने भएकाले कोषले नै मगन्तेमुक्त क्षेत्र घोषणा गर्नुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो– ‘कोषको क्षेत्रमा हामीले हस्तक्षेप गर्न मिल्दैन, तर कोषले लुम्बिनी क्षेत्रलाई मगन्ते निषेधित क्षेत्र घोषणा गर्न पहल गरे तत्काल सहयोग गर्नेछांै।’

भट्टराईले कोष र नेपाल प्रहरीको सुरक्षा टोली परिचालन गरी पटक–पटक मगन्ते हटाउने प्रयास गरिरहेको तर नसकिएको बताउँदै भन्नुभयो– ‘अब कडा कदम चाल्नुको विकल्प छैन। चिसोमा समेत लुगा फुकालेर माग्ने बानी परेका उनीहरूलाई कसरी मुक्त गर्ने भन्ने विषयमा दुई निकायसँंग सहमति हुनु आवश्यक रहेको छ। मगन्ते मात्र होइन थोत्रा विद्युतीय रिक्सा र छाडा कुकुरले समेत गम्भीर समस्या पार्ने गरेको छ। थोत्रा रिक्सा विस्थापित गर्ने विषयमा छलफल भइरहेको छ।’

पर्यटक अवलोकन गर्न जाने थाइल्यान्डको विहारमा समेत कुकुर पालिएको छ। भिक्षुको सुरक्षाका लागि पालिएका कुकुरको विषयमा समेत कोषले छलफल गर्ने जनाएको छ। वार्षिक करिब १५ लाख पर्यटक भित्रिने लुम्बिनी क्षेत्रमा माग्नेको कारण नेपालको बेइज्जत हुन थालेको छ।

कोषले पर्यटन शुल्कबापत नेपालीसंँग २०, भारतीयसंँग ४०, सार्क र बर्माका पर्यटकसँंग दुई सय, तेस्रो मुलुकका विदेशीसंँग पाँच सय रुपियाँ असुल्ने गरेको छ। तर, रूपन्देही, कपिलवस्तु र नवलपरासी जिल्लाका नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस्